कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९६

नेपालद्वारा हङकङ ४ विकेटले पराजित

विनोद पाण्डे

काठमाडौँ — विनोद भण्डारीको अविजित अर्धशतकमा नेपालले ओमानमा भइरहेको पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालले आइतबार हङकङलाई ४ विकेटले पराजित गर्‍यो ।

नेपालद्वारा हङकङ ४ विकेटले पराजित

नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङले निर्धारत २० ओभरमा ६ विकेट गुमाई १ सय २५ रन बनायो । विनोदले ४८ बलमा ५८ रन बनाएपछि नेपालले अल अमेरात क्रिकेट मैदानमा एक ओभर अगावै विजय हात पार्‍यो ।

विनोदले ४ चौका र ३ छक्का प्रहार गरे । १९ औं ओभरको पाँचौं बलमा इहसान खानलाई छक्का प्रहार गरेका विनोदले त्यसको अर्को बलमा २ रन प्रहार गर्दै विजय रन बटुलेका थिए । नेपालले सो ओभरमा ११ रन जोडेको थियो । त्यसमा विनोदले १० रन बनाएका थिए । अर्का अविजित ब्याट्सम्यान करण केसीले १ रन बनाए ।

कप्तान पारस खड्कालाई पहिलो गुमाएपछि धरमराएको नेपाली इनिङ्सलाई विनोदले सोमपाल कामीसँग छैटौं विकेटमा ६१ रन जोडेर उकासेका थिए । सोमपालले १३ बलमा २ चौकासहित १३ रन बनाए ।

पारसपछि अर्का ओपनर पवन सर्राफ १०, आरिफ शेख २४, दीपेन्द्रसिंह ऐरी ६ र रोहित पौडेल ५ रनमा आउट भएका थिए । हङकङका केयल क्रिस्टी र नसरुल्ला रानाले २/२ विकेट लिए ।

यसअघि करण केसीले ४ विकेट लिदैं हङकङको इनिङ्स खुम्चाएका थिए । करणले पाँचौं ओभरमा एहनास अब्बास (१३) लाई आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए । करणले सो ओभरमा अर्का ओपनर निजाकत खानलाई २३ र साहिद वासिफलाई शुन्यमा आउट गरे ।

हङकङबाट वकास वरकातले सर्वाधिक ३७ रन बनाए । उनी करणको चौथो शिकार भए । त्यस्तै कप्तान किन्चित शाहले ३१ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए । इहसान १० रनमा अविजित रहे ।

करणले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिएका हुन् । अविनाश बोहराले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए ।

हङकङ शनिबार पहिलो खेलमा आयोजक ओमानसँग ७ विकेटले पराजित भएको थियो । ओमानले आइतबारको अर्को खेलमा आयरल्यान्डलाई ४३ रनले पराजित गर्‍यो ।

नेपालले सोमबार नेदरल्यान्ड्ससँग खेल्ने छ ।


प्रकाशित : आश्विन २०, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुदूरपश्चिममा नेकपा एकीकृत समाजवादी (एस) संघीय सत्ता गठबन्धनभन्दा फरक स्थानमा उभिनुको संकेत के हो ?