त्यो ९ गोलको झट्का...

८ वर्षपछि नेपाल जोर्डनसँग भेट्दै
राजु घिसिङ

काठमाडौँ — इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हर्टस्परका ‘लिजेन्ड’ ग्राहम राबेर्ट्सले मुख्य प्रशिक्षक भएर सम्हालेको नेपाली टिमलाई त्यतिबेला निकै राम्रो मानिएको थियो । उनले आफ्ना रक्षापंक्तिलाई ‘विश्व स्तरीय’ भन्ने गर्थे । तर, नेपाली टिम अम्मान अन्तर्राष्ट्रिय रंगशालामा जोर्डनविरुद्ध  (जुलाई २३, २०११) निरीह बन्यो । ९-० ले खेल हार्‍यो । टिमको तयारी र प्रशिक्षक-खेलाडीको आत्मविश्वासको आधारमा ‘कल्पना बाहिर’ को नतिजा थियो त्यो ।

त्यो ९ गोलको झट्का...

प्रशिक्षक रोबर्ट्सले काठमाडौं फर्केपछि आफ्नो ‘वर्ल्ड क्लास’ डिफेन्सलाई लिएर ‘नो गुड’ मात्रै भने । थप प्रतिक्रिया दिन चाहेनन् । खेलाडीहरू पनि चुपचाप नै रहे ।


त्यो टोलीका कप्तान थिए, सागर थापा । अम्मानमा ९ गोल बेहोरेको ५ दिनभित्रै नेपालले त्यही जोर्डनी टिमलाई दशरथ रंगशालामा १-१ को बराबरीमा रोकेको थियो । त्यो (अम्मान) खेलको आधारमा यो (काठमाडौं) को नतिजा पनि सोच बाहिरकै थियो । विश्वकपमा छनोट हुने योजना बनाएको टिमलाई बराबरीमा रोकेपछि कप्तान थापाले भनेका थिए, ‘हामीले मात्रै होइन, मातृभूमिको माटोले हाम्लाई पनि चिन्दोरहेछ ।’


जोर्डनविरुद्ध ती दुवै खेल विश्वकप २०१४ छनोटको प्ले-अफ (दोस्रो चरण) थियो, जसको लागि नेपाली टिम दुई लेगमा इस्ट टिमोरलाई ७-१ ले हराएर योग्य भएको थियो । अक्टोबर २३ (अम्मान) र २८ (काठमाडौं) मा भएका दुवै खेलमा पूरा समय गोलपोस्ट सम्हाल्ने काम गरेका थिए, किरण चेम्जोङले ।


टोलीका कप्तान सागर, उपकप्तान सन्दीप राई, डिफेन्डर विकाससिंह क्षेत्री, गोलकिपर रितेश थापा, पूर्व खेलाडी अन्जन केसीमाथि खेलमिलेमतोको आरोपमा एसियाली फुटबल महासंघ (एएफसी) ले आजीवन प्रतिबन्ध लगायो । सागरपछि ‘आर्मब्यान्ड’ लगाएका अनिल गुरुङले संन्यास लिए अनि कप्तान बनेका विराज महर्जन अहिलको टिममा अटाएनन् । त्यसैले यो विश्वकप २०२२ छनोटमा नेपाली टिमको कप्तानी गर्ने अवसर पाएका छन् किरणले ।


‘पहिलेको टिम राम्रै थियो । अनुभवी खेलाडीको टिम थियो । हामी एक-दुई जना मात्रै जुनियर थियौं,’ आठ वर्षअघिको टिमको प्रदर्शनबारे गोलकिपर किरणले खासै सम्झन चाहेनन्, ‘म आफैं अपरिपक्व थिएँ । खेल्न पाए हुन्थ्यो भन्ने थियो, त्यसैमा खुसी थिएँ । धेरै कुरा याद छैन ।’ वर्षामा रुझ्दै दशरथ रंगशालामा सन्तोष साहुखलको लोभलाग्दो पासमा भरत खवासको गोलले जोर्डनलाई १-१ मा रोकेको खेलबारे उनले भने, ‘घरेलु मैदानमा राम्रै खेल्यौं । हामीलाई मौसमले साथ दियो । वर्षाले जोर्डनलाई अप्ठ्यारो बनायो, हामीलाई साथ दियो ।’


नेपालले फेरि विश्वकप छनोटमा जोर्डनको सामना गर्दै छ । जोर्डनको घेलु मैदानमा प्रतिस्पर्धा गर्न नेपाली टिम शनिबारै अस्ट्रेलियाको सिड्नीबाट अम्मान पुगिसकेको छ । र, त्यही ९-० ले हारेको मैदानमै नेपालले आठ वर्षपछि उस्तै बलियो अरब मुलुकविरुद्ध मंगलबार प्रतिस्पर्धा गर्दै छ । अम्मान पुगेको नेपाली टिमका सबैभन्दा सिनियर खेलाडी हुन् किरण । उनले ६२ क्याप जितेका छन् । एक खेल कम खेलेका छन् रोहित चन्दले । अहिले अम्मान पुगेको नेपाली टिममा ५० बढी खेलेका खेलाडी यी दुईमात्रै हुन् । त्यसैले किरण भन्छन्, ‘यो टिम नराम्रो छैन । युवा खेलाडी बाहुल्य छ । नयाँ खेलाडी धेरै छन् ।’


किरणसँगै रोहितले जोर्डनविरुद्ध दुवै खेल पूरा समय खेलेका थिए । त्यतिबेला रोहित सेन्टर-ब्याकमा खेल्थे, अहिले अगाडि बढेका छन् मिडफिल्डमा । विंगर सुजल श्रेष्ठ अम्मान पुगे पनि मैदानमा ओर्लन पाएका थिएनन् । उनी स्वदेशको बराबरी खेलमा भने जगजित श्रेष्ठको स्थान लिँदै ७७ औं मिनेटमा मैदानमा प्रवेश गरेका थिए ।


किरण, रोहित र सुजलबाहेक अहिलेका बाँकी २० खेलाडीको लागि नयाँ प्रतिद्वन्द्वी हो जोर्डन । नेपाली टिम पाँचपल्ट विश्वकप खेलेको अस्ट्रेलियाविरुद्ध बिहीबार क्यानबेरामा ५-० ले हारेपछि उतैबाट अम्मान लागेको हो ।


एसियन कप २०२३ को छनोटको रूपमा पनि रहेको यस विश्वकप छनोटको पहिलो खेलमा नेपालले कुवेतमा ७-० को अनपेक्षित हार बेहोरेको थियो । त्यसपछि नेपालले चाइनिज ताइपेईलाई ताइवानमै २-० ले पराजित गर्‍यो । ‘होम एन्ड अवे’ को आधारमा भइरहेको छनोटमा बिदेशी भूमिको अन्तिम खेलको लागि नेपाली टिम जोर्डन पुगेको हो ।


मैदानको असर

२०७२ वैशाख १२ को महाभूकम्पयता नेपाली टिमको नियमति अभ्यास गर्ने स्थान हो सातदोबाटोस्थित एन्फा कम्प्लेक्स । यहाँ अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) ले दिएको ‘आर्टिफिसियल टर्फ’ बिछ्याइएको छ । यसैमा हुन्छ नेपाली टिमको तयारी ।

‘हामीले आर्टिफिसियल टर्फमा अभ्यास गर्‍यौं । विश्वकप छनोट घाँसे मैदानमा खेल्नुपर्छ, खेलिरहेका छौं । त्यसैले हामीलाई मैदानले पनि प्रदर्शनमा धेरै फरक पारिरहेको छ,’ कप्तान किरणले अम्मानबाट भने, ‘मैदानअनुसार बलको गति नै फरक हुन्छ ।


आर्टिफिसियल टर्फको तुलनामा घाँसे मैदानमा बलको गति एकदमै तीव्र हुन्छ । यस्तोमा खेल्न हामीलाई गाह्रो भइरहेको छ ।’ नेपाली टिमले दसैंअघि अस्ट्रेलिया पुगेपछि मात्रै घाँसे मैदानमा अभ्यास गर्न थालेको हो । किरणका अनुसार आइतबार अम्मानमा पनि घाँसे मैदानमै एक घण्टा ‘हल्का अभ्यास’ गरियो ।


बलियो प्रतिद्वन्द्वी

फिफा वरीयतामा ६३ स्थानमाथिको प्रतिद्वन्द्वीसँग हुने खेलबारे किरणले भने, ‘जोर्डन बलियो टिम हो । यो छनोटका सबै टिम हामीभन्दा बलिया हुन् । अस्ट्रेलियाविरुद्ध राम्रै भयो । गल्तीहरू सुधार गर्दै जाने हो । खेलमा सबैले जित्नका लागि खेल्छन्, हामी पनि जित्नकै लागि खेल्नेछौं ।’


वरीयतामा ११७ स्थानमाथिको अस्ट्रेलियाविरुद्ध ५-० को हारबारे किरणले भने, ‘इंग्लिस प्रिमियर लिग, जर्मन बुन्डेसलिगाका खेलाडीहरू रहेको टिमविरुद्ध हाम्रो पहिलो अनुभव हो । त्यसैले अस्ट्रेलियाविरुद्ध यत्तिको संघर्ष गर्नु राम्रै हो । मैले अझै राम्रो गरेको भए नतिजा अझै राम्रो आउन सक्थ्यो भन्ने लागिरहेको छ । घरेलु मैदानमा योभन्दा राम्रो नतिजा निकाल्नसक्छौं भन्ने आस छ ।’


कुवेत सिटीमा बेहोरेको ७-० को नसोचिएको नतिजाबारे उनी बोले, ‘हाम्रो टिम राम्रै छ । कुवेत गएको टिम नराम्रो होइन । मलाई ‘ग्रिप’ लिन पनि गाह्रो भएको थियो । मौसम (गर्मी) को कारण पनि खेल्न नसकेजस्तो लाग्यो । हाम्रो त्यही टिमले चाइनिज ताइपेईलाई पराजित गर्‍र्यौं । अस्ट्रेलियामा जुझारु खेल देखायौं ।’ उनले अम्मानको मौसमबारे भने, ‘औसत तापक्रम ३०-३१ डिग्री सेल्सियस रहेछ र यो नेपालकै जस्तो मौसम हो । हाम्रो खेल साँझ हुँदै छ । त्यसैले मौसमले जोर्डनविरुद्ध असर गर्ने छैन ।’


साउदी अरेबिया, इरान र कतारी लिगका अनुभवी खेलाडी समावेश जोर्डनी टिमले बिहीबार कुवेतविरुद्ध गोलरहित खेलेको थियो । उसले छनोटको पहिलो खेलमा ताइवानमा २-१ को जित निकाल्न निकै संघर्ष गरेको थियो । तर, सन् २०१२-१६ मा बेल्जियमका व्यवस्थापक मार्क विल्मोट्सका सहायक रहेका भिटाल बोर्कलम्यान्सले सम्हालेको जोर्डनी टिम नेपालका लागि निकै बलियो प्रतिद्वन्द्वी हो । जोर्डनलाई अस्ट्रेलियाजत्तिकै राम्रो मानिँदैन । तर, जनवरीमा भएको एसियन कपमा जोर्डनले अस्ट्रेलियालाई १-० ले हराएको थियो ।


अर्को एसियाली महारथी साउदीलाई अगस्टमा भएको पश्चिम एसियाली च्याम्पियनसिपमा ३-० ले पराजित गरेको जोर्डन उच्चस्तरकै टिम हो । जोर्डनी टिमविरुद्ध पनि नेपालका प्रशिक्षक योहान कालिनले रक्षात्मक खेलमै जोड दिन सक्छन् ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?