१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

चिनियाँ धावक हिमाल हेर्दै दौड्ने

दीपक परियार

(पोखरा) — आकाशमा एक टुक्रा बादल नहुँदा हिमाल मस्त खुल्छ । तालमा टल्किरहेको माछापुच्छ्रे छायाँ हेर्दै फेवाको किनारैकिनार बुधबार एक हुल धावक दौडनेछन् । चीन र नेपालका धावक साइक्लिङ र दौडेर ताल किनार, अग्लो पहाड, भञ्ज्याङ काट्नेछन् अनि डुंगा खियाउने छन् । 

चिनियाँ धावक हिमाल हेर्दै दौड्ने

चीन र नेपालका धावक सहभागी हुने पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड बुधबार पोखरामा हुँदै छ । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको कुन्मिङ पर्वतारोहण तथा अन्वेषण संघको संयुक्त आयोजनामा हुने प्रतियोगिताको तयारी सकिएको छ ।


दौडमा सहभागी हुने चिनियाँ प्राविधिकसहितको टोली यतिखेर पोखरामा छ । टोलीमा चीनका ३० धावक, त्यहाँका विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ६० जना छन् । दौडमा नेपालको तर्फबाट २५ टिम सहभागी हुँदै छ । दौडमा चिनियाँ र नेपालीसहित १ सय ५ खेलाडी सहभागी हुनेछन् ।


सहभागीले ३ विधामा सहभागिता जनाउने छन् । त्यसमा दौड, साइक्लिङ र बोटिङ हुनेछ । २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ । ४२.२ किलोमिटरको दौडमा धावक मट्टिखान र पुम्दीभुम्दीको १ हजार ३ सय मिटरको उचाइसम्म पुग्नेछन् । तीन खेलाडीको एक टिम बन्नेछ । टिममा एक महिला अनिवार्य गरिएको छ ।


पोखराको बाराहीघाटबाट सुरु हुने दौड, राष्ट्रबैंक चोक, ड्यामसाइड, डेभिजफल, तिब्बती क्याम्प, फुस्रेखोला, कमेरा, राम्दी, मट्टिखान, स्याङ्जाको रामकोट, कुभिन्डे, उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखलेडाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुमस्वाँरा, तल्लागाउँ, ढुंगेपानी, शान्तिस्तुपा, लिची बोट हुँदै बोटिङ गरेर बाराहीघाटसम्म रुट तय गरिएको छ । यो रुट सम्पन्न गर्न करिब ५ घण्टा लाग्ने अनुमान गरिएको छ ।


संयोजक विश्वशंकर पालिखेले प्रतियोगिता सञ्चालन गर्न अनुमानित ३५ लाख रुपैयाँ खर्च हुने बताए । उनले निरन्तरता दिने गरी प्रतियोगिता आयोजना गरिएको उल्लेख गरे । दौडको चिनियाँ सञ्चारमाध्यममा प्रचारप्रसार गरी पोखराको साहसिक खेल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको उनले बताए । ‘पोखरालाई चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वकै धेरै घुम्न जाने संस्कृति विकास हुँदै गरेको देशबाट पोखरामा पर्यटक भित्र्याउन हामीले यो ‘मेगा इभेन्ट’ गर्न लागेका हौं,’ उनले भने, ‘हामी यो कार्यक्रममार्फत पोखरालाई साहसिक खेलकुद पर्यटनको केन्द्र बनाउन चाहन्छौं ।’


पोखरा महानगरपालिकासँग भगिनी सम्बन्ध रहेको चीनको कुन्मिङ सहरबाट आएको टोलीले हवाई खर्च आफैं बेहोर्ने छ । उनीहरूको नेपाल बसाइ र प्रतियोगिताको खर्च स्थानीय आयोजकले बेहोर्ने छ । दौडलाई ‘ब्रान्डिङ’ गर्न प्रतियोगिताको नाम ‘रन फर लभ’ राखिएको संयोजक पालिखेले बताए । बाराहीघाटबाट फुस्रेखोलासम्म खेलाडी दौडिनेछन् । फुर्स्रेखोलामा राखिने साइकल लिएर उनीहरू निर्मलपोखरीतिर उकालो लाग्नेछन् । शान्तिस्तुपाबाट फेवाताल झरेपछि बोटिङ गरेर पुन: बाराहीघाट पुग्नेछन् । विजेता बन्न टिमका ३ खेलाडी सँगै आउनुपर्छ । प्रतियोगितामा नेपालीतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमका खेलाडीलाई चीनको कुन्मिङ सहरमा नोभेम्बरमा हुने विश्व प्रसिद्ध ‘जिआओजी’ पर्वतीय दौडमा भाग लिन पठाइने भएको छ ।


पोखरा उद्योग वाणिज्य संघका अध्यक्ष दामु अधिकारी चिनियाँ राष्ट्रपति सी चिनफिङ स्वयंबाट नै नेपालको पर्यटन प्रवर्द्धनमा सघाउने प्रतिवद्धता व्यक्त भएको सन्दर्भमा यो दौडले अझ ठूलो महत्त्व राख्ने बताउँछन् । दौड हुने रुटका विभिन्न स्थलमा स्वागत गेट तयार पारिएको छ । दौड हुने क्षेत्रका वडामा स्थानीयले स्वागतको तयारी गरेका छन् । दौडलाई नेपाल पर्यटन बोर्ड, एथलेटिक्स सोसाइटी काठमाडौं, जिल्ला खेलकुद विकास समिति कास्की, भूतपूर्व खेलाडी मञ्च पोखरा, सहारा क्लबलगायत विभिन्न संघ/संस्थाले सघाएका छन् ।


प्रकाशित : आश्विन २९, २०७६ ०८:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?