२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५८७

विशालले जोर्डनसँगको खेल गुमाउने

विनोद पाण्डे

अम्मन, जोर्डन — नेपालका मिडफिल्डर विशाल राईले विश्वकप फुटबल छनोट र एसियन छनोट जोर्डनसँगको खेल गुमाउने भएका छन् । नेपालले विश्वकप छनोटमा मंगलबार अम्मन अन्तर्राष्ट्रिय रंगशालामा आफ्नो चौथो खेलमा जोर्डनको सामना गर्दैछ ।

विशालले जोर्डनसँगको खेल गुमाउने

बिहीबार क्यानबेरामा अस्ट्रेलियासँग छनोट खेल्नेक्रममा विशाललाई चोट लागेको थियो । अन्तिम २० मिनेट जस्तो खेल बाँकी रहेको अवस्थामा विशाललाई पिडौंलामा चोट लागेको थियो र ८० औं मिनेटमा उनको स्थानमा सन्तोष तामाङ मैदान प्रवेश गरेका थिए ।


नेपालका प्रशिक्षक जोन कालिनले विशालले जोर्डनसँगको खेल गुमाउने निश्चित गर्दै कति समयका लागि खेल्न नसक्ने भएको स्पष्ट भइनसकेको जनाए । उनको स्थानमा कसलाई खेलाउने भनेर आफूले निर्णय गरिनसकेको भनेर कालिनले नेपाली टोलीको रणनीति गोप्य राख्न चाहे ।


विशालले कम्तीमा दुई साता खेल्न नसक्ने सम्भावना रहेको छ । नेपाल फर्केर एमआरआई गरेपछि आफ्नो चोटको बारेमा पूर्ण थाहा हुने विशाल बताउँछन् । नेपाली टोली अस्ट्रेलिया उड्नु अघि नै विशाललाई पिडौंलामा चोट लागेको थियो ।


त्यसका बाबजुद प्रशिक्षक कालिनले उनीप्रति विश्वास देखाउँदै अस्ट्रेलिया लगेका थिए । नेपाली टोलीले सिड्नीमा रहेर अभ्यास गरेको थियो । विशालले अन्तिम ३ दिन प्रशिक्षण गरेर अस्ट्रेलियासँगको खेलबाट प्रभावित पारेका थिए ।


२०१३ मा भारतसँग गुवाहटीमा भएको विश्वकप छनोटबाट मनाङ मर्स्याङ्दी क्लबका मिडफिल्डर नेपाली राष्ट्रिय टोलीमा आएका थिए । उनले डेब्यु भने त्यसको अर्को वर्ष भारतसँगै पुनामा भएको मैत्रीपूर्ण अन्तर्राष्ट्रिय खेलबाट गरेका थिए । त्यसयता उनले नेपालको जर्सी लगाएर तीन गोल गरिसकेका छन् ।

प्रकाशित : आश्विन २७, २०७६ १५:०४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?