विकास रनिङ सिल्ड आजदेखि

कान्तिपुर संवाददाता

(चितवन) — टुबोर्ग जेसिज विकास रनिङ सिल्ड फुटबलमा बिहीबार उद्घाटन खेलमा घरेलु टोली चितवन र मकवानपुर–११ बीच प्रतिस्पर्धा हुने भएको छ । नारायणगढ क्याम्पाचौरमा कात्तिक ९ सम्म हुने प्रतियोगितामा १० टिमले प्रतिस्पर्धा गर्नेछन् । आयोजक नेपाल जेसिज नारायणगढ शाखाले बुधबार प्रतियोगिताको खेलतालिका सार्वजनिक गरेको छ । 

समूह ‘क’ मा चितवन–११ सहित झापा–११, एपिएफ क्लब, मकवानपुर–११ र त्रिभुवन आर्मी क्लब छन् । समूह ‘ख’ मा संकटा क्लब, सरस्वती युवा क्लब, नेपाल पुलिस क्लब, जावलाखेल युथ र भारतको युनाइटेड दार्जिलिङ क्लब रहेका छन् ।

विकास सिल्ड समितिले नारायणगढमा २०३१ सालदेखि आयोजना गर्नै आएको ‘विकास रनिङ सिल्ड’ फुटबल यस वर्ष नेपाल जेसिजले गर्ने भएको हो । ४५ वर्षे इतिहास बोके पनि विकास सिल्ड नियमित हुन सकेन । अहिलेसम्म विकास रनिङ सिल्ड १३ पटक मात्रै आयोजना भएको छ । पछिल्लो पटक ७४ सालको फागुनमा विकास सिल्ड भएको थियो ।

विजेता टिमले यसपल्ट ६ लाख ६ हजार ६ सय ६६ रुपैयाँ र उपविजेताले ३ लाख ३ हजार ३ सय ३३ रुपैयाँ पाउने छन् । चितवनमा गत वर्ष ६ लाख नगद राशिका भरतपुर गोल्डकप कप भएको थियो । जेसिजको नारायणगढ शाखाले पनि ०७४ सालको भदौमा राष्ट्रियस्तरको फुटबल प्रतियोगिता गरेको थियो ।

प्रतियोगिता हेर्न ६० हजार दर्शक आउने आयोजकको अपेक्षा छ । खेल हुने क्याम्पचौर मैदानमा १७ सय दर्शक अट्ने अस्थायी प्यारापिट निर्माण भएको संयोजक कपिल श्रेष्ठले बताए । टिकट बिक्रीबाट मात्रै २० लाख रुपैयाँ आम्दानी गर्ने अयोजकको योजना छ । बचत रकम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला निर्माणका साथै क्याम्पचौरको व्यवस्थापनमा पनि खर्च हुने आयोजकले जनाएको छ ।

प्रकाशित : आश्विन ३०, २०७६ ०८:४०
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्

विचित्रको ऐतिहासिक खेल

(एएफपी)

सोल — फिफा विश्वकप र एसियाली कप छनोटअन्तर्गत उत्तर र दक्षिण कोरियाबीचको ऐतिहासिक तर विचित्रको प्रतिस्पर्धा हेरेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफू ‘निराश’ बनेको प्रतिक्रिया दिएका छन् । किनभने खाली रंगशालामा खेल आयोजना भएको थियो । प्रत्यक्ष प्रसारण पनि थिएन । 

मंगलबार भएको उत्तर र दक्षिण कोरियाबीचको दुर्लभ खेल गोलरहित बराबरीमा सकिएको थियो । फिफा अध्यक्ष इन्फान्टिनो ती सीमित व्यक्तिहरूमध्ये एक थिए जसलाई उत्तर कोरियाली राजधानी प्योङयाङस्थित किम इल सुङ रंगशालामा म्याच हेर्ने अनुमति दिइएको थियो ।

‘म यस्तो ऐतिहासिक खेलमा हाउसफुल रंगशाला देख्न चाहिरहेको थिएँ, त्यसविपरित एकैजना पनि फुटबल समर्थक रंगशालामा नदेख्दा निराश भएँ,’ फिफाको वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा इन्फान्टिनोले भनेका छन्, ‘हामी यस खेलको प्रत्यक्ष प्रसारण तथा भिसा समस्याका कारण विदेशी पत्रकारको अनुपस्थितिबाट पनि आश्चर्यचकित भयौं ।’ कुनै पनि विदेशी सन्चारमाध्यमले खेलको रिपोर्टिङ गर्न पाएनन् । उत्तर र दक्षिण कोरियाबीच इतिहासमै पहिलोपल्ट पुरुष फुटबलमा प्रतिस्पर्धात्मक खेल आयोजना भएको हो, जबकि यी दुई टोली अहिले पनि प्राविधिक रूपमा ‘युद्ध’ मै छन् । खेल हेर्नका लागि उत्तर यात्राको तयारीमा रहेका दक्षिण कोरियाली समर्थक निराश बनेका छन् । फुटबल अघिकारीहरूले डीभीडी रेकर्डिङ ल्याएपछि त्यसलाई टेलिभिजनबाट प्रसारण गर्ने तयारी भइरहेकाले समर्थकले केही समय प्रतीक्षा गर्नुपर्नेछ । ‘हाम्रा लागि प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता स्थायी अधिकार हो । तर अर्को पक्षले पनि हामीले जस्तै सोचिदिने हो भने हामीले यो विश्वलाई बदल्न एक मिनेट पनि लाग्दैन,’ इन्फान्टिनोले भने । उत्तर कोरियाले शृंखलाबद्ध रूपमा मिसाइल परीक्षण गरेपछि कोरियाली द्वीपमा बढिरहेको तनाव तथा प्योङयाङको परमाणु हतियार व्यवस्थापनबारे अमेरिकासँगको वार्ता भंग हुनुको बीचमा खेल आयोजना भएको हो । यो खेलको ताजा नतिजा थाहा पाउनका लागि एकमात्र तरिका थियो । यो खेललाई एसियाली फुटबल महासंघ (एएफसी) ले वषौंदेखि सबैले उत्सुकतापूर्वक पर्खेको तर अप्रत्याशित भेटको रुपमा व्याख्या गरेको छ । फिफा र एएफसीको वेबसाइटमा सीमित टेक्स्ट कमेन्ट्री पोस्ट गरिएको थियो ।

यसैबीच उत्तर कोरियाली सञ्चारमाध्यमले पनि यस ऐतिहासिक खेललाई महत्वपूर्ण ढंगले प्रसारण गर्न आवश्यक ठानेनन् । उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीले दुई हरफको समाचार यसरी उल्लेख गरेको थियो, ‘खेलको एट्याक र काउन्टर एट्याकमै समाप्त भयो र बराबरीमा सकियो ।’ इन्फान्टिनोले आफू र आफ्नो टिमले उत्तर कोरियाली फुटबल संघसँग प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताबारेमा प्रश्न उठाउने बताएका छन् । ‘हामी निश्चित रूपमा अगाडि बढिरहने छौं किनभने फुटबलले उत्तर कोरिया र अन्य देशहरूमा पनि सकारात्मक प्रभाव बनाउने छ,’ उनले थपे ।

प्रकाशित : आश्विन ३०, २०७६ ०८:३९
पूरा पढ्नुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT
ADVERTISEMENT
×