विश्वकप छनोटमा आज जोर्डनसँग भिड्दै, फाइदा लिने दाउमा नेपाल

विनोद पाण्डे

(अम्मान, जोर्डन) — जोर्डनसँग नेपालले नियमित खेलेको छैन । खेल्दा त्यही पुरानो नतिजा अगाडि आइहाल्छ, जसमा सफलता र असफलता दुवै मिश्रित छ । विश्वकप छनोट र एसियन छनोटमा मंगलबार जोर्डनको सामना गर्दा नेपालले त्यही विगतको खेल सम्झिनुपर्नेछ ।

विश्वकप छनोटमा आज जोर्डनसँग भिड्दै, फाइदा लिने दाउमा नेपाल

पछिल्लो पटक अम्मान आउँदा नेपालले जोर्डनबाट ९–० को हार भोग्नुपरेको थियो । पछिल्ला डेढ दशकमा यो नेपाली फुटबलको सबैभन्दा ठूलो हार थियो । विश्वकप छनोटमा ८ वर्षअघि भोगेको त्यो लज्जास्पद हारको त्रास नेपाली टोलीमा अझै जीवित छ । त्यसको ५ दिनपछि नेपालले दशरथ रंगशालामा १–१ को बराबरी नतिजा निकालेको थियो ।


नेपालबाट भरत खवासले गरेको जति दर्शनीय थियो, त्यति नै त्यसको ठूलो अर्थ थियो । पहिलो लेगमा जति ठूलो असफलता भोगेको थियो नेपालले जोर्डनसँग, दोस्रो लेगको नतिजा त्यति नै ठूलो थियो नेपालको हकमा । सन् २०११ को जुलाईको त्यो बेला जोर्डन फिफा विश्व वरीयतामा ९१ औं स्थानमा थियो । नेपालले पहिलो पटक फुटबल वरीयतामा शीर्ष एक सयभित्र रहेको टोलीलाई बराबरी गर्न सकेको थियो । भरतको गोल पनि नेपाली खेलाडीको शीर्ष एक सय वरीयताभित्रको राष्ट्रसँग पहिलो थियो ।


जोर्डन त्यही टोली हो, जो नेपाललाई दोस्रो चरणमा पन्छाउँदै विश्वकप छनोटको अन्तरमहादेशीय प्लेअफसम्म पुगेको थियो । अन्तिम छनोटमा उरुग्वेसँग भने जोर्डनको केही लागेन ।

मंगलबार जोर्डनसँग खेल्दा भरत खवास नेपाली टोलीमा हुने छैनन् । न त दशरथ रंगशालाको हिलाम्ये मैदान हुनेछ । त्यसैले अम्मान अन्तर्राष्ट्रिय रंगशालामा नेपालका लागि जोर्डनसँगको खेल फलामको चिउरा चपाएजस्तै हुनेछ । एक हिसाबमा नेपाललाई जोर्डनसँग नतिजा कस्तो आउने स्पष्ट थाहा छ । नेपालले हारेर पनि केही गुमाउनु छैन ।


तर, नेपालका स्विडिस प्रशिक्षक योहान कालिन हार मान्नेवाला छैनन् । ‘यसअघिका खेलहरूमा पनि हामीले हारेर केही गुमाउनु थिएन । किनभने हामी समूहमा सबैभन्दा तल्लो वरीयताको टोली हौं, त्यसमा हामी अवे खेलिरहेका छौं र हामीलाई थाहा छ जोर्डन निकै बलियो टोली हो,’ कालिनले भने, ‘उनीहरूका केही खेलाडी निकै उत्कृष्ट छन्, केही बलिया छन्, केही असाधारण छन् । तर हामी आफ्नो खेल र आफ्नो योजनाप्रति विश्वास गर्छौं । विश्वास छ, हामीले आफ्नो उत्कृष्ट दिनेछौं र राम्रो खेलको आशा गरेका छौं ।’


नेपालले छनोटमा खेल्न लागेको जोर्डन दोस्रो माथिल्लो वरीयताको टोली हो । फिफा विश्व वरीयतामा जोर्डन ९७ औं र नेपाल १ सय ६१ औं स्थानमा छन् । बिहीबार नेपालले सामना गरेको अस्ट्रेलिया ४४ औं स्थानमा छ ।


अस्ट्रेलियाले छनोट चरणको पहिलो खेलमा कुवेतलाई उसैको मैदानमा ३–० ले पराजित गरेपछि नेपालमाथि ५–० को विजय पाएको थियो । नेपाल त्यही कुवेतसँग उसैको मैदानमा ७–० गोलले पराजित भएको थियो । कुवेतले जोर्डनसँगको अघिल्लो खेल गोलरहित बराबरी खेलेको थियो । जोर्डनले पहिलो खेलमा चाइनिज ताइपेईलाई उसैको मैदानमा २–१ ले पराजित गरेको थियो । नेपालले तीन खेलमा एकमा जित हात पारेको छ । नेपालले चाइनिज ताइपेईमाथि २–० को जित रचेको हो । विश्वकप छनोटको इतिहासमा नेपालको त्यो पहिलो अवे जित थियो । समूह ‘बी’ मा अस्ट्रेलिया पहिलो दुई खेल जितेर शीर्षस्थानमा छ । कुवेत र जोर्डनको ४–४ तथा नेपालको ३ अंक छ । ताइेपई पहिलो दुई खेलमैपराजित भएको छ ।

जोर्डनले यसपल्ट चाहेजस्तो गर्न सकेको छैन । नेपाल त्यसको फाइदा उठाउने दाउमा छ । कुवेतसँगको बिर्सनलायक पराजयपछि धेरैले अस्ट्रेलियासँग नेपाल दोहोरो डिजिटको स्कोरमा पराजय हुने अनुमान गरेका थिए । तर, दोस्रो हाफमा नेपालले जुनखाले प्रदर्शन गर्‍र्यो त्यसले जोर्डनसँगको खेलमा पनि आशा बढाएको हो ।


अस्ट्रेलियासँगको खेलमा मात्र नभएर प्रत्येक खेलसँगै नेपालको प्रदर्शनमा सुधार आइरहेको प्रशिक्षक कालिनको दाबी छ । जनवरीमा कालिन नेपालको प्रशिक्षक भएर आएका थिए । उनको प्रशिक्षणमा नेपालले पहिलो खेलका रूपमा कुवेतसँग मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलेको थियो, जसमा नेपालले गोलरहित बराबरी नतिजा निकाल्यो । लगत्तै अर्कोमा कुवेतसँग नेपाल १–० ले पराजित भयो । त्यसपछि मलेसिया र चाइनिज ताइपेईसँगको मैत्रीपूर्ण खेल हुँदै नेपाल विश्वकप छनोटमा उभिएको हो ।


‘हाम्रो खेलमा क्रमिक सुधार भइरहेको छ, केही नमीठो हार पनि बेहोर्नुपर्‍यो । दुई पाइला अगाडि बढेपछि एक पाइला पछाडि सर्नुपर्छ । अस्ट्रेलियासँग हाम्रो सुरुआत निकै खराब रह्यो । त्यस्तो बलियो टोलीसँग त्यो खाले सुरुआतबाट सम्हालिन निकै कठिन हुन्छ,’ कालिनले भने, ‘खेलाडीहरूले त्यसपछि राम्रो पुनरागमन गरे । त्यो खेललाई हेर्नुहुन्छ भने अस्ट्रेलियाले चाहेकै नतिजा निकालेको हो । दोस्रो हाफपछि हामीले मध्य भागमा धेरै बल गुमाएनौं र कम गोल खर्चियौं । तथापि क्रस र सेटपिसमा हामी निकै कमजोर थियौं ।’


जोर्डनमा शारीरिक रूपमा निकै बलिया र अग्ला खेलाडी भएकाले क्रस र सेटपिसमा बढी ध्यान दिने संकेत कालिनले गरेका छन् । ८ वर्षअघिको पछिल्लो खेलमा जोर्डनका खेलाडी पनि एयर बलमा नै बढी केन्द्रित भएका थिए । उनीहरूको प्रहार रकेटजस्तै गतिमा पुगेथ्यो नेपाली गोलपोस्टमा ।


अंकतालिकामा नेपालको स्थिति देखेर कालिनले आश्चर्य मानेका छैनन् । ‘अहिलेको स्थिति हामीले अनुमान गरिएअनुरुपकै हो । हामीलाई सजिलो हुन्न भन्ने थाहा थियो । अरु सबै टोली बलिया छन् । समूहमा नै त्यो देखिएको थियो । यस्तो खाले प्रतियोगिता खेल्न पाउँदा हाम्रा खेलाडीले राम्रो अनुभव बटुल्ने छन्,’ कालिनले भने, ‘तीन अवे खेलबाट ३ अंक पाउनु नराम्रो होइन । जति पटक पनि खेल्छौं त्यति पटक अंक लिन चाहन्छौं । आशा छ यसैलाई आगामी खेलमा पनि निरन्तरता दिनेछौं ।’


जोर्डनसँगको प्रतिस्पर्धा यस छनोट यात्रामा नेपालको चौथो अवे खेल हो । दशरथ रंगशाला पुनर्निर्माण क्रममा रहेका कारण नेपालले पहिलो चरणमा सबै अवे म्याच खेल्नुपर्ने स्थिति आएको हो । मंसिरमा हुने १३ औं दक्षिण एसियाली खेलकुदअघि दशरथ रंगशाला निर्माणले पूर्णता पाउने अनुमान गरिएको छ । त्यसपछि नेपालले समूहका अन्य चार राष्ट्रसँग घरेलु म्याच खेल्नेछ ।


जोर्डनसँग त्यो ९ गोल खाएको कालिन पनि सम्झन चाहँदैनन् । उनले भने, ‘कसैले त्यो खेलको कुरा गरेका छैनन् । नेपाली फुटबलमा धेरैलाई थाहा छ त्यो नतिजा कुन स्थितिमा हुँदा आएको थियो । त्यो खेलबारेमा धेरै शंका–उपशंका पनि भएको थियो । त्यसैले त्यसबारे केही भन्न कठिन हुन्छ ।’


विशालले जोर्डनसँगको खेल गुमाउने

नेपालका मिडफिल्डर विशाल राईले जोर्डनसँगको खेल गुमाउने भएका छन् । नेपालले विश्वकप छनोटमा मंगलबार अम्मान अन्तर्राष्ट्रिय रंगशालामा आफ्नो चौथो खेलमा जोर्डनको सामना गर्दै छ ।


बिहीबार क्यानबेरामा अस्ट्रेलियासँग छनोट खेल्नेक्रममा विशाललाई चोट लागेको थियो । अन्तिम २० मिनेट जति खेल बाँकी रहेको अवस्थामा विशाललाई पिडौलामा चोट लागेको हो । ८० औं मिनेटमा उनको स्थानमा सन्तोष तामाङ मैदान छिरेका थिए । नेपालका प्रशिक्षक कालिनले विशालले जोर्डनसँगको खेल गुमाउने निश्चित गर्दै कति समय खेल्न नसक्ने भएको स्पष्ट भइनसकेको बताएका छन् । उनको स्थानमा कसलाई खेलाउने भनेर आफूले निर्णय गरिनसकेको भनेर कालिनले नेपाली टोलीको रणनिति गोप्य राख्न चाहे ।


विशालले कप्तीमा दुई साता खेल्न नसक्ने सम्भावना रहेको छ । नेपाल फर्केर एमआरआई गरेपछि आफ्नो चोटबारेमा पूर्ण थाहा हुने विशाल बताउँछन् । नेपाली टोली अस्ट्रेलिया उड्नु अघि नै विशाललाई पिडौलामा चोट लागेको थियो । त्यसका बावजुद प्रशिक्षक कालिनले उनीप्रति विश्वास देखाउँदै अस्ट्रेलिया लगेका थिए । नेपाली टोलीले सिड्नीमा रहेर अभ्यास गरेको थियो । विशालले अन्तिम तीन दिन प्रशिक्षण गरेर अस्ट्रेलियासँगको खेलबाट प्रभावित पारेका थिए ।


सन् २०१३ मा भारतसँग गुवाहाटीमा भएको विश्वकप छनोट खेलपछि मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर विशाल राष्ट्रिय टोलीमा आएका थिए । उनले डेब्यु भने त्यसको अर्को वर्ष भारतकै पुनामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलबाट भएको हो । त्यसयता उनले नेपालको जर्सी लगाएर ३ गोल गरिसकेका छन् ।


‘विगत बिर्सन चाहन्छौं’

किरण चेम्जोङ, कप्तान


लामो यात्रा गरेर हामी जोर्डनसँगको खेल खेल्न गइरहेका छौं । प्रशिक्षकले बनाएको रणनीति पछ्याएर हामी जितका लागि नै खेल्छौं । प्रशिक्षकले फरक टिमसँग फरक रणनीति बनाउनु हुन्छ । कुवेतसँग एउटा थियो, अस्ट्रेलियासँग अर्कै थियो । प्रशिक्षणमा उहाँले हामीलाई बताएअनुसार जोर्डन र कुवेतलाई समान रूपमा बलियो टोलीमा लिएको थियौं । प्रशिक्षकले जोर्डनसँगलाई पनि बलियो रणनीति बनाउनु हुनेछ र हामी त्यहीअनुसार जान्छौं ।


अस्ट्रेलियासँग म आफ्नो प्रदर्शनलाई लिएर सन्तुष्ट नै छु । तर त्योभन्दा राम्रो गर्न सक्थें भनेर पछुतो त प्रत्येक खेलमा भइरहन्छ । किनकि हार बेहोरिसकेपछि मैले अलिकति अझै योगदान दिन सकेको भए मेरो राष्ट्र र टिमलाई केही गर्न सक्थें भन्ने अनुभव आइरहन्छ । धेरैले मैले राम्रो खेल्यो भनेर प्रशंसा गर्दै निराश नहुन भनेकाले मेरो मनोबल उच्च बनायो । त्यसका बावजुद पनि अझ राम्रो गर्न नसकेकोमा पछुतो भइरहन्छ । मैले त्यसो गर्न सकेको भए अझ कम अन्तरमा हारिन्थ्यो, बराबरी हुन्थ्यो वा जितिन्थ्यो भन्ने हुन्छ । मेरो गल्तीले दुई गोल खाएकै छैन । मेरो गल्ती औंल्याउने हो भने अरुको पनि हुनसक्छ । एउटा टिमबाट खेलिसकेपछि मेरो, तेरो भन्ने हुँदैन । तर कतिवटा गोलचाँहि मैले अझ राम्रो गर्न सकेको भए खाँदैनथ्यो भन्ने हुन्छ ।


जोर्डन एउटा बलियो टोली हो । हामीभन्दा बलियो टोली हो । पछिल्लो पटक हामी यहाँ आएर खेल्दा ठूलो हार बेहोरेको थियौं । निश्चय पनि त्यो हार हामी सबैले मनन गरेका छौं । बलियो मानसिकतासाथ खेल्ने योजना बनाइरहेका छौं । हामी सक्दो संघर्ष गर्नेछौं । ९ गोल एकै खेलमा खाएकाले हाम्रा खेलाडीले त्यो खेल त बिर्सिएका छैनन् होला, तर हामीले विगत कोट्याएर बस्नुभन्दा पनि वर्तमान सामना गर्नुपर्छ जस्तो लाग्छ । ८ वर्षको अन्तरालमा फुटबलमा धेरै परिवर्तन भएको छ । जोर्डनको टोलीमा पनि धेरै परिवर्तन आएको छ होला, हाम्रोमा पनि धेरै परिवर्तन आएको छ ।


प्रकाशित : आश्विन २८, २०७६ ०८:५२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?