३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७९५

रञ्जनाको फुटबल मोह : चिया श्रमिकदेखि एपीएफकी कप्तानसम्म

विप्लव भट्टराई

(इलाम) — सीमापारि दार्जिलिङको ओकाइटी चिया बगानमा आमासँगै हरियो चियापत्ति टिप्ने रञ्जना (पप्पु) दर्जीको फुटबलमोह गज्जब थियो । सानैमा बुवा गुमाएकी निम्न आयस्तरकी उनीसँगै स्कुलेजीवनमा नै चियाको मुना केलाउनुको विकल्प थिएन । केटीले फुटबल खेल्नु हुँदैन भन्ने मान्यता बोकेकै समाजमा हुर्किएकी रञ्जनाले मनोरन्जनका लागि १२ वर्षको उमेरदेखि फुटबल खेल्न थालिन् ।

रञ्जनाको फुटबल मोह : चिया श्रमिकदेखि एपीएफकी कप्तानसम्म

सूर्योदय नगरपालिका ५ समालवुङमा जन्मिएर स्कुले जीवनदेखि नै फुटबलप्रति रुचि बढाएकी उनलाई अहिलेको स्थानमा पुग्छु भन्ने लागेको थिएन । तर गाउँबाट जिल्ला हुँदै महिला फुटबलको पावरहाउस मानिने तीन विभागीय टिममध्ये एपीएफ क्लबमा अनुबन्ध भएपछि भने उनलाई फुटबलले नयाँ जीवन दिनुका साथै उर्जा थप्यो ।


फुटबल खेल्ने उपयुक्त उमेर पार लगाउँदै गरेकी रञ्जनाको उद्देश्य चौथोपल्ट राष्ट्रिय टोलीमा स्थान बनाउने छ । सन् २०१०, ०११ र ०१८ मा राष्ट्रिय टिमबाट खेलेकी सेन्ट्रल डिफेन्डर रञ्जनालाई पुन: एकपल्ट साफ फुटबलमा नेपालको इज्जत बढाउने धोको छ । उनले यहाँसम्मको यात्रा गर्नेक्रममा भोगेका समस्या र संघर्ष भने कम प्रेरणादायी छैनन् । भारतको दार्जिलिङ सीमावर्ती उनको गाउँ फिक्कलबाट करिब २० किलोमिटर मात्र टाढा । यातायातको सहज पहुँच पनि पुगेकै ठाउँ हो त्यो । तर उनको फुटबल खेल्ने चाहनामा साथ दिनेहरू कमै भेटिन्थे । ‘घरछेउमा सानो भए पनि ग्राउन्ड थियो तर खेल्ने साथी थिएनन्,’ उनले फुटबल सुरु गर्दाको क्षण सम्झिइन्, ‘केटी साथी नभएकाले केटासँगै खेल्ने र प्रतियोगितामा सहभागितासमेत जनाउने गरेकी थिएँ ।’


केटासँग फुटबल खेल्दा अरुले जे जसो भने पनि आमाले कहिल्यै रोकिनन् । १० वर्षको बालापनमा नै बावु गुमाएकी उनलाई आमाले बनिबुतो गरेर भए पनि इच्छा पूरा गर्न सहयोग गरेको भुल्न सक्दिनन् । १२–१३ वर्षको उमेरमा बिहान ४ बजे आमाले बनाइदिएको ५ केजी बालुवा भरेको ब्याग बोकेर ५ किलोमिटरभन्दा परसम्म दौडन्थिन् । निरन्तर अभ्यास गरे पनि जिल्लामा महिला फुटबल प्रतियोगिता नहुँदा भने उनी निराश हुन्थिन् । १५ वर्ष पुग्दा नपुग्दै उनी पहिलोपल्ट खेलाडीको रूपमा मैदान उत्रेर उपाधि जितिन् । ‘फिक्कलको पान्दाममा महिला फुटबल हुँदै गरेको थाहा पाएपछि अन्तुकी कला राईको टिमबाट पहिलोपल्ट महिला प्रतियोगितामा भाग लिएँ,’ उनले स्मरण गरिन्, ‘स्ट्राइकरको भूमिकामा टिमलाई जित दिलाउनुका साथै उत्कृष्ट खेलाडी घोषित हुँदा फुटबलमा केही गर्न सकिन्छ कि भन्ने हिम्मत जाग्यो ।’


त्यसपछि हरेकजसो प्रतियोगितामा उनको उपस्थिति नियमित रह्यो । जिल्लाको प्रतियोगितामा यस्तो छाप बनाइन् कि उनको टिमविरुद्ध अरु खेल्नै डराउँथे । विभिन्न प्रतियोगितामा पप्पुको खेलकौशल नजर गरिरहेका तत्कालीन फुटबल प्रशिक्षक दर्शन भक्तराजले उनलाई जिल्ला छनोटमा स्ट्राइकरको भूमिका दिए । टिममा पर्नेबित्तिकै सन् २००८ मा १० औं राष्ट्रिय महिला फुटबल महेन्द्रनगरमा हुने निश्चित भएपछि उनी कडा मिहिनेत गर्न थालिन् ।


एपीएफ, आर्मी र पुलिसजस्ता विभागीय टिमसम्मिलित प्रतियोगितामा पीएलए, रौतहट, काठमाडौं जस्ता बलिया टोलीलाई हराउँदै फाइनलमा एपीएफसँगको भेट पक्का गरेको थियो इलामले । अनु लामा, जमुना गुरुङ, चन्द्रा राई, प्रमिला राई, अम्बिका दाहालजस्ता नियमित प्रशिक्षण गरिरहेका खेलाडीसम्मिलित एपीएफसँग ६–० ले पराजित बन्दै इलाम टिम उपविजेतामा सीमित भयो । तर रञ्जनाको खेलको सबैतिर चर्चा भयो । उनी भन्छिन्, ‘फराकिलो हार बेहोर्‍यौं तर मेरो प्रदर्शन धेरैले मन पराएको पाएँ ।’ महेन्द्रनगरमा उत्कृष्ट खेल पस्कँदै टिमलाई उपविजेता बनाएपछि उनीमाथि विभाागीय टिमको नजर पर्न थाल्यो । तत्कालीन पीएलए टिमले त आर्कषक सुविधा दिने भन्दै बोलायो । २०६५ चैत २४ देखि ३० सम्म काठमाडौंमा सम्पन्न पाँचौं राष्ट्रिय खेलकुदको फाइनलमा अनु लामा र जमुना गुरुङले गोल गरेपछि उनीसम्मिलित पूर्वाञ्चल टिम ४–० ले एपीएफसँग पराजित बन्यो । पूर्वाञ्चल फाइनल पुगेसँगै एपीएफले अनुबन्धनका लागि रञ्जनालाई प्रस्ताव गर्‍यो । जागिरसमेत पाइने भएपछि उनी आफ्नो भविष्यका लागि एपीएफसँग अनुबन्ध भइन् ।


दक्षिण एसियाली खेलकुदको पहिलोपल्ट महिला फुटबल समावेश हुने भएपछि नेपालले समेत आफ्नो टिम तयार गर्न सुरु गर्‍यो । १० वर्षसम्म निस्क्रिय रहेको नेपाली महिला टिम पुन: जुर्मुरायो । सोही बेला रञ्जना राष्ट्रिय टिममा पर्न सफल भइन् । ‘जिल्ला टिम र पूर्वाञ्चल टिममा हुँदाखेरि नै देखाएको प्रदर्शनले होला एपीएफबाट डेब्युसमेत नगरी राष्ट्रिय टिममा परें,’ उनले सुनाइन् । फेब्रुअरी २, २०१० उनको जीवनकै अमूल्य क्षण बन्यो । पहिलोपल्ट उनले नेपाली राष्ट्रिय टोलीको जर्सी लगाएर मैदान छिर्ने अवसर पाइन् । श्रीलंकाविरुद्धको त्यो खेलमा नेपालले स्पष्ट अग्रता बनाएको बेला उनी टोलीकी भरपर्दी स्ट्राइकर अनु लामाको स्थानमा मैदान छिर्दै राष्ट्रिय टोलीमा डेब्यु गरिन् । डेब्यु क्षण सम्झँदै उनी भन्छिन्, ‘हामीले स्पष्ट जित निकालेका थियौं त्यसैले मैदान छिर्दा खासै डर लागेन ।’ त्यो खेलमा नेपालले ८–१ ले जित निकालेको थियो । समूह चरणको अन्तिम खेलमा पाकिस्तानविरुद्ध अनुकै स्थानमा प्रवेश गर्दै एक गोल गरेपछि नेपालले ७–० ले जित निकालेको रञ्जना बताउँछिन् । विजेता बनेसँगै उनको गृहजिल्लामा भव्य सम्मान भयो । साथै एपीएफले उनीसहित ७ जनालाई बढुवासमेत गर्‍यो ।


दोस्रो साफ महिला च्याम्पियनसिपमा पनि खेलिन् । तेस्रो साफ २०१४ मा भने उनी सहभागी हुन पाइनन् । त्यो फुटबल करिअरमै उनलाई अमिलो लागेको क्षण थियो । चौथो साफमा पनि उनले सहभागिता जनाइन् । ६ वर्षपछि राष्ट्रिय टिममा पुनरागमन गर्दै यसै वर्ष उनी म्यानमारमा भएको सन् २०२० मा हुने ओलम्पिकका लागि एसियाली छनोटको २० सदस्यीय नेपाली टोलीमा परिन् तर मैदान उत्रन पाइनन् ।


स्ट्राइकरबाट सुरु उनको फुटबल यात्रा अहिले सेन्ट्रल डिफेन्समा पुगेको छ । होचो कदकी उनी क्लब र राष्ट्रिय टिममा डिफेन्सिङ लाइन सम्हाल्छिन् । ओलम्पिकको छनोटको दोस्रो चरण पुग्नु सबैभन्दा खुसीको क्षण लागेको उनी सुनाउँछिन् । २९ वर्षीया उनले सन् २०१८ जनवरीदेखि आठौ राष्ट्रिय खेलकुदअघिसम्म विभागीय टिमको नेतृत्व सम्हाल्ने अवसर पाइन् । तत्कालीन कप्तान सजना राना मगर वैदेशिक रोजगारीका लागि दुबई गएपछि टिम सम्हाल्ने जिम्मा रञ्जनाको काँधमा आयो । तर लामो समयको इन्ज्युरीपछि अनु लामा टिममा कम्ब्याक भएपछि उनले कप्तानी छाडेकी हुन् ।


आठ वर्ष एपीएफ खेलाडीको रूपमा रहेकी उनको कप्तानी डेब्युसमेत सनसनीपूर्ण थियो । १६ औं राष्ट्रिय महिला फुटबल २०७४ को उपाधि एपीएफले जित्दा उनकै कप्तानी थियो ।


त्यसलगत्तै फागुनमा मैत्रीपूर्ण खेलका लागि हङकङ पुगेको एपीएफको टोलीको नेतृत्व पनि उनले गरेकी छन् । फिफा वरीयताक्रममा नेपालभन्दा माथि रहेको हङकङको टोलीलाई एपीएफले ३–१ ले हराएको थियो ।


सरकारले महिला तथा पुरुष फुटबललाई हेर्ने दृष्टिकोण परिर्वतन नभएसम्म फुटबलले गति लिन नसक्ने अरु महिला फुटबलर जस्तै उनको पनि अनुभव छ । ‘पहिलाभन्दा अहिले केही सुधार छ तर महिला टिमलाई अझै अवसर कमै छ,’ उनले भनिन् ।


प्रकाशित : आश्विन २६, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?