विदेशमा खेल्ने सपना अधुरै

एलपी देवकोटा

जुम्ला — गुठीचौर गाउँपालिका-३ का १४ वर्षे ईश्वर बुढा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा भाग लिन कात्तिक १ मा थाइल्याण्ड जाने अन्तिम तयारीमा थिए । उनले त्यसका लागि आवश्यक अभ्याससमेत गरिरहेकै थिए । तर प्रशिक्षण लिएर घर फर्कने क्रममा भालुले आक्रमण परेपछि उनको थाइल्यान्ड जाने सपना अधुरै बनेको छ । 

विदेशमा खेल्ने सपना अधुरै

दसैं विदामा पनि तेक्वान्दोको प्रशिक्षण लिइरहेका ईश्वर घर फर्कने क्रममा भालुको आक्रमणमा परेका हुन् । भालुको आक्रमणबाट उनको बायाँ हात ५ ठाउँमा भाँचिएको छ । ‘प्रशिक्षण लिएर दसैं मनाउन घर जाने क्रममा भालुले लखेट्यो,’ उनले भने, ‘जति कोसिस गरे पनि बच्न सकिएन । अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्ने सपना तुहिएको छ ।’


उनीमाथि आक्रमण भएपछि गुठीचौर गाउँपालिकाको झारज्वाला गाउँमा भालुको त्रास फैलिएको छ । उनीसँगै स्थानीय ५ जना भालुको आक्रमणबाट घाइते भएका छन् ।


विभिन्न प्रतियोगितामा स्वर्ण पदक हात पारेपछि पहिलोपल्ट अन्तर्राष्ट्रिय प्रतियोगितामा भाग लिन जाने अवसर पाएका थिए उनले । ‘थाइल्यान्ड जानका लागि सबै तयारी पूरा भइसकेको थियो,’ उनले भने, ‘दसैं मनाएर कात्तिक १ गते घरबाट हिँड्ने सुरसारमा थिएँ, आक्रमणपछि सबै सपना चकनाचूर भयो ।’


सल्यान, काठमाडौ र सुर्खेतमा आयोजना गरिएको प्रतियोगितामा पदक जितेपछि ईश्वरको थाइल्यान्ड जाने ढोका खुलेको हो । उनका अनुसार कात्तिक ६ देखि थाइल्यान्डमा नवौं अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगिता-२०१९’ हुँदै छ । उनी ३४ केजी तौललाई छनोट भएका थिए ।


‘पहिलो अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागी भएर पदक जित्छु भन्ने धोको थियो,’ उनले भने, ‘त्यसका लागि प्रशिक्षण र अभ्यास पनि नियमित गरेको थिएँ । तर, मेरा लागि त्यो प्रतियोगिता पहिलो गाँसमै ढुंगा बन्यो ।’ नेपालबाट उनीसहित ५ खेलाडी थाइल्यान्ड जाने तय थियो ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:१४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भए पनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाइप्रति तपाईंको के टिप्पणी छ ?