कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

डब्लूसीएल लिग : चितवन विजयी

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपालमै पहिलोपल्ट आयोजित महिला फ्रेन्चाइज लिग क्रिकेट वुमन्स च्याम्पियन्स लिग बुधबार चितवन राइनोजले जितसँगै सुरु भएको छ । चितवनले क्याट क्विन्स काठमाडौंलाई ५ विकेटले पराजित गरेको छ । 

डब्लूसीएल लिग : चितवन विजयी

महिला क्रिकेटरका लागि लामो समयदेखि प्रतीक्षा गरिएको फ्रेन्चाइज क्रिकेटको आयोजनामा खेलाडीहरू उत्साही देखिए । टिमको पराजयका बाबजुद राष्ट्रिय टोलीकी कप्तानसमेत रहेकी काठमाडौंकी कप्तान रुबिना क्षेत्रीले पहिलोपल्ट यस्तो प्रतियोगिता खेल्न पाउँदा आफैंलाई पनि डर लागेको प्रतिक्रिया दिइन् । नयाँ र युवा खेलाडीका लागि एक्स्पोजरका रूपमा उनले प्रतियोगितालाई तुलना गरिन् ।


कप्तान रुबिनाले राम्रो सुरुआत गरे पनि मध्यक्रम चल्न नसक्दा हार भोग्नुपरेको थियो । टस हारेर ब्याटिङ निम्तो पाएको काठमाडौंले अन्तिम बलमा सबै विकेट गुमाएर ९२ रनको सामान्य योगफल खडा गरेको थियो । ओपनर रश्मि चौलागाईंले २५ बलमा ७ चौका मदतमा ३४ रन जोडेर आउट भएपछि काठमाडौंको विकेट पतन सुरु भएको हो । पावरप्लेमै ४०–१ को अवस्थामा रहेको काठमाडौंले बाँकी १४ ओभरमा ५३ रन जोड्दा सबै विकेट गुमायो । सातौं नम्बरमा ब्याटिङ गरेकी सरस्वती चौधरीले १५ रन बनाइन् । बाँकी कसैले पनि दोहोरो अंकमा रन छुन सकेनन् । बलिङमा चितवनकी सन्तोषी चौधरीले ३ विकेट झारिन् । प्लेयर अफ द म्याचसमेत बनेकी उनले ४ ओभरमा १४ रन खर्चिइन् । रेखा रावल र कविता गौतमले २–२ विकेट लिए ।


‘एङ्कल इन्ज्युरीबाट भर्खरै खेलमा फर्किएका कारण मैले राम्रो प्रदर्शन गर्न सकिनँ, सायद मैले नेतृत्व लिएर अगाडि बढ्न सकेको भए अहिले नतिजा हाम्रो पक्षमा आउने थियो,’ ब्याटिङमा १ रन तथा बलिङमा ३.३ ओभरमा ३२ रन खर्चेकी कप्तान रुबिनाले भनिन्, ‘पहिलो खेल नै हारेका छौं, यसले बाँकी खेलका लागि हामीलाई रणनीति बनाउन तथा अझै बलियो हुन प्रेरित गर्नेछ ।’


इनिङ्सको ९ बल बाँकी छँदै लक्ष्य पूरा गर्ने क्रममा चितवनले ५ विकेट गुमायो । ‘हाम्रो फिल्डिङ सुरुदेखि नै चुस्त भएको भए लक्ष्य अझै कम हुनसक्थ्यो, सुरुआती ओभरमा हाम्रा फिल्डर अत्तालिए । त्यसपछि हामीले आफ्नो लय समात्यौं र काठमाडौंलाई थोरैमा रोक्न सक्यौं,’ चितवनकी कप्तान इन्दु वर्माले भनिन्, ‘ब्याटिङमा सुरुआत केही खराब भए पनि मध्यक्रममा प्रिया चौधरी र सुमन खतिवडाले संयमित इनिङ्स खेलिदिँदा सहज जित निकाल्न सक्यौं ।’

चितवनबाट ओपनर काजल श्रेष्ठले ११ र ऋतु कनौजियाले १४ रन जोडेका थिए । २८ रनमा ३ विकेट गुमाएको चितवनबाट सुमन र प्रियाले सानदार साझेदारी गरे । सुमन २३ बलमा ४ चौकासहित २९ रन बनाएर आउट भइन् । प्रियाले काठमाडौंकी कप्तान रुबिनाको अन्तिम ओभरमा २ चौका प्रहार गरी टिमलाई जित दिलाइन् । बलिङमा ईश्वरी विष्टले २ विकेट लिइन् ।


५ टिम सहभागी लिगमा बिहीबार क्विन्स काठमाडौं र पोखरा पल्टन तथा विराटनर टाइटन्स र ललितपुर फाल्कन्सबीच प्रतिस्पर्धा हुनेछ ।

प्रकाशित : आश्विन ३०, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?