के मेसी र रोनाल्डो युग सकिँदै ?

कान्तिपुर संवाददाता

(लन्डन) — - इमलेन बेग्ली
युरोपेली फुटबलले सातौं सिजन छुँदा लियोनल मेसी र क्रिस्टियानो रोनाल्डोले एकआपसमा आफ्नो क्लबका लागि तीन गोल मात्र गरेका छन् । मेसी र रोनाल्डोको जोडी त्यही हो, जसले पछिल्लो एक दशकको विश्व फुटबलमा एकछत्र राज गरेको छ । उनीहरूले एक आपसमा १ हजार ३ सय ६९ गोल गरेका छन् ।

के मेसी र रोनाल्डो युग सकिँदै ?

अनि एकआपसमा १० पल्ट बेलन डे’अर जितेका छन् । त्यति मात्र होइन, उनीहरूले संयुक्त रूपमा नौ पल्ट च्याम्पियन्स लिग पनि जितेका छन् ।

मेसी अहिले ३२ वर्षका भए र उनले बार्सिलोनाका लागि पहिले जस्तो खेल्न सकिरहेका छैनन् । यसका प्रमुख कारण उनले बोकिरहेको धेरै थरीको चोट नै हो । अनि युभेन्ट्सका पोर्चुगाली स्टार ३४ वर्षका भए । अचेल उनी पनि सर्वाधिक गोलकर्ताको उपाधिका लागि प्रत्यासी हुन छाडेका छन् । के यो सबैले देखाउँछ त, विश्वफुटबलमा मेसी र रोनाल्डोको युग सकिँदै छ भनेर ? के विश्वकप फुटबलमा उनीहरूले कायम गरेको आधित्प अब पातलिँदै छ त ?


सकिँदै चमत्कारी

केही पनि स्थायी हुन्न । सन् २००५–०६ यता मेसी र रोनाल्डोले एक आपसमा मिलाएर पनि सबैभन्दा कम गोल गरेका छन्, सेप्टेम्बर ३० सम्मलाई आधार मान्दा । गत सिजन ११ वर्षयता पहिलो पल्ट उनीहरूले बेलन डे’अर पनि जित्न सकेनन् । भलै मेसीको भागमा पर्‍यो, फिफा वर्ष खेलाडीको उपाधि । सन् २०१०–११ यता मेसीले सबै खाले प्रतियोगितामा ४ सय ७६ खेल खेलेका छन् । युरोपका प्रमुख पाँच लिगमा कसैले पनि यति धेरै खेले खेलेका छैनन् ।


यो मामिलामा रोनाल्डो तेस्रोमा पर्छ, ४ सय ५२ खेलसहित । तर यही मेसीले यसपल्टका सिजनका सात ला लिगा खेलमा सबै जोडेर जम्माजम्मी ९० मिनेट मात्र खेलेका छन् । उनलाई चोटले खुबै सताइरहेको छ । इन्टर मिलानविरुद्ध युरोपेली च्याम्पियन्स लिग खेलमा भने उनी फर्के । मेसीलाई आफ्नो पूरा खेल जीवनमा चोटले बारम्बार सताएको छ । उनीले केवल एकै सिजन मात्र यस्तो बिताएका छन्, जसमा चोटको समस्या रहेन् ।


अब मेसी लिगमा सबै बाँकी ३१ खेल खेल्ने हो भने उनले सन् २०१३–१४ यता सबैभन्दा कम लि खेल खेल्नेछन् । अबको केही लिग खेल गुमाउने हो भने उनले सन् २००७–०८ यता पहिलो पल्ट सबैभन्दा कम खेल्नेछन्, लिगमा । यी सबैका बावजुत पनि गत सिजन उनका लागि राम्रै रह्यो, उनले ५० खेलमा ५१ गोल गरे । त्यसैले पनि उनले फिफाको उत्कृष्ट अवार्ड पाएका हुन् । तर १ सय २० मिनेटमा अहिलेसम्म कुनै गोल गर्न नसक्नु चिन्ताको विषय भने हुन सक्छ, मेसीका समर्थकका लागि ।


गत सिजन रोनाल्डोले पनि चोटका कारण धेरै खेल्न सकेनन् र यो सन् २०१४–१५ यता सबैभन्दा कम रह्यो । गोलको संख्यामा पनि उनी गत सिजन धेरै पछाडि परे । त्यस सिजन उनले ४३ खेलमा २८ गोल गरे । अरू खेलाडीको प्रसङ्ग थियो भने पनि यो उत्कृष्ट मानिन्थ्यो, तर रोनाल्डो जत्तिको खेलाडीका लागि यो पक्कै पर्याप्त होइन । तर यो पनि उनले म्यानचेस्टर युनाइटेड छाडेर रियल म्याड्रिड आएयता सबैभन्दा कम हो ।

फेरि सन् २०११–१२ यता पहिलो पल्ट मेसी अथवा रोनाल्डोमध्ये कसैले पनि युरोपेली च्याम्पियन्स लिग जित्न सकेन् । गत सिजनको सिरी ए मा उनले सर्वाधिक गोल गर्ने सूचीको चौथो स्थानमा रहे । उनको अगाडि रहे, साम्पडोरियाका फाबियो क्वागिरेला । तर रोनाल्डोको खेलमा कमी आउन थालेपनि विश्वास गर्न सकिन्छ, उनले अझै धेरै गोल गरेका छन् । यसको राम्रो उदाहरण त उनले पोर्चुगल र युभेन्ट्सका लागि खेलका पछिल्ला खेलमा देखाइसकेका छन् ।

–बीबीसी



संन्यास संघार

‘मेसीले ४० वर्ष पुग्दासम्म खेलिरहेका हुने छैनन्,’ स्पेनी फुटबल पत्रकार गुलेम बालागले केही समय अगाडि भनेका थिए । यी अर्जेन्टिनी खेलाडीको बार्सिलोनासँग सन् २०२१ सम्म अनुबन्ध छ । पछिल्लो समय हल्ला के छ भने त्यो अनुबन्ध अनुसार मेसीले कुनै पनि समय बार्सिलोना छाड्न सक्छन्, आफ्नो इच्छा अनुसार । खासमा के भनिएको छ भने उनी आफ्नो खेल जीवनको अन्त्यतिर अर्जेन्टिनामा खेल्न चाहन्छन् ।


त्यो पनि आफ्नो बच्चा बेलाको क्लब न्युवेल्स ओल्ड ब्वाइजका लागि । ‘अहिले मेसी ३२ वर्षका भए । उनी नजिकका केहीले सायद अब बार्सिलोनामा उनले खेल्ने दुई वर्ष जत्ति मात्र बाँकी रहेको कुरा गर्न थालेका छन् । मैले यस्तो सुनेको पहिलो पल्ट हो,’ बालागले भने, ‘अब प्रत्येक सिजनको अन्त्यमा उनी आपैंmले आपंैmलाई परीक्षण गर्नेछन्, कति फिट छु भनेर । सायद मेसीको मनको कुनै कुनामा विश्वकप छ । उनको अनुबन्ध २०२१ सम्म छ, त्यसको अर्को वर्ष उनी विश्वकप खेल्न चाहन्छन् जस्तो छ ।’


बालाग के पनि मान्छन् भने विश्वकपका लागि भनेर मेसीले आउने केही वर्ष आरामले खेल्ने प्रयास गर्नेछन्, यसअघि जस्तो अब्बल दर्जाको फुटबलमा आफूलाई धेरै ब्यस्त राख्ने छैनन् । त्यसो भनेको सन् २०२२ को विश्वकप खेलेर आफ्नो खेल जीवनमा पूर्ण विराम लगाउने योजनाका रूपमा हेरिएको छ । रोनाल्डोले भने प्राय: भन्ने गरेका छन्, उनले कम्तीमा ४१ वर्षका उमेरसम्म खेल्नेछन् र त्यति बेलासम्म उनलाई शरीरले पनि साथ दिइरहेकै हुनेछ । तर प्रश्न के हो भने के उनी साँच्चै त्यो उमेरसम्म खेलिरहेको हुनेछ त ?


अर्को मेसी अथवा रोनाल्डो को हुनेछन् ?

यो प्रश्नको उत्तरमा सबैभन्दा बलियो प्रत्यासीका रूपमा देखा पर्नेछन्, केलियन एमबापे । यी फ्रान्सेली स्टार २३ वर्षका भए । उनले मेसी र रोनाल्डो दुवैलाई पछाडि छाडेर विश्वकप जितिसकेका छन् । उनी युरोपका प्रमुख पाँच लिगमध्ये एकमा सिजनकै सर्वाधिक गोल गर्ने खेलाडी पनि भइसकेका छन् । नउले मोनाको र पेरिस सेन्ट जर्मेन (पीएसजी) का लागि ६३ गोल गरिसकेका छन् । उनले प्रत्येक १ सय ४ मिनेटको अन्तरमा एक गोल गर्ने गरेका छन् ।

समग्रमा उनले सिनियर स्तरमा १ सय २ गोल गरिसकेका छन् । त्यसमा १३ च्याम्पियन्स लग गोल पर्छ, अनि १३ गोल उनको देशका लागि रहेको छ । त्यसपछि युरोपका प्रमुख पाँच लिगमा सर्वाधिक गोल गर्ने युवा खेलाडीमा पर्छन्, रियल सोसिडाडका २२ वर्षीय मिखेल आयारजबाल । उनले ३७ गोल गरेका छन्, प्रत्येक २ सय ९० मिनेटको अन्तरमा । बायर लेभरकुजनका केइ हाभटेज पनि नजिक छन् । उनले अहिलेसम्म २६ गोल गरिसकेका छन् ।


त्यति मात्र होइन, अरू धेरै युवा खेलाडी पनि छन् र उनीहरूमा पर्याप्त आक्रामक मनस्थिति देखिएको छ । जस्तो १६ वर्षीय अन्सु फाटी । उनले बार्सिलोनाका लागि खेलेको २ सय ३१ मिनेटमा दुई गोल गरेका छन् र एक गोलका लागि सहयोगी भूमिका निभाएका छन् । एटलेटिको म्याड्रिडका किशोर खेलाडी जाओ फेलिक्सले गत पसजन बेनफिकामा एक सिजन बिताउँदा २० गोल गरे । त्यो उनको लागि निकै सफल सिजन रह्यो ।


अनि १९ वर्षीय नर्वेली अन्तर्राष्ट्रिय खेलाडी इरलिङ हल्यान्डबारे के धारणा छ त ? लिड्समा जन्मेका उनले जर्मन फुटबलमा रेड बुल साल्बर्गका लागि १० खेलमा गरेको गोल संख्या १७ पुगेको छ । त्यसमा सर्वाधिक तीव्र गतिको ह्याट्रिक पनि पर्छ । जति बेला मेसी २३ वर्ष पुगेका थिए, त्यति बेलासम्म मेसीले ला लिगामा ८८ गोल गरिसकेका थिए । त्यही उमेरसम्ममा रोनाल्डोले गरेको गोल संख्या ५४ थियो । रोनाल्डोले विन्गरका रूपमा खेलेर पनि यति धेरै गोल गरेका हुन् ।


कीर्तिमान पछ्याउँदै मेसी

मेसी र रोनाल्डोले एक आपसमा गोलका धेरै कीर्तिमान आफ्नो नाममा लेखाएका छन् । तर अझै पनि त्यस्ता कीर्तिमान छन्, जसलाई छुन यी दुई खेलाडीले कडा मिहिनेत गर्नुपर्नेछ । मेसी ला लिगा, बार्सिलोना र अर्जेन्टिनाका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् । यस्तै रोनाल्डोको नाममा रियल म्याड्रिड, पोर्चुगल र युरोपेली च्याम्पियन्स लिगमा यस्तै कीर्तिमान छ । रोनाल्डो ला लिगामै सर्वाधिक गोल गर्ने खेलाडीमा मेसीपछि दोस्रोमा छ ।


च्याम्यिपन्स लिगमा भने रोनाल्डोपछि मेसी आउँछन् । रोनाल्डोले पोर्चुगलका लागि ९३ गोल गरेका छन् र उनी अन्तर्राष्ट्रिय फुटबलमा सर्वाधिक गोल गर्ने दोस्रो खेलाडी हुन् उनी अगाडि छन्, इरानी लेजेन्डरी खेलाडी अलि दाइ । रोनाल्डोको भन्दा दाइले १६ बढी गोल गरेका छन् । रोनाल्डोसँग उनलाई उछिन्ने अवसर छ । यस्तै रोनाल्डोसँग युरोपेली च्याम्पियन्स लिगमा सर्वाधिक गोल गर्ने खेलाडीको शीर्ष स्थानमा आउने मौका पनि छ ।


यसका लागि उनले उछिन्नु पर्नेछ, सन् १९५०–६० का लेजेन्डरी महान् खेलाडी फ्रान्सिस्को गेन्टोको नाममा रहेको कीर्तिमान । गेन्टोले रियल म्याड्रिडका लागि खेल्थे । रोनाल्डो यिनै खेलाडीभन्दा छ गोलले मात्र पछाडि छन् । रोनाल्डोले आफ्नो देशका लागि युरो २०१६ र सन् २०१९ को नेसन्स लिग जितेका छन् । तर मेसीलाई लिएर डर के छ भने कतै उनी आफ्नो देशका लागि कुनै पनि उपाधि जित्न नसक्ने खेलाडी हुने त होइनन् ?


प्रकाशित : आश्विन १९, २०७६ ०८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?