कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४४

एपीएफलाई अन्तर्राष्ट्रिय क्रसकन्ट्रीको उपाधि 

दीपक परियार

पोखरा — विभागीय टिम एपीएफले पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री प्रतियोगिताको उपाधि जितेको छ । चीन र नेपालका खेलाडीबीच बुधबार पोखरामा भएको प्रतियोगितामा एपीएफको टिमले उपाधि जितेको हो । 

एपीएफलाई अन्तर्राष्ट्रिय क्रसकन्ट्रीको उपाधि 

टिममा सन्तोषविक्रम विष्ट, गणेश ठकुरी र इन्द्रकला नेम्वाङ सहभागी थिए । २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ गरी ४२.२ किलोमिटर दुरी एपीएफका खेलाडीले ४ घण्टा १७ मिनेट २२ सेकेन्डमा पूरा गरे ।


नेपालकै गुरिल्ला ट्रेल टिम दोस्रो भयो । टिमका खेलाडी दामोदर बुढा, दुर्गाराज बुढा र रसिला तामाङले निर्धारित दुरी ४ घण्टा १८ मिनेट २३ सेकेन्डमा पार गरे ।


प्रतियोगितामा चिनियाँ टोली तेस्रो भयो । चेङ यिजेन, प्याङ वाइसु र लाइ युजुन सम्मिलित काइनेटिक टिमले ४ घण्टा २४ मिनेट ३३ सकेन्डमा दुरी पूरा गरे ।


प्रतियोगितामा चीनका खेलाडी टिमबाहेक व्यक्तिगत पनि भाग लिए । व्यक्तिगततर्फ बोटिङ समावेश थिएन । प्रतियोगितामा चीनमा झाङ जी पहिलो भए । उनले ३ घण्टा ३९ मिनेट २७ सेकेन्डमा निर्धिारित दुरी पार गरे । दोस्रो भएका चाङ थियानफेले ३ घण्टा ४० मिनेट १२ सेकेन्ड र तेस्रो भएका झाओ गुवानवानले ४ घण्टा १ मिनेट १२ सेकेन्डमा सके ।


प्रतियोगितामा पहिलो, दोस्रो र चौंथो (नेपालतर्फ तेस्रो) भएको टिमले चीनको कुन्मिङ सहरमा आगामी नोभेम्बरमा हुने विश्व प्रसिद्ध ‘जिआओजी’ पर्वतीय दौडमा सहभागिता जनाउनेछन् ।


प्रतियोगितामा नेपालका २५ र चीनका २ टिम सहभागी थिए । व्यक्तिगततर्फ चिनियाँ २४ खेलाडीले प्रतिस्पर्धा गरे । टिम र व्यक्तिगत गरी १ सय ५ खेलाडीले प्रतियोगितामा सहभागिता जनाए ।


खेलाडीले पोखराको बाराहीघाटबाट राष्ट्रबैंक चोक, ड्यासाइड, डेभिजफल, तिब्बती क्याम्प हुँदै फुस्रेखोलासम्म दौडिए । फुस्रे खोलाबाट एक समूहले एक साइकल लिएर कमेरा, राम्दी, मट्टिखान, स्याङ्जाको रामकोट हुँदै कुभिण्डे पुगे । कुभिण्डेबाट पुनः दौडिएर उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखलेडाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुमस्वाँरा, तल्ला गाउँ, ढुंगेपानी, शान्तिस्तुपा हुँदै फेवाताल किनार झरे । ताल किनारबाट बोटिङ गरेर बाराहीघाटसम्मको दुरी तय गरे ।


व्यक्तिगततर्फका खेलाडीले भने शान्तिस्तुपामै दौड टुंग्याए । प्रतियोगितामा धावक मट्टिखान र पुम्दीभुम्दीको १ हजार ३ सय मिटरको उचाइसम्म पुगे ।


विजयी टिम र खेलाडीलाई गण्डकी प्रदेशकी सामाजिक विकास मन्त्री नरदेवी पुनले मेडल प्रदान गरिन् । पोखरा महानगरपालिकाका प्रमुख मानबहादुर जीसीले प्रतियोगितालाई महानगरले संरक्षकत्व प्रदान गर्ने बताए । प्रतियोगिता संयोजक विश्वशंकर पालिखेले आगामी वर्षमा निरन्तरता दिने गरी प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे ।


पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको कुन्मिङ पर्वतारोहण तथा अन्वेषण संघको संयुक्त आयोजनामा प्रतियोगिता भएको हो ।


दौडमा सहभागी हुन चिनियाँ प्राविधिकसहितको टोली पोखराका आएको थियो । टोलीमा चीनका ३० धावक, त्यहाँका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ६० जना छन् ।

दौडलाई नेपाल पर्यटन बोर्ड, एथलेटिक्स सोसाइटी काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लब लगायत विभिन्न संघ/संस्थाले सघाएका छन् ।


यो पनि पढ्नुहोस्:

चिनियाँ धावक हिमाल हेर्दै दौड्ने

प्रकाशित : आश्विन २९, २०७६ १६:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?