नेपालद्वारा हङकङ ४ विकेटले पराजित

विनोद पाण्डे

काठमाडौँ — विनोद भण्डारीको अविजित अर्धशतकमा नेपालले ओमानमा भइरहेको पाँच राष्ट्र सम्मिलित ट्वान्टी २० प्रतियोगितामा विजयी सुरुआत गरेको छ । नेपालले आइतबार हङकङलाई ४ विकेटले पराजित गर्‍यो ।

नेपालले टस जितेपछि ब्याटिङमा आएको हङकङले निर्धारत २० ओभरमा ६ विकेट गुमाई १ सय २५ रन बनायो। विनोदले ४८ बलमा ५८ रन बनाएपछि नेपालले अल अमेरात क्रिकेट मैदानमा एक ओभर अगावै विजय हात पार्‍यो।

विनोदले ४ चौका र ३ छक्का प्रहार गरे। १९ औं ओभरको पाँचौं बलमा इहसान खानलाई छक्का प्रहार गरेका विनोदले त्यसको अर्को बलमा २ रन प्रहार गर्दै विजय रन बटुलेका थिए। नेपालले सो ओभरमा ११ रन जोडेको थियो। त्यसमा विनोदले १० रन बनाएका थिए। अर्का अविजित ब्याट्सम्यान करण केसीले १ रन बनाए।

कप्तान पारस खड्कालाई पहिलो गुमाएपछि धरमराएको नेपाली इनिङ्सलाई विनोदले सोमपाल कामीसँग छैटौं विकेटमा ६१ रन जोडेर उकासेका थिए। सोमपालले १३ बलमा २ चौकासहित १३ रन बनाए।

पारसपछि अर्का ओपनर पवन सर्राफ १०, आरिफ शेख २४, दीपेन्द्रसिंह ऐरी ६ र रोहित पौडेल ५ रनमा आउट भएका थिए। हङकङका केयल क्रिस्टी र नसरुल्ला रानाले २/२ विकेट लिए।

यसअघि करण केसीले ४ विकेट लिदैं हङकङको इनिङ्स खुम्चाएका थिए। करणले पाँचौं ओभरमा एहनास अब्बास (१३) लाई आउट गरी नेपाललाई पहिलो सफलता दिलाएका थिए। करणले सो ओभरमा अर्का ओपनर निजाकत खानलाई २३ र साहिद वासिफलाई शुन्यमा आउट गरे।

हङकङबाट वकास वरकातले सर्वाधिक ३७ रन बनाए। उनी करणको चौथो शिकार भए। त्यस्तै कप्तान किन्चित शाहले ३१ बलमा २ चौका र १ छक्कासहित ३१ रन बनाए। इहसान १० रनमा अविजित रहे।

करणले ४ ओभरमा ३६ रन खर्चेर ४ विकेट लिएका हुन्। अविनाश बोहराले ३ ओभरमा १७ रन खर्चेर १ विकेट लिए।

हङकङ शनिबार पहिलो खेलमा आयोजक ओमानसँग ७ विकेटले पराजित भएको थियो। ओमानले आइतबारको अर्को खेलमा आयरल्यान्डलाई ४३ रनले पराजित गर्‍यो।

नेपालले सोमबार नेदरल्यान्ड्ससँग खेल्ने छ।

प्रकाशित : आश्विन २०, २०७६ ०७:४६
प्रतिक्रिया
पठाउनुहोस्

निवर्तमान सभामुख महरा यौन दुर्व्यवहारको आरोपमा पक्राउ [तस्बिरहरु]

मातृका दाहाल, तस्बिर : अंगद ढकाल

काठमाडौँ — महानगरीय प्रहरी वृत्त बानेश्वरको टोलीले निवर्तमान सभामुख कृष्णबहादुर महरालाई सभामुख निवास बालुवाटारबाट नियन्त्रणमा लिएको छ ।प्रहरी उच्च स्रोतका अनुसार महरालाई सिंहदरबार वृत्तको नियन्त्रण कक्षमा राखिने छ ।

बानेश्वर वृत्तका डीएसपी दुर्गा रेग्मी नेतृत्वको टोली कालो रंगको स्कर्पीयो गाडीमा महरालाई नियन्त्रणमा लिनका लागि सभामुख निवास प्रवेश गरेको थियो।

प्रहरी स्रोतका अनुसार दसैं बिदा परेकोले त्यस अगाडि प्रहरीले मात्रै उनको बयान लिने छ ।


यौन दुर्व्यवहारको आरोप लागेपछि गत सोमबार राजीनामा दिएका निवर्तमान सभामुख कृष्णबहादुर महरालाई पक्राउ गर्न काठमाडौं जिल्ला अदालतले आइतबार पक्राउपूर्जि जारी गरेकोथियो। प्रहरीले नियन्त्रणमा लिएर बायन लिनका लागि सरकारी वकिलसँग सल्लाह गरिरहेको स्रोतले जानकारी दिएको छ।



संसद् सचिवालयमा कार्यरत स्वास्थ्यकर्मी (कर्मचारी) रोशनी शाहीले शनिबार महानगरीय प्रहरी वृत्त बानेश्वरमा आफूमाथि महराले बलात्कार प्रयास गरेको भन्दै किटानी जाहेरी दिएपछि महरालाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन प्रहरीलाई बाटो खुलेको थियो। प्रहरीले शुक्रबार नै पीडित महिलाको स्वास्थ्य परिक्षण गराइसकेको छ भने उनको कोठाबाट प्राप्त प्रमाणहरुको पनि फोरेन्सिक जाँच गरिसकेको छ।


दुवैको रिपोर्ट आएनआएको बारे भने कुनै जानकारी दिइएको छैन। रोशनीले स्वास्थ्य परिक्षण गराउन राजी भएसँगै किटानी जाहेरी दिन पनि राजी भएको प्रहरी स्रोतले बताएको छ।


महानगरीय प्रहरी परिसर काठमाडौंका प्रहरी प्रमुख एसएसपी उत्तम सुवेदीका अनुसार प्रहरीले त्रुटी रहित हुने गरी अनुसन्धान गरिरहेको छ। 'अनुसन्धानको प्रकृयालाई रफ्तारमा अगाडि बढाएका छौं, छिट्टै यो प्रकृयाले पूर्णता पाउँछ,' उनले भने।


गत आइतबार राति महरा पीडित महिला रोशनीको कोठामा पुगेर बलात्कार प्रयास गरेको किटान जाहेरी प्रहरीमा दर्ता भएको छ।


प्रकाशित : आश्विन १९, २०७६ १८:००
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्