१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

रत्ननगरमा खुला मैत्री तेक्वान्दो हुँदै

कान्तिपुर संवाददाता

(चितवन) — पूर्वी चितवनको रत्ननगरमा शुक्रबारदेखि तेस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो प्रतियोगिता हुने भएको छ । रत्ननगर, सरित सौराहा, न्यु स्टार, सौराहा, पिठुवा र ईच्छाकामाना तेक्वान्दो डोजाङले संयुक्त रुपमा प्रतियोगिता आयोजना गरेका हुन् । प्रतियोगिता दुई दिन चल्नेछ । अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिप र ललितपुर मैत्री तोक्वान्दो डोजाङको सहयोग तथा सहकार्यमा प्रतियोगिता हुन लागेको हो ।

मूल आयोजक समितिका संयोजक पुष्पराज जोशीका अनुसार विभिन्न जिल्ला र डोजाङका चार सय खेलाडीले प्रतिस्पर्धा गर्दैछन् । भरतपुरमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा पुरुषका २४ र महिलाका २२ तौल समूहमा प्रतिस्पर्धा गराइने संयोजक जोशीले बताए । ५४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा हुनेछ ।


सिनियरतर्फ पुरुष तीन र महिला दुई उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँका दरले नगद पुरस्कार पनि पाउने जोशीले बताए । ‘१८ वर्ष उमेरभन्दा माथि पुरुषका ६ वटा तौल समूह र महिलाका चार समूह छन् । ती समूहमा पहिलो हुने खेलाडीमध्ये फेरि प्रतिस्पर्धा गराएर पुरुषका तीन र महिलाका दुई उत्कृष्ट खेलाडी तय गर्नछौं । जसले नगद एक–एक लाख रुपैयाँ पुरस्कार पाउने छन्,’ संयोजक जोशीले भने ।


यी पाँच खेलाडीले अन्तर्राष्ट्रिय खुला मैत्री तेक्वान्दो च्याम्पियनसिपको आयोजनामा अमेरिकाको इस्टन मिसिगन युनिभर्सिटीमा सन् २०२० को मे १–२ मा हुने १३ औं अन्तर्राष्ट्रिय मैत्री तेक्वान्दोमा भाग लिन पाउने छन् । प्रतियोगितामा उत्कृष्ट खेलाडी, रेफ्री, कोच, उत्कृष्ट टिम र उत्कृष्ट तेक्वान्दो प्रदर्शनीलाई पनि २५ हजार रुपैयाँका दरले पुरस्कृत गरिने छ । ४६ तौल समूहका साथै पुन्सेतर्फ पुरुषका चार र महिलाका चार विधामा प्रतिस्पर्धा हुनेछ । प्रतियोगिता गर्न साढे १४ लाख रुपैयाँको हाराहारीमा बजेट खर्च हुने संयोजक जोशीले बताए । यसअघि दोस्रो राष्ट्रिय खुला मैत्री तेक्वान्दो खोटाङको ऐसेंलुखर्कमा भएको थियो । पहिलो प्रतियोगिता ललितपुरमा भएको संयोजक जोशीले जानकारी गराए ।


प्रकाशित : आश्विन २९, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?