सदस्यसचिवको १०० दिन : अर्जुनदृष्टि कता ?

कुशल तिमल्सिना

काठमाडौँ — युवा तथा खेलकुद मन्त्रालयको सभाहलमा असार २३ गते राष्ट्रिय खेलकुद परिषद्को सदस्य–सचिवमा शपथ लिएलगत्तै रमेशकुमार सिलवालको अभिव्यक्तिबाट धेरैले राखेपको जिम्मेवारी उपयुक्त पात्रले पाएको महसुस गरेका थिए । खेलकुदमा लामो अनुभव तथा शिक्षा क्षेत्रमा स्थापित व्यक्तित्वको आगमनले सुरुदेखि नै सकारात्मक आशाको सञ्चार गराएको थियो ।

सदस्यसचिवको १०० दिन : अर्जुनदृष्टि कता ?

मंगलबार उनले आफ्नो कार्यकालको १ सय दिन पूरा गर्दा सकारात्मक अपेक्षा सूचक क्रमशः नकारात्मक रेखातर्फ ढल्कन थालेको छ । सिलवालले आफ्नो पहिलो दिनदेखि नै अर्जुनदृष्टि लगाएको १३ औं दक्षिण एसियाली खेलकुद (साग) को मिति ४५ दिन बाँकी रहँदा खेलक्षेत्रकै अधिकांश मानिसहरू साग आयोजनामै शंका गरिरहेका छन् । कार्यकालको पहिलो दिनै सदस्य–सचिव सिलवालले भनेका थिए, ‘राष्ट्रिय गौरवको रूपमा रहेको साग आयोजना पटक–पटक सरेर राष्ट्रिय बेइज्जत भइसकेको छ । अब जुन मितिमा तोकिएको (मंसिर १५–२४ गते) छ त्यसका लागि ४ महिनाको समय छ, त्यसमध्ये २ महिना बर्खा छ । त्यो भनेर मैले सुख पाउने अवस्था छैन, धेरै बोल्नुभन्दा एउटा काम नै महत्त्वपूर्ण हुन्छ । म तपाईहरूलाई काम गरेरै खुसी तुल्याउने छु । कृपया शुभकामना आदानप्रदान र पदक वितरण कार्यक्रममा नबोलाएर सहयोग गरिदिनु होला ।’


अपसोच सदस्यसचिवको सय दिने कार्यकालको अधिकांश समय भने शुभकामना आदानप्रदान, उद्घाटन, पदक वितरण र बिदाइमै बितेको छ । कतिसम्म भने सदस्यसचिव सिलवालले आइतबार एउटा विचित्रको बिदाइ गर्न भ्याए । सागको तयारीका लागि पोखरा प्रशिक्षणमा जाने बक्सिङ टोलीलाई समेत उनले काठमाडौंबाट बिदाइ गरे । १६ खेलाडी सहभागी बुद्धिचाल प्रतियोगिताको उद्घाटन गर्न प्युठान पुगे । बिदाइ, उद्घाटन तथा पदक वितरण कार्यक्रममा सदस्य–सचिव दिनमा औसत ३ देखि ४ वटा सहभागी हुने गरेका छन् । सय दिनको बीचमा सदस्यसचिवले सयौं यस्ता कार्यक्रमका लागि घण्टौंको अमूल्य समय बिताएका छन्, जसले उनको साग अर्जुनदृष्टिमा स्वभाविक असर परेको देखिन्छ ।


१३ औं सागका लागि पूर्वाधार, प्रशासनिक र राष्ट्रिय टिम तयारी अहिले भइरहेको छ । तर सबैमा सन्तोषजनक प्रगति देखिएको छैन । सिलवालले पद सम्हाल्नुभन्दा निकै अघि साग आयोजनाको मिति घोषणा भएको हो । अघिल्ला सदस्य–सचिवले साग तयारीमा ध्यान नदिएकाले शून्यदेखि काम सुरु गर्नुपर्नाको दुःख भएको सदस्यसचिवले बेलाबेलामा बताउने गरेका छन् । तर, प्रधानमन्त्रीको आग्रहमा चुनौती स्वीकार्दै पदमा विराजमान भएपछि विगतका कमजोरी पनि सच्याएर अर्जुनदृष्टिको लक्ष्य भेदन गर्नु सिलवालका लागि बाध्यकारी बन्दैछ ।


मुख्य पूर्वाधारको रूपमा रहेको दशरथ रंगशाला र पोखरा रंगशाला पुनर्निर्माण पूरा गर्ने सबैभन्दा ठूलो चुनौती छ । त्यसबाहेक निर्माणाधीन भौतिक पूर्वाधारको काम ८० प्रतिशत सकिएको दाबी सदस्य–सचिवले गर्ने गरेका छन् । तर डेढ महिनामा २० प्रतिशत काम सम्पन्न हुने निश्चिता नहुनुले नै समयमै साग आयोजना हुनेमा कोही पनि ढुक्क हुन सकेका छैनन् । दशरथ रंगशालाको घाँस काट्ने कामका लागि ३ दिनको समय निर्धारण गरिएकोमा झन्डै २ साता लागेबाटै कार्यप्रगतिको अनुमान लगाउन सकिन्छ । यद्यपी समयानुकुल श्रोत परिचालन गरेमा मंसिर १५ देखि २४ सम्म दक्षिण एसियाली खेलकुद आयोजना गर्न असम्भव भने छैन । प्रशासनिक तयारी पनि सदस्यसचिवले चाहेजस्तो गरी तीव्रताका साथ अगाडि बढिरहेको छैन ।


नेपाल ओलम्पिक कमिटीको जिम्मामा रहेको सहभागी देशका खेल र खेलाडीको विवरण संकलन कार्य सुरु हुनै सकेको छैन । असार पहिलो साता मन्त्रिपरिषदमा पेश भएको १३औं साग आयोजना कार्यविधि झन्डै २ महिना ढिला गरी भदौ २७ गतेमात्रै पारित भयो । यसबाट सागका लागि मुख्य सरोकार निकाय युवा तथा खेलकुद मन्त्रालय, राखेप र ओलम्पिक कमिटीको समन्वयमा संका गर्ने ठाउँ छ । कार्यविधिले कल्पना गरेको १५ उपसमितिले अहिलेसम्म पूर्णता पाउन सकेको छैन । यी उपसमितिले व्यवस्थापकीय तथा प्रशासनिक कामहरू गर्नुपर्नेछ । मंसिरमा हुने प्रतियोगिताका लागि साउनदेखि प्रशिक्षण सुरु गरिएबाट अधिक पदकको अपेक्षा गर्नु पनि निरर्थक हुनेछ ।


सदस्य–सचिवको सुरुआती कार्यकालमै सिलवाल खेलकुद राजनीतिमा पूर्णतः असफल देखिए । त्यसका दुई उदाहरण छन्, ओलम्पिक कमिटी र नेपाल क्रिकेट संघ (क्यान) निर्वाचन । दुवै निर्वाचनमा सिलवालका उम्मेदवारले लज्जास्पद पराजय बेहोरेका छन् । ओलम्पिक कमिटी निर्वाचनमा अध्यक्षमा उमेशलाल श्रेष्ठ र व्यापारिक साझेदारसमेत रहेका कराँतेका पुरेन्द्रविक्रम लाखेलाई जिताउन खुलेरै लागेका सिलवालका लागि दुवै उम्मेदवारको पराजय सदस्य–सचिवका लागि गतिलो ‘ब्याक फायर’ रह्यो । ओलम्पिकमा जीवनराम श्रेष्ठको निरन्तरता र उनलाई सघाउने खेल संघका अध्यक्षहरूप्रतिको व्यवहार आगामी दिनमा दर्शनीय हुनेछ । सदस्य–सचिव नियुक्त भएको भोलिपल्टै नेपाली क्रिकेटको विवाद ७ दिनभित्र समाधान गरी अन्तर्राष्ट्रिय क्रिकेट परिषद (आईसीसी) को निलम्बन फुकुवा गर्ने दाबी गरेका सदस्यसचिव असोज ३ मा सम्पन्न नेपाल क्रिकेट संघ (क्यान) निर्वाचनमा पनि असफल भए । अनुकूल उम्मेदवार विनयराज पाण्डेको लज्जास्पद पराजय र क्रिकेटको निलम्बन फुकुवा प्रक्रियामा भइरहेको ढिलाइ पनि उनको असफलता हो ।


यावत् कमजोरी र प्रतिकूलताबीच पनि सदस्य–सचिव सिलवालले केही सकारात्मक र दीर्घकालीन महत्त्वका कार्यक्रमको सुरुआत गरेका छन् । शून्यप्रायः रहेको १३ औं साग तयारीलाई धेरै हदसम्म तीव्रता दिएर सकारात्मक सन्देश दिए । राखेप कर्मचारीलाई सुशासन, जिम्मेवारीबोध र उत्तरदायी बनाउने प्रयास सुरु गरेका छन् । राखेपमा त्यसको प्रभाव पनि देख्न थालिएको छ । सदस्य–सचिवले नयाँ आर्थिक वर्षका लागि देशैभरका पूर्वाधार निर्माणको प्रक्रिया भदौदेखि नै सुरु गर्ने कामको सुरुआत गरेका छन् । परिषद्मा ४० वर्षदेखिको बेरुजु अन्त्यका लागि प्रयास सुरु गरेका छन् । राखेपलाई आर्थिक र नीतिगत पारदर्शितामा जोड दिने भन्दै १३ औं साग सम्पन्न भएको एक महिनाभित्र आर्थिक प्रतिवेदन सार्वजनिक गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् ।


१३ औं सागको तयारीका लागि बनेका १५ उपसमितिमा राखेपका पूर्व कर्मचारी, प्रशिक्षकदेखि सदस्य–सचिवसम्मलाई सहभागी गराएर ठूलो अन्तर्राष्ट्रिय प्रतिययोगिताको आयोजनामा एकताको प्रदर्शन देखाउने प्रयत्न गरेका छन् । खेलकुद विकास विधयेक प्रतिनिधिसभाबाट पारित हुन ढिला हुँदा क्षेत्रीय खेलकुद विकास समिति नेतृत्वविहीन भएको अवस्थामा सदस्य–सचिवले नयाँ नियुक्ति रोकेर ऐन कुरेका छन् । सम्भावित विवादलाई ध्यानमा राखेर नयाँ नियुक्ति नगर्ने उनले प्रस्ट पारिसकेका छन् ।


प्रकाशित : आश्विन २८, २०७६ ०८:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?