१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५०८

नेपाली जोड्ने माध्यम

राजु घिसिङ

काठमाडौँ — पढाइ र कामको सिलसिलामा विदेश पुगेको नेपालीहरूको फुटबल मोह बेला बेला सामाजिक सञ्जालमा आइरहन्छ । कहिलेकाहीं सामाचार नै पनि । विशेषगरी जर्सी, हाफ पाइन्टमा खेलेको र ट्रफी उचालेको फाटो फेसबुक, इन्स्टाग्राममा छाइरहन्छ ।

नेपाली जोड्ने माध्यम

नेपालमै छंदा खल्नेहरू मात्रै होइनन्, देशबाहिर पुगेपछि फुटबलमा नजिकिएकाहरू पनि जर्सी र हाफ पाइन्टवाला फोटो अपलोड गरिरहन्छन् । प्रतिस्पर्धा, ट्रफी चालेकोदेखि मैदानको खेल नै भाडिने गरी भएका झगडाका भिडियोहरू बेलाबेला भाइरल बनेका छन् ।


नेपाली राष्ट्रिय फुटबल टिम विश्वकप २०२२ को छनोटमा चार वर्षअघिको एसियन च्याम्पियनविरुद्ध क्यानबेरामा प्रतिस्पर्धा गर्नको सिड्नी पुगिसकेको छ । सिड्नीको व्यस्त जीवनमा पनि आफ्नो टिमको स्वागत गर्न विमानस्थलमै नेपालीहरू पुगेका थिए । यहाँ ट्रेन स्टेसनदेखि पार्कसम्मै नेपालीहरू भेटिन्छन् । सिड्नीमा एक लाख बढी नेपाली बसोबास गर्छन् । न्यू साउथ वेल्सको यो राजधानी निक्कै भव्य छ, जुन विश्वकै आकर्षक सहरमा पर्छ । उस्तै महंगो पनि छ यहाँको जीवनशैली । कामको चटारोमा निक्कै व्यस्त यहाँको जीवनमा फुटबलमा रमाइरहेका नेपालीहरू पनि छन् ।


बिजेन बटाजु र विजय राउत अस्ट्रेलिया पुगेको दुई दशक बढी भइसक्यो । ‘यहाँ फुटबल खेल्न कम्ता गारो थियो र १,’ सन् १९९८ तिरको दैनिकी स्मरण गर्दै बिजेनले भने, ‘मैदान पुग्न ट्रेन स्टेसनबाट ३० देखि ६० मिनेटसम्म हिँडेर पनि फुटबल खेल्यौं । मैदान पुग्न अहिलेजस्तो सुविधा थिएन । त्यसैले फुटबल खेल्न धेरै संघर्ष गर्‍यौं ।’ ग्रीमकालीन ओलम्पिक (सन् २०००) आयोजक सहले विकास र जनताको सुविधाको लागि कुनै कसर बाँकी राखेको छैन । त्यसैले नेपालीहरूका लागि फुटबल खेल्नलाई मैदान निक्कै निकट भएको छ ।


सिड्नीमा नेपलीहरूको फुटबल प्रतियोगितामा सबभन्दा जेठो हो, गोर्खा नप्लिज कम्युनिटी लिग (जीएनसी) । अस्ट्रेलियाको शीर्ष डिभिजनको प्रतियोगिता ‘ए लिग’को संरचनामा गत मार्चमा सम्पन्न जीएनसीको २० औं संस्करणको च्याम्पियनसिप बेनी एफसीले जित्यो । ‘यहाँको जीवन निक्कै व्यस्त छ,’ बिजेनले भने, ‘हामी नेपालीहरूको भेट जीएनसी, दसैंमा र सांस्कृतिक कार्यक्रममा मात्रै हुन्छ ।’ विजय राउतले भने, ‘पछिल्लो दशक सिड्नीमा युपा पुस्ताका नेपाली धेरै आएका छन् । उनीहरूको उपस्थितिले पनि फुटबलको माहोल बढेको हो । खाली समयको उपयोग, तनाव कम गर्न र नेपालीहरूवीच भेटघाट गर्ने माध्यम बनेको छ फुटबल ।’


खेलाडीको सुविधा, प्रतियोगिता आयोजकलाई सहयोग गर्ने उद्देष्यले सन् २०११ मा मनोज लामाको अध्यक्षतामा अस्ट्रेलिय नेप्लिज फुटबल एसोसिएसन (एन्फा अस्ट्रेलिया) स्थापना गरिएको थियो, जहाँ अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वकोषाध्यक्ष राजु मानन्धर पनि थिए । सेप्टेम्बर, २०१८ मा बनाइएको नयाँ कार्यसमितिको नेतृत्व गरेका छन्, बिजेनले । र, विजय सचिव हुन् । यो कार्यसमितिको योजना पनि खेलाडीलाई सेवा–सुविधा थप्ने, आयोजकलाई सहयोग गर्ने र नेपालीहरूलाई फुटबलको माध्यमबाट जोड्नै नै हो । बिजेन स्वदेश आएको बेला एन्फा अस्ट्रेलियाले दुई जिल्लामा ग्रासरुट फुटबल सञ्चालनका लागि एन्फासँग दुई वर्षे सम्झौता पनि गर्‍यो ।

‘धेरै नहोला तर हामी नेपाली फुटबलको विकासको लागि सहयोग गर्न तयार छौं,’ अध्यक्ष बिजेनले भने । अस्ट्रेलियाविरुद्ध प्रतिस्पर्धा गर्ने नेपाली टिमलाई पनि उनकै टिमले गैरआवासीय नेपाली संघ (एनआरएनए) सँग मिलेर सिड्नीमा तयारी गर्ने व्यवस्था गरेको हो । उनी नेतृत्वमा आएसँगै एन्फा अस्ट्रेलियामा सिड्नीमा रहेका नेपालीहरूलाई लिगमार्फत् एकताबद्ध गर्न लागेको हो र अहिलेसम्म ३७ क्लब दर्ता भइसकेका छन् । लिग खेल्ने २१ टिम पुगिसके । सिड्नीमा पहिलो पुस्तामा नेपाली क्लब भने हिमालयन युथ, सगरमाथा एफसी र लालीगुरास एफसी हुन् । हाल नियमित खेल्ने २७–२८ क्लब छन् । भेट्रान (३० बर्षमाथि) को पनि १० टिम बनिसकेको छ ।


गोर्खा नेप्लिज कम्युनिटीका इराज थापाकाअनुसार जीएनसी सन् १९९८ मा सुरु भएको हो । बुद्ध कप १७ वर्षयता सञ्चालन भइरहेको छ । साहरा लिग दुईपल्ट भयो र तेस्रो संस्करण (२०१९) लाई नकआउटको रूप दिइएको थियो । बेनी एफसीका विकास गौचनका अनुसार एक दिने प्रतियोगिता वार्षिक १०–१२ वटा हुन्छन् । लिग कम नकआउटको आधरामा हुने नवस कप आठ सातासम्म चल्छ । यसमा टिमहरू हरेक आइतबार मैदानमा ओर्लन्छन्, जहाँ पछिल्लो संस्करणमा १८ टिम सहभागी थिए ।


जीएनसीको सिजन

सिड्नीका नेपाली समुदायको मुख्य प्रतियोगिता जीएनसी नै हो । यसको सिजन अक्टोबरमा सुरु हुन्छ र उपाधि होड मार्चमा पुगेर टुंगिन्छ । ‘जीएनसीमा सुरुमा आठ टिम थिए, पछि १२ टिम भयो । जीएनसीमा अटाउन नसकेका क्लबहरूले साहरा लिग खेले,’ जीएनसीका इराजले भने । दुवै लिगलाई अक्टोबर २०१८ मा संयोजन गरी एउटै बनाइयो । दुई डिभिजन बनाइयो, मेजर र माइनर । मेजर लिगमा १२ र माइनरमा नौ क्लबले खेले । घटुवा र बढुवाको प्रक्रियामा ३–३ क्लब रहने व्यवस्था गरियो । जीएनसीको आफ्नै टिम भने छैन, प्रतियोगिता सञ्चालन गर्छ मात्रै । ‘लिग वा प्रतियोगितामा सधैं एउटै क्लब रहन्छ भन्ने छैन,’ सिड्नी नेप्लिज एफसीका कल्याण खड्काले भने, ‘स्रोत, समय (स्वयम्सेवी) र प्रायोजकमा टिम निर्भर हुन्छ ।’


एउटा क्लब सञ्चालन गर्न औसतमा बार्षिक २० हजार डलर खर्च हुने बताइन्छ । एन्फा अस्ट्रेलियाले दर्ता नभएका क्लबलाई कुनै पनि प्रतियोगिता खेल्न नपाउने नियम लागू गरेको छ । ‘क्लबहरूलाई जवाफदेही र बाँचनसक्ने बनाउन तथा खेलाडीको सुविधाको लागि एउटा सिस्टम बसाल्ने प्रयास गरिएको हो,’ एन्फा अस्ट्रेलियाका खेल संयोजकसमेत रहेका विकास गौचनले भने । गत बर्ष जीएनसीमा मैदानमै हात हालाहाल गरेका खेलाडी र क्लबहरूलाई ६ महिनादेखि १ बर्षसम्म निलम्बन गरिएको थियो । यसबाट फुटबललाई अनुशासित बनाउने प्रयास भएको छ ।


एक सिजनमा एउटा क्लबले १८ देखि ३५ जना दर्ता गर्न राख्न पाउँछन् । त्यसैले करिब १ हजार सिड्नीका नेपाली फुटबल प्रतियोगिता खेल्ने प्रस्टै हुन्छ । उनीहरूको नातेदार, साथीभाई दर्शकको रूपमा ४–५ हजारसम्मै मैदान वरिपरि झुम्मिने गर्छन् । नियमित काम गर्नुपर्ने अवस्थामा खेलाडीलाई चोट लाग्दा भने उसको दैनिकी नै प्रभावित हुने गर्छ र त्यसको समाधानका लागि खेलाडीको बिमा गर्ने व्यवस्था गर्ने प्रयासमा छ, एन्फा अस्ट्रेलिया ।


‘राम्रो खेलाडी तानातान नै हुन्छ,’ खेल संयोजक गौचनले भने, ‘खेलाडीसँगै उनका पत्नीलाई पनि काम लगाइदिने अफरसम्म हुन्छ । स्वदेशमा छँदा ‘ए’ डिभिजन क्लब हिमालयन शेर्पाका मुख्य प्रशिक्षक रहेका उनी कुनै बेला मनाङ–मस्र्याङ्दी र जावलाखेल युथ क्लबका खेलाडी पनि थिए । उनले नेपाल समुदायका बालबालिकाहरूलाई ट्रेनिङ पनि गराइरहेका छन् ।


अस्ट्रेलियन लिगको चाहना

नयाँ कार्यसमितिले नेपाली समुदायलाई अस्ट्रेलियन फुटबल सिस्टममा पनि समावेश गर्ने प्रयास गरिरहेको छ । ‘हाम्रा राम्रा खेलाडी र क्लबलाई अस्ट्रेलियन फुटबल सिस्टममा कसरी प्रवेश गराउने र टिकाउने भन्ने छ । प्रान्तीय लिगमा प्रवेश गर्ने प्रयास गरिरहेका छौं । मौका पनि पाउन थालेको छ । हालसम्म नेपाली समुदायभित्रै रमाइरहेका छौं, अब अर्को स्तरमा जोनेछौं ।’ सिड्नीमा माछापुच्छ्रे, बेनी, द राइजिङ गोर्खाज (टीआरजी), सेन्ट जर्ज नेप्लिज, सगरमाथा, ग्रेन्भिल राइनोज एफसी निक्कै सक्रिय छन् ।


अस्ट्रेलियाकै मेलबर्न, ब्रिस्बेन, क्यानबेरा, एडिलेड र अलबरीमा पनि नेपाली समुदायभित्रैका टिमहरूबीच फुटबल प्रतियोगिता भइरहन्छन् । मेलबर्नमा ६ टिम निक्कै सक्रिय छन् । नेपाली टिमबाट खेलिसकेका अनिल ओझा, सज्जन श्रेष्ठ र जगजित श्रेष्ठ मेलबर्नमै छन् ।


सुलभ मास्के डार्बिनमा अर्धव्यवसायिक क्लबबाट लिग खेलिरहेका छन् । स्वदेशमा लिगको अनुभव बटुलेका युडी गुरुङ, विवेक पन्त, युकेश श्रेष्ठ, सञ्जीव कार्की, निरन राई, सुसन लामा, विशाल बस्नेत, विमल बस्नेत, राम

थापा, विवेक गुरुङ, सन्तोष गुरुङ, शिव गिरी, विकास गौचन, संजीव थापा, आदित्य मल्ल पनि अस्ट्रेलियामै छन् । भेट्रान राजु मानन्धरसहित दिनेश अमात्य र शैलेन्द्र श्रेष्ठ पनि सिड्नीमै छन् ।


प्रकाशित : आश्विन १९, २०७६ ०८:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?