१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

२ घण्टा कममा म्याराथन पूरा

‘सुपर ह्युमन’ केन्याका धावक एलिउड किपचोगेल
(एएफपी)

भियाना — केन्याका एलिउड किपचोगेले शनिबार इतिहास कायम गरेका छन् । अस्ट्रियाको विशाल भियाना पार्कमा उनले म्याराथनमा दुई घण्टाको समयसीमा तोडेर करिअरकै ‘सर्वश्रेष्ठ क्षण’ को आनन्द उठाएका छन् । १ घन्टा ५९ मिनेट ४०.२ सेकेन्डको टाइमिङसाथ यी ओलम्पिक च्याम्पियनले २ घण्टाभन्दा कम समयमा म्याराथन कोर्स पूरा गर्न सम्भव बनाइदिए । 

२ घण्टा कममा म्याराथन पूरा

‘म आजको सबैभन्दा खुसी व्यक्ति हुँ । मैले सबैको दिमागका कुनै पनि मानिसमा सीमितता हुँदैन भनेर सन्देश दिएको छु,’ द इनेओस १:५९ च्यालेन्ज नाम दिइएको रेस पूरा गरेपछि किपचोगेले भने । उनी भविष्यका धावकहरूले पनि आफ्नो पदचाप पछ्याउने अपेक्षा गर्छन् । ‘पहिलो किलोमिटरदेखि नै मैले सहज महसुस गरिरहेको थिएँ । मैले पछिल्लो साढे ४ महिनादेखि यसको तयारी गरिरहेको थिएँ । त्यो भन्दा पनि माथि मैले २ घण्टाभन्दा कम समयमा म्याराथन पूरा गर्ने दृढ संकल्प लिएको थिएँ,’ उनले थपे ।


सेप्टेम्बर १६, २०१८ मा भएको बर्लिन म्याराथन २ घण्टा १ मिनेट ३९ सेकेन्डमा पूरा गरेपछि ३४ वर्षीय किपचोगेले विश्व कीर्तिमान कायम गरेका थिए । उनलाई दौडका क्रममा ४१ पेसमेकर धावकले सहज बनाएको थियो । उनको अगाडि रहेको कारले गति निर्धारण गरिरहेको थियो । किपचोगेले २ वर्षअघि इटलीको मोन्जामा पनि यही लक्ष्यका लागि असफल प्रयत्न गरेका थिए ।


उनले नियमित रुपमा प्रति किलोमिटर २ मिनेट ५० सेकेन्डको समय लिएका थिए । रेस पूरा गर्दै गर्दा उनको अनुहारमा असीमित मुस्कान देखिएको थियो । रेस पूरा गरेपछि उनले भनिहाले, ‘मेरो जीवनकै सबैभन्दा उत्कृष्ठ क्षण’ किपचोगेको यो रेसका लागि बेलायती कम्पनी इनेओसले मुख्य प्रायोजन गरेको थियो । कम्पनीका खर्वपति मालिक जिम र्‍याटफ्लिकको व्यक्तिगत रुचिका कारण यो सम्भव भएको थियो । ‘त्यो अन्तिम किलोमिटरले प्रस्ट पारेको छ कि उनी वास्तवमै ‘सुपर ह्युमन’ हुन्,’ र्‍याटफ्लिकले भने । उनी आफैं आइरनम्यान ट्रायथलनका खेलाडी हुन् । जुन तरिकाबाट यो रेसको आयोजना भएको छ, त्यसै कारणले विश्व एथलेटिक्स महासंघ (आईएएएफ) ले यसलाई विश्व कीर्तिमानको मान्यता दिने छैन । दौडको रुट अनुकूल गरी मिलाइएको थियो । मोडहरूमा भिरालो गरी मिलाइएको थियो, जसले समयको बचत गर्थ्यो भने चोटको सम्भावना पनि कम गर्थ्यो । ४२.१९५ किलोमिटरसम्म नै उनलाई पेसमेकरले साथ दिएको थियो । उनीसँग १५ सय मिटर ओलम्पिक च्याम्पियन म्याथ्यु सेन्ट्रोबीच र पूर्व विश्व च्याम्पियन बर्नाड लागट पनि दौडिएका थिए ।


रेसभर उनलाई समर्थकहरूले हौसला बढाइरहेका थिए । नैरोबीका ३३ वर्षीय विलियम मागाची पनि आफ्ना देशका धावकलाई समर्थन गर्न अस्ट्रिया पुगेका थिए । ‘यो वास्तवमै आश्चर्यजनक छ । किनभने उनी एक सुपर ह्युमन हुन् । सकारात्मक सोचले नै उनले असम्भवलाई सम्भव बनाइदिए,’ उनले भने, ‘यो कीर्तिमानी क्षण हो । मेरो जीवनकालमा यस्तो कहिल्यै देखेको थिइनँ र भविष्यमा पनि देख्न पाउँदिन होला । यसर्थ म भाग्यमानी रहें ।’


विश्वभरका समर्थक उनको दौडको प्रतीक्षामा थिए । यो म्याराथनलाई युट्युब र थुप्रै टेलिभिजन च्यालनबाट प्रत्यक्ष प्रसारण गरिएको थियो । पश्चिम केन्यास्थित केपचोगेको घरेलु सहर एल्डोरेटमा ठूलो स्क्रिनमा प्रत्यक्ष प्रसारण देखाइएको थियो । जहाँ उनका परिवारका सदस्यले पनि हेरेका थिए । उल्लेख्य समर्थकसहित उनकी आमा जानेट रोटिचले पनि दौड हेरेकी थिइन् । ‘म खुसी छु किनभने उसले जित्यो । मलाई र केन्याली जनतालाई खुसी दिएकोमा मेरो छोराप्रति म अनुग्रहित छु,’ उनले भनिन् ।


केन्याका राष्ट्रपति उहुरु केन्याट्टाले पनि ट्वीटरमार्फत केपचोगेलाई बधाई दिएका छन् । ‘तपाईले यसलाई पूरा गर्नुभयो र इतिहास रच्न सक्नुभयो । यो जितले सम्पूर्ण केन्याली जनता गौरवान्वित भएका छन् । यसले केन्याका भावी पुस्ताका लागि पनि प्रेरणा थप्नेछ,’ उनले ट्वीट गरेका छन् ।


किपचोगेले सन् २०१७ को मार्चमा पनि असफल प्रयास गरेका थिए । इटालीको मोन्जा नेसनल अटोड्रोम रेसिङ सर्किटमा उनले २ घण्टा २५ सेकेन्डको टाइमिङ निकालेका थिए । लामो दूरीको दौडको विश्व कीर्तिमान पछिल्लो १६ वर्षयता केन्या र इथियोपियाका घावकहरूको कब्जामा छ । ट्र्याकमा यी दुई देशका धावकहरूबीच कडा प्रतिस्पर्धा हुने गरेको छ । गत महिना सम्पन्न बर्लिन म्याराथनमा किपचोगेको विश्व कीर्तिमान तोड्ने प्रयासमा इथियोपियाका केनसिसा बेकेले मात्र २ सेकेन्डले पछि परेका थिए । उनले २ घण्टा १ मिनेट ४१ सेकेन्डको टाइमिङ निकालेका थिए ।


प्रकाशित : आश्विन २६, २०७६ ०९:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?