कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१८

एनआरएनए स्पोर्ट्स एकेडेमी स्थापना

कान्तिपुर संवाददाता

काठमाडौं — गैरआवासीय नेपाली संघ नेपाल एनआरएनएले स्पोर्ट्स एकेडेमी गठन गरेको छ  । शुक्रबार एनआरएनएका अध्यक्ष भवन भट्ट र अन्तर्राष्ट्रिय समन्वय परिषद् आईसीसीका युवा संयोजक सुदन थापाले संयुक्त रूपमा एकेडेमीको लोगो सार्वजनिक गरे  ।

एनआरएनए स्पोर्ट्स एकेडेमी स्थापना

लोगोमा एनआरएनको ६ क्षेत्रको प्रतिनिधित्व हुने गरी ६ ओलम्पिक रिंग राखिएको छ ।

कार्यक्रममा अध्यक्ष भट्टले विश्वभर रहेका गैरआवासीय नेपाली खेलाडी, प्रशिक्षक प्राविधिक र खेल विज्ञहरूको ज्ञान सीपलाई नेपाली खेलकुदको विकासमा उपयोग गर्ने र एनआरएनको खेल प्रतिभालाई खेलकुदको मूलधारमा ल्याउनका निम्ति स्पोर्ट्स एकेडेमीको गठन गरेको जानकारी दिए ।

आईसीसी युवा परिषद्का संयोजक सुदन थापाले स्पोर्ट्स एकेडेमीले एनआरएनएको पहिलो र दोस्रो पुस्ताका खेलाडीहरूलाई अभियानमा जोड्ने बताए । ‘एकेडेमीले एकातिर विश्वभरका गैरआवासीय खेलाडीहरूलाई एकजुट पार्नेछ । अर्कोतर्फ नेपाली खेलकुदमा भौतिक पूर्वाधार निर्माणदेखि खेलाडीहरूलाई अन्तर्राष्ट्रिय पदक दिलाउने अभियानसम्ममा सघाउनेछ,’ उनले थपे ।

थापाले आठौं राष्ट्रिय खेलकुद प्रतियोगितामार्फत एनआरएनएले एउटा विभागीय टोलीको हैसियत प्राप्त गरिसकेकोले त्यो अभियानलाई व्यवस्थित पार्न पनि एकेडेमीले भूमिका बताए । पत्रकार सम्मेलनमा जनाइए अनुसार विश्वका ८३ मुलुकमा रहेका गैरआवासीय नेपालीहरूमा ३० देखि ४० हजार सम्मको खेलकुद क्षेत्रमा प्रत्यक्ष संलग्नता छ । खेलकुदका विभिन्न गतिविधिहरू समय समयमा भएपनि त्यो व्यवस्थित भने हुन सकेको छैन ।

पत्रकार सम्मेलनमा एनआरएनएले तत्काल चार विभिन्न खेलकुद कार्यक्रमहरू सञ्चालन गर्ने जानकारी पनि दिएको छ । जस अनुसार अक्टोवर ११ मा एनआरएनए हेरिटेज वाकाथन हुनेछ । एनआरएनए स्पोर्ट्स एकेडेमीका निम्ति दौडको नारा दिइएको उक्त वाकाथन स्वयम्भूदेखि सुरु भएर पशुपतिमा टुंगिने र त्यसमा २ सय बढी खेलाडीहरूले भाग लिने अपेक्षा गरिएको छ ।

अक्टोबर १३ मा एनआरएन गल्फ च्याम्पियनसिप, अक्टोबर १४ मा चौथो एनआरएन फुटसल प्रतियोगिता र सोही दिन एनआरएनए स्पोर्ट्स मिट हुनेछ ।

प्रकाशित : आश्विन १८, २०७६ १०:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?