२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९८

साफ यू-१५ फुटबल : नेपाल जितविहीन

कान्तिपुर संवाददाता

काठमाडौँ — साफ यू-१५ महिला फुटबल प्रतियोगितामा नेपाल जितविहीन हुँदै घर फर्किने भएको छ । लिग चरणमा यसअघिका दुवै खेलमा पराजित हुँदै प्रतियोगिताबाट बाहिरिइसकेको नेपाली टिम आइतबार घरेलु टोली भुटानसँग १-१ गोलको बराबरीमा रोकिएको थियो ।

साफ यू-१५ फुटबल : नेपाल जितविहीन

साबिक विजेता भारत, पहिलो संस्करणको विजेता बंगलादेशसहित ४ टोलीसम्मिलित प्रतियोगितामा नेपाल तेस्रो भएको छ । राउन्ड रोबिन लिग प्रणालीमा खेलाइएको खेलमा जितविहीन रहँदै १-१ अंक जोडे पनि नेपालले गोलअन्तरमा भुटानलाई पछि पारेको हो ।

सन् २०१७ को पहिलो संस्करणमा पनि चार टिमको सहभागिता थियो । त्यतिबेला पनि नेपालले जित निकाल्न सकेको थिएन । तर गत संस्करणमा भने समूह ‘बी’ को उपविजेता बन्दै नेपाल सेमिफाइनल पुग्दा भारतसँग पराजित भएको थियो । यसपल्ट नेपालको प्रदर्शन खस्किएको थियो । यसअघि पहिलो खेलमा भारतसँग ४-१ ले पराजित भएको नेपाली टोली दोस्रो खेलमा बंगलादेशसँग २-१ ले स्तब्ध भयो ।

आइतबार चाङलीमिन्थाङ रंगशालामा पहिलो हाफ गोलरहित बराबरी खेलेको नेपालले दोस्रो हाफको सुरुमै अग्रता बनाएको थियो । ५० औं मिनेटमा निकिता थोकरले गोल गरेकी थिइन् । नेपालको अग्रता धेरैबेर टिकेन । ६७ औं मिनेटमा भुटानकी देकी इहाजोमले बराबरी गोल फर्काइन् । त्यसयता दुवै टिमले गोल गर्न सकेन ।

प्रतियोगिताको उपाधिका लागि भारत र बंगलादेश मंगलबार भिड्नेछन् । लिग चरणको अन्तिम खेलमा यी दुई टोलीले १-१ गोलको बराबरी खेले । गोलअन्तरका आधारमा भारत शीर्ष र बंगलादेश दोस्रो स्थानमा रहँदै फाइनलमा पुगेका हुन् ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:१७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?