२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

भारतको कीर्तिमानी टेस्ट जित

एएफपी

पुने — उमेश यादवको प्रभावशाली बलिङप्रेरित भारतले दक्षिण अफ्रिकालाई आइतबार दोस्रो टेस्टमा एक इनिङ्स र १ सय ३७ रनले पराजित गरेको छ । यो घरेलु मैदानमा भारतको लगातार ११ औं शृंखला जित हो । 

भारतको कीर्तिमानी टेस्ट जित

फलोअन गर्न बाध्य दक्षिण अफ्रिका चौथो दिन अन्तिम सत्रमा १ सय ८९ रन बनाएर अलआउट भयो । यससँगै भारतले तीन टेस्टको शृंखलामा २-० को अग्रता पनि लिएको छ । भेर्नोन फिलान्डर र केशव महाराजले आठौं विकेटमा ५६ रनको साझेदारी गरेका थिए । त्यसले भारत जितका लागि केही समय कुर्न बाध्य भएको थियो ।


फिलान्डरले ३७ र केशवले २२ रन बनाए । उमेशले फिलान्डरको विकेट लिएपछि भारत जित नजिक पुगेको हो । उनले आफ्नो तेस्रो विकेटका रूपमा कागिसो रबाडालाई आउट गरे । रवीन्द्र जडेजाले केशवलाई एलबीडब्लू धरापमा पारेपछि भारतको जित औपचारिकता पूरा भएको थियो । रबाडाले ४ रन बनाए । जडेजाले ५२ रनमा ३ विकेट लिए । यससँगै भारतले अस्ट्रेलियाको नाममा रहेको १० घरेलु शृंखला जितलाई उछिनेको छ ।


यस्तै भारतले यो जितपछि विश्व टेस्ट च्याम्पियनसिपको शीर्षस्थानमा आफ्नो पकड बलियो बनाएको छ । भारतको २ सय अंक भएको छ । कप्तान विराट कोहलीले पहिलो इनिङ्समा नटआउट २ सय ५४ रन बनाएर जितको आधार तयार पारेका थिए । यो उनको कीर्तिमान सातौं दोहोरो शतक रह्यो । भारतले त्यसै प्रदर्शनको मदतमा पहिलो इनिङ्समा ५ विकेट गुमाएर ६ सय १ रनको विशाल स्कोर खडा गरेको थियो । चौथो दिन दक्षिण अफ्रिकाले ३ सय २६ रनले पछाडि रहेको स्थितिबाट खेलेको थियो ।


बिहानीसत्रमा रविचन्द्रन अश्विनले २ विकेट लिएर दबाब सिर्जना गरे । अश्विनले फाफ डु फ्लेसिसलाई ५ रनमा आउट पारे । कप्तानले टिमको ब्याटिङक्रम परिवर्तन गर्दै माथि आएर ब्याटिङ गरे, तर खासै योगदान दिन सकेनन् । उनी विकेटकिपर रिद्धिमान शाहद्वारा समातिए । अफ स्पिनर अश्विनले ४८ रन बनाएका डिन एल्गरलाई पनि ४८ रनमा आउट पारे ।


यसपछि दक्षिण अफ्रिका हारको संघारमा धकेलिएको थियो । पेसम्यान इशान्त शर्माले दिनको दोस्रो बलमै एडेन मारक्रमलाई एलबीडब्लू आउट गरे । मारक्रमले एल्गरसँग रिभ्यु लिने वा नलिनेबारे लामो छलफल गरे पनि लिएनन् । तर भिडियो रिप्लेमा बल स्टम्पलाई नछोएर बाहिरिएको देखिएको थियो । भारतको ठूलो स्कोरसामु दक्षिण अफ्रिका आफ्नो पहिलो इनिङ्समा राम्रो गर्न असफल रह्यो र २ सय ७५ रन बनाएर अलआउट भएको थियो ।


त्यतिबेला दक्षिण अफ्रिका फलोअनबाट जोगिन १ सय २७ रन पछाडि थियो । पूरा टेस्ट भने कोहलीको म्याराथन ब्याटिङका लागि सम्झिने छ । यसक्रममा उनले डन ब्रेडम्यानको ६ हजार ९ सय ९६ रनलाई उछिनेका थिए । उनले ८१ टेस्टमा ७ हजार ५४ रन जोडेका छन् । उनले त्यसक्रममा पाँचौं विकेटमा जडेजासँग २ सय २५ रनको साझेदारी गरेका थिए । तेस्रो तथा अन्तिम टेस्ट राँचीमा अक्टोबर १९ देखि हुनेछ ।

प्रकाशित : आश्विन २७, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कक्षा १ मा भर्ना भएकामध्ये ५० प्रतिशत विद्यार्थी मात्र एसईई परीक्षामा सहभागी हुन्छन् । विद्यालय शिक्षा पुरा नहुँदै विद्यार्थी पलायन हुनेक्रम रोक्न के गर्नुपर्छ ?