कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २६४

एपीएफ च्याम्पियन

दीपक परियार

(पोखरा) — विभागीय टिम एपीएफले पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौडको उपाधि जितेको छ । चीन र नेपालका खेलाडीबीच बुधबार पोखरामा भएको प्रतियोगितामा एपीएफ टिमले उपाधि जितेको हो । 

एपीएफ च्याम्पियन

सन्तोषविक्रम विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङ सहभागी टिमले ४२.२ किलोमिटर दुरी ४ घण्टा १७ मिनेट २२ सेकेन्डमा पूरा गर्‍यो । खेलाडीले २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर फेवातालमा बोटिङ गरेका थिए । सन्तोष र गणेश म्याराथन धावक हुन् । क्रसकन्ट्रीमा भने उनीहरू पहिलोपल्ट सहभागी भएको प्रशिक्षक सन्तोष श्रेष्ठले बताए । इन्द्रकला १३ औं सागअन्तर्गत पोखरामा नै हुने ट्रायथलनको राष्ट्रिय टिममा छिन् ।

नेपालकै गुरिल्ला ट्रेल टिम दोस्रो भयो । टिमबाट दामोदर बुढा, दुर्गाराज बुढा र रसिला तामाङले निर्धारित दुरी ४ घण्टा १८ मिनेट २३ सेकेन्डमा पार गरे । चिनियाँ टिम तेस्रो भयो । चेङ यिजेन, प्याङ वाइ र लाइ यु जुनसम्मिलित काइनेटिक टिमले ४ घण्टा २४ मिनेट ३३ सकेन्डमा दुरी पूरा गर्‍यो । नेपालकै टिम अन्नपूर्ण चौंथो भयो । जीवन लामा, सौरभ राई र प्रतिभा श्रेष्ठले ४ घण्टा ५६ मिनेट ४५ सेकेन्डमा निर्धारित दुरी पूरा गरे ।


चीनका खेलाडी टिमबाहेक व्यक्तिगत रूपमा पनि भाग लिएका थिए । व्यक्तिगततर्फ बोटिङ समावेश थिएन । त्यसमा चीनका झाङ जी पहिलो भए । उनले ३९ किलोमिटर दुरी ३ घण्टा ३९ मिनेट २७ सेकेन्डमा पार गरे । दोस्रो भएका चाङ थियानफेले ३ घण्टा ४० मिनेट १२ सेकेन्ड र तेस्रो भएका झाओ गुवानवानले ४ घण्टा १ मिनेट १२ सेकेन्डमा सके ।

पहिलो, दोस्रो र चौथो (नेपालतर्फ तेस्रो) भएको टिमले चीनको कुनमिङ सहरमा आगामी नोभेम्बरमा हुने विश्व प्रसिद्ध ‘जिआओजी’ पर्वतीय दौडमा सहभागिता जनाउने छन् । एकसय किलोमिटरको दौड नोभेम्बर ३० र डिसेम्बर १ मा कुन्मिङमा हुनेछ । चीन जाने खेलाडीको सम्पूर्ण खर्च आयोजकले बेहोर्नेछ ।


प्रतियोगितामा नेपालका २५ र चीनका २ टिम सहभागी थिए । व्यक्तिगततर्फ चिनियाँ २४ खेलाडीले प्रतिस्पर्धा गरे । टिम र व्यक्तिगत गरी १ सय ५ खेलाडीले सहभागिता जनाए । तीन खेलाडीको टिममा महिला अनिवार्य गरिएको थियो ।


खेलाडीले पोखराको बाराहीघाटबाट राष्ट्रबैंक चोक, ड्यामसाइड, डेभिजफल, तिब्बती क्याम्प हुँदै फुस्रेखोलासम्म दौडिए । फुस्रे खोलाबाट एक समूहले एक साइकल लिएर कमेरा, राम्दी, मट्टिखान, स्याङजाको रामकोट हुँदै कुभिण्डे पुगे । कुभिण्डेबाट पुन: दौडिएर उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखलेडाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुमस्वाँरा, तल्ला गाउँ, ढुंगेपानी, शान्तिस्तुपा हुँदै फेवाताल किनार झरे । ताल किनारबाट बोटिङ गरेर बाराहीघाटसम्मको दुरी तय गरे । व्यक्तिगततर्फका खेलाडीले भने शान्तिस्तुपमै दौड टुंग्याए । प्रतियोगितामा धावक मट्टिखान र पुम्दीभुम्दीको १ हजार ३ सय मिटरको उचाइसम्म पुगे ।


विजयी टिम र खेलाडीलाई गण्डकी प्रदेशकी सामाजिक विकासमन्त्री नरदेवी पुनले पुरस्कृत गरिन् । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले प्रतियोगितालाई महानगरले संरक्षकत्व प्रदान गर्ने बताए । संयोजक विश्वशंकर पालिखेले दुई वर्षको अध्ययनपछि प्रतियोगिता गर्न सम्भव भएको बताए । उनले यसलाई निरन्तरता दिइने प्रतिबद्धता जनाए । पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारीले चिनियाँ पर्यटक भित्र्याउन प्रतियोगिताले महत्वपूर्ण भूमिका खेल्ने आशा गरे ।


पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको कुन्मिङ माउन्टेनियरिङ एन्ड एक्सप्लोरेसनको संयुक्त आयोजनामा प्रतियोगिता पहिलोपल्ट भएको हो । दौडलाई पर्यटन बोर्ड, एथलेटिक्स संघ, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लबलगायतले सघाएका थिए ।


प्रकाशित : आश्विन ३०, २०७६ ०९:२२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?