कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३२१

नेपाल विश्वकप छनोट फुटबलमा जोर्डनसँग पराजित

विनोद पाण्डे

अम्मन, जोर्डन — नेपाल विश्वकप छनोट फुटबलमा जोर्डनसँग ३—० ले पराजित भएको छ । जोर्डनको अम्मन अन्तर्राष्ट्रिय रंगशालामा नेपालले स्वभाविक पराजय भोगेको हो ।

नेपाल विश्वकप छनोट फुटबलमा जोर्डनसँग पराजित

नेपालले पहिलो हाफ गोलरहित बराबरीमा टुंगाए पनि अधिकांश समय जोर्डनले खेल दबाबमा राखेको थियो र त्यसलाई निरन्तरता दिँदै दोस्रो हाफमा गोल गरेको थियो । विश्वकप छनोट यात्रामा जोर्डनले तेस्रो खेलमा दोस्रो विजय हात पारेको हो । सबै चार अवे खेल खेलेको नेपालले एकमा मात्र विजय हात पारेको छ ।


तर पहिलो गोल निकै विवादस्पद रहयो । यासिन महमुद बखितलाई दिनेश राजवंशीले लडाएको भन्दै ताजिकस्तानका रेफ्री सादुल्लो गुलमुरोडीले जोर्डनलाई पेनाल्टी दिएका थिए । तर दिनेशको हात काँधमा पुग्नु अघि नै बखित लडिसकेका थिए । रक्षक फेरास जेयाद सिलवायाले कुनै गल्ती नगरी पेनाल्टीमा गोल गरे । त्यसको एक मिनेटपछि नै विमल घर्तिले नेपाललाई बराबरीमा ल्याउने राम्रो मौका गुमाएका थिए ।


७९ औं मिनेटमा अहमद इर्सानले सानदार चिप गरेर गोल गरे । खेल समाप्त हुन दुई मिनेट अघि बखितको क्रसमा बहा फैजल सेइफले गोल पोष्ट नजिकबाट हेडमा गोल गरे ।


जोर्डनले पहिलो मिनेट देखि नेपाली गोल पोष्टमा आक्रमण सुरु गरेको थियो । खेल सुरु भए लगतै रक्षक सुमन अर्याल चिप्लिदा जोर्डनका खेलाडीको प्रहार बाहिरिएको थियो ।


तेस्रो मिनेटमा पनि जोर्डनले राम्रो अवसर पाएको थियो । किरण गोल पोष्ट बाहिर रहेको अवस्थामा जोर्डनका खेलाडीको प्रहारलाई नेपाली रक्षकले गोललाईनबाट क्लियर गरिदिए । अहमद इर्सानको दुई फ्रिकिक प्रहारलाई गोलरक्षक किरण चेम्जोङले जोगाए ।


रक्षात्मक रणनितिका साथ खेलेको नेपालले पनि दुई अवसर पाएको थियो । सन्तोष तामाङको फ्रिकिक प्रहारमा २२ औं मिनेटमा अनन्त तामाङको हेड केही बाहिर गएको थियो । ३६ औं मिनेटमा सन्तोषले पेनाल्टी बक्स बाहिरबाट गरेको प्रहार जोर्डनका गोलरक्षक एवंम कप्तान अमेर साफीले बचाएका थिए ।


नेपाल ४—५—१ को रणनितिमा खेलिरहेको छ । अस्ट्रेलियासँग विश्वकप छनोटको पछिल्लो खेलमा ५—० ले पराजित भएको खेलबाट नेपालले स्ट्राइकर विमल घर्तिमगर, सन्तोष तामाङ र सुमन अर्याललाई प्लेइङ ११ मा खेलाएको छ । विमललाई अभिषेक रिजालको, मिडफिल्डर सन्तोषलाई घाइते विशाल राई र सुमनलाई रन्जीत धिमालको स्थानमा खेलाएको थियो ।


नेपाल पछिल्लो पटक अम्मन आउदा २०११ को विश्वकप छनोटमा जोर्डनसँग ९—० ले पराजित भएको थियो ।

प्रकाशित : आश्विन २९, २०७६ ०७:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?