नेपाली दर्शकको ओइरो

नारायण खड्का

(अस्ट्रेलिया) — नेपालले विश्वकप २०२२ छनोटमा अस्ट्रेलियाविरुद्ध ५–० को हार व्यहोरेको छ । नेपालले क्यानबेरामा बिहीबार सम्पन्न खेलमा कडा मिहिनेतको बाबजुद १ गोलसमेत फर्काउन सकेन ।

नेपाली दर्शकको ओइरो

अस्ट्रेलियाका तर्फबाट जेमी म्याकलेरनले ह्याट्रिक गरेका थिए भने पहिलोपटक मैदानमा उत्रिएका ह्यारी साउटरले २ गोल गरेका थिए । झन्डै २० हजार दर्शक उपस्थित प्रतिस्पर्धामा नेपालको प्रदर्शन अस्ट्रेलियासामु फितलो देखिएको थियो । अधिकांश समय अस्ट्रेलियाको नियन्त्रणमा रहेको खेलमा नेपालका स्टार खेलाडीहरूले कुनै जादू देखाउन सकेनन् । जीआईओ रंगशालामा करिब ८ हजार नेपाली दर्शक उपस्थिति रहेको थियो ।


अधिकांश समय रक्षामै खर्चिएको नेपाली टोलीले विपक्षी गोलपोस्टमा प्रहार गर्ने अवसर प्राप्त गर्नै सकेन । यद्यपि नेपाली राष्ट्रिय टोलीलाई समर्थन जनाउनका लागि मैदानमा उपस्थित समर्थकहरूले नेपालको खेलको उच्च प्रशंसा गरेका थिए । फिफा वरीयतामा अस्ट्रेलियाभन्दा १ सय १७ स्थानमुनि रहेको नेपालले अपेक्षाभन्दा राम्रो खेल प्रदर्शन गरेको समर्थकको भनाइ थियो ।


नेपाली टोलीले सिड्नीस्थित नाराबियनमा रहेको स्पोर्टस् सेन्टरमा करिब एक साता लामो बन्द प्रशिक्षण गरेको थियो । नेपाली टोलीको खेलमा गोलकिपर किरण चेम्जोङले केही उत्कृष्ट बचाउ गरेका थिए । नेपाली टोलीलाई समर्थन गर्न यहाँस्थित विभिन्न राज्यहरूबाट आएका फुटबलप्रेमीहरूले नेपालले अपेक्षा गरेअनुसार खेल प्रदर्शन गरेको बताए ।


‘हामीले हाम्रो टिमबाट जुन अपेक्षा लिएर खेल हेर्न आएका थियौं, सोहीअनुसारको खेल हेर्न पायौं,’ सिड्नीको डब्बोबाट आएका किशोर थापाले भने, ‘हामीले जित्ने आशा गरेको नभए पनि जुन खेल हाम्रा खेलाडीहरूले देखाएका छन् त्यसबाट हामी सन्तुष्ट छौं ।’


प्रतिस्पर्धाका क्रममा अस्ट्रेलियाले अधिकांश समय बललाई आफ्नो नियन्त्रणमा राख्न सफल बनेको थियो । प्रतिस्पर्धामा फितलो देखिए पनि नेपालका खेलाडीहरूको डिफेन्स ठीकै देखिएको थियो । खेलमा नेपालले एक पहेंलो कार्डको सामना गर्नुपरेको थियो भने खेलको बल पोजेसनमा ७२ प्रतिशतभन्दा बढी अस्ट्रेलियाको नियन्त्रणमा रहेको थियो ।


नेपाली खेलाडीहरूलाई समर्थन गर्नका लागि यहाँस्थित सिड्नी, क्यानबेरा, मेलबर्न, ब्रिसनबनका साथै एडिलेडलगायत सहरहरूबाट दर्शक क्यानबेरा पुगेका थिए । उनीहरूले नेपालको जित हुने अपेक्षा नगरेको भए पनि आफ्नो टोलीले गरेको प्रदर्शनप्रति खुसी व्यक्त गरेका छन् । उनीहरूले उचाइ र शारीरिक बनोटका हिसाबले समेत बलियो रहेका अस्ट्रेलियाका खेलाडीसामु उच्चस्तरको प्रदर्शन गरेको भन्दै नेपाली टोलीहरूको प्रशंसा गरे । अस्ट्रेलियाले खेलाडी इंग्लिस प्रिमियर लिग क्लब ब्राइटन एन्ड आल्बियनबाट खेलिरहेका दुई खेलाडीलाई पनि मैदानमा उतारेको थियो ।


सिड्नीस्थित स्थानीय फुटबल क्लबका खेलाडी अनुज पराजुलीले जित र हार खेलमा हुने भए पनि अस्ट्रेलियाले सोचेजति नतिजा नदिएकोमा नेपाली खेलाडीहरू धन्यवादका पात्र भएको सुनाए । उनले नेपाली टोलीलाई अस्ट्रेलियाजस्तो टिमसँग प्रतिस्पर्धाका गर्नका लागि सरकारले उच्च सुविधा र तालिमको व्यवस्था गर्नुपर्नेमा जोड दिए । नेपाली टोलीलाई यस प्रतिस्पर्धाका लागि तयार गर्ने उद्देश्यका साथ यहाँस्थित नेपाली फुटबल खेलाडीहरूको संस्था एन्फा र एनआरएनको युवा समितिले प्रशिक्षण मैदानका साथै अन्य विभिन्न सुविधा उपलब्ध गराएको थियो ।


प्रकाशित : आश्विन २४, २०७६ १०:३५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?