विचित्रको ऐतिहासिक खेल

(एएफपी)

सोल — फिफा विश्वकप र एसियाली कप छनोटअन्तर्गत उत्तर र दक्षिण कोरियाबीचको ऐतिहासिक तर विचित्रको प्रतिस्पर्धा हेरेपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले आफू ‘निराश’ बनेको प्रतिक्रिया दिएका छन् । किनभने खाली रंगशालामा खेल आयोजना भएको थियो । प्रत्यक्ष प्रसारण पनि थिएन । 

मंगलबार भएको उत्तर र दक्षिण कोरियाबीचको दुर्लभ खेल गोलरहित बराबरीमा सकिएको थियो । फिफा अध्यक्ष इन्फान्टिनो ती सीमित व्यक्तिहरूमध्ये एक थिए जसलाई उत्तर कोरियाली राजधानी प्योङयाङस्थित किम इल सुङ रंगशालामा म्याच हेर्ने अनुमति दिइएको थियो ।

‘म यस्तो ऐतिहासिक खेलमा हाउसफुल रंगशाला देख्न चाहिरहेको थिएँ, त्यसविपरित एकैजना पनि फुटबल समर्थक रंगशालामा नदेख्दा निराश भएँ,’ फिफाको वेबसाइटमा प्रकाशित अन्तर्वार्तामा इन्फान्टिनोले भनेका छन्, ‘हामी यस खेलको प्रत्यक्ष प्रसारण तथा भिसा समस्याका कारण विदेशी पत्रकारको अनुपस्थितिबाट पनि आश्चर्यचकित भयौं ।’ कुनै पनि विदेशी सन्चारमाध्यमले खेलको रिपोर्टिङ गर्न पाएनन् । उत्तर र दक्षिण कोरियाबीच इतिहासमै पहिलोपल्ट पुरुष फुटबलमा प्रतिस्पर्धात्मक खेल आयोजना भएको हो, जबकि यी दुई टोली अहिले पनि प्राविधिक रूपमा ‘युद्ध’ मै छन् । खेल हेर्नका लागि उत्तर यात्राको तयारीमा रहेका दक्षिण कोरियाली समर्थक निराश बनेका छन् । फुटबल अघिकारीहरूले डीभीडी रेकर्डिङ ल्याएपछि त्यसलाई टेलिभिजनबाट प्रसारण गर्ने तयारी भइरहेकाले समर्थकले केही समय प्रतीक्षा गर्नुपर्नेछ । ‘हाम्रा लागि प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रता स्थायी अधिकार हो । तर अर्को पक्षले पनि हामीले जस्तै सोचिदिने हो भने हामीले यो विश्वलाई बदल्न एक मिनेट पनि लाग्दैन,’ इन्फान्टिनोले भने । उत्तर कोरियाले शृंखलाबद्ध रूपमा मिसाइल परीक्षण गरेपछि कोरियाली द्वीपमा बढिरहेको तनाव तथा प्योङयाङको परमाणु हतियार व्यवस्थापनबारे अमेरिकासँगको वार्ता भंग हुनुको बीचमा खेल आयोजना भएको हो । यो खेलको ताजा नतिजा थाहा पाउनका लागि एकमात्र तरिका थियो । यो खेललाई एसियाली फुटबल महासंघ (एएफसी) ले वषौंदेखि सबैले उत्सुकतापूर्वक पर्खेको तर अप्रत्याशित भेटको रुपमा व्याख्या गरेको छ । फिफा र एएफसीको वेबसाइटमा सीमित टेक्स्ट कमेन्ट्री पोस्ट गरिएको थियो ।

यसैबीच उत्तर कोरियाली सञ्चारमाध्यमले पनि यस ऐतिहासिक खेललाई महत्वपूर्ण ढंगले प्रसारण गर्न आवश्यक ठानेनन् । उत्तर कोरियाको आधिकारिक कोरियन सेन्ट्रल न्युज एजेन्सीले दुई हरफको समाचार यसरी उल्लेख गरेको थियो, ‘खेलको एट्याक र काउन्टर एट्याकमै समाप्त भयो र बराबरीमा सकियो ।’ इन्फान्टिनोले आफू र आफ्नो टिमले उत्तर कोरियाली फुटबल संघसँग प्रेस स्वतन्त्रता र वाक स्वतन्त्रताबारेमा प्रश्न उठाउने बताएका छन् । ‘हामी निश्चित रूपमा अगाडि बढिरहने छौं किनभने फुटबलले उत्तर कोरिया र अन्य देशहरूमा पनि सकारात्मक प्रभाव बनाउने छ,’ उनले थपे ।

प्रकाशित : आश्विन ३०, २०७६ ०८:३९
ADVERTISEMENT
ADVERTISEMENT
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT

कात्तिकमा पोषण अन्तर्राष्ट्रिय सम्मेलन

कान्तिपुर संवाददाता

काठमाडौँ — ‘मानव र पृथ्वीलाई सँगै पोषित गर्दै’ भन्ने नाराका साथ पोषण विस्तार अभियान (स्केलिङ अप न्युट्रिसन–सन मुभमेन्ट) को अन्तर्राष्ट्रिय सम्मेलन कात्तिक १८ गतेदेखि २१ गतेसम्म काठमाडौंको होटल याक एन्ड यतीमा हुने भएको छ ।

नेपाल सरकार र सन मुभमेन्टको संयुक्त आयोजनामा हुन लागेको यस सम्मेलनमा केही देशका राष्ट्र वा सरकार प्रमुखसहित ८० भन्दा बढी देशका प्रतिनिधिहरू सहभागी हुनेछन् । सन मुभमेन्टका सदस्य राष्ट्रमै आयोजना हुने यो दोस्रो अन्तर्राष्ट्रिय सम्मेलनको उद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्नेछन् ।

सन मुभमेन्टको सुरुवाती चरणको सदस्यकै रूपमा सन् २०११ मा सहभागी भएपछि नेपालले कुपोषण घटाउने कार्यमा उल्लेख्य प्रगति हासिल गरेको छ । नेपाल सरकारको नेतृत्वमा हुने यो अन्तर्राष्ट्रिय सम्मेलनमा संसारभरका १ हजारभन्दा बढी सहभागीले न्यूनपोषण र मोटोपनसहित कुपोषण अन्त्य गर्न विश्वभरि प्रभावकारी भइरहेका प्रयासबारे छलफल गर्नेछन् ।

यो सम्मेलनले मानव र पृथ्वीलाई नै सुपोसित गर्ने रूपान्तरणकारी सरकारी प्रतिबद्धताहरूलाई सन् २०२० डिसेम्बरमा हुने ‘वृद्धिका लागि पोषण टोकियो शिखर सम्मेलन’ लाई समेत दृष्टिगत गरी छलफल गर्ने अवसर उपलब्ध गराउने मंगलबार जारी प्रेस विज्ञप्तिमा उल्लेख छ ।

प्रकाशित : आश्विन ३०, २०७६ ०८:३६
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
ADVERTISEMENT
ADVERTISEMENT