दक्षिण अफ्रिकाको जवाफ

एएफपी

बिखाशापट्नम — डिन एल्गर र क्वीन्टन डी ककको शतकपछि भारतले पहिलो इनिङ्समा बनाएको ५ सय २ रनको जवाफमा दक्षिण अफ्रिका तेस्रो दिनको समाप्तिमा ३८५–८ को सन्तोषजनक स्थितिमा पुगेको छ  । डी ककले १सय ११ रनको इनिङ्स खेल्दा एल्गरले १ सय ६० रन जोडे  ।

यी दुईले महत्वपूर्ण १ सय ६४ रनको सतकीय साझेदारी पनि गरेका थिए । जसले घरेलु मैदानमा पहिलो टेष्टको तेस्रो दिन शुक्रबार भारतीय बलिङ आक्रमणलाई दवावमा राखेको थियो ।

तर भारतीय अफ स्पिनर रविचन्द्रन आश्विनले आफ्नो ६६ औं टेस्टमा २७औं पल्ट एकै इनिङमा ५ वा त्योभन्दा बढी विकेट लिने बलर बने । तेस्रो दिनको स्टम्प हुनुअघि दक्षिण अफ्रिका पहिलो इनिङमै १ सय १७ रनले पछि छ । भारतले ५०२/७ को स्थितिमा इनिङ समाप्तिको घोषणा गरेको थियो ।

९८ ओभरको दिनको समाप्ति हुँदा डेब्यू टेस्ट खेलिरहेका सेनुरन मुथुसामी १२ र केशव महाराज ३ रन बनाएर क्रिजमा छन् । दिनको अन्तिम शत्रमा आश्विनको बलिङमा छक्का प्रहार गरेसँगै डी ककले आफ्नो पाँचौं टेस्ट शतक पूरा गरे । उनलाई आश्विनले नै बोल्ड गरे । त्यसपछि भेरोन फिलेन्दर पनि खाता खोल्नै नपाइ आश्विनको शिकार बने ।

२७ रनको अवस्थामा तेस्रो दिनको सुरुआत गरेका बायाँ हाते एल्गरले एउटा एन्डबाट दक्षिण अफ्रिकालाई टिकाइरहे । ६३–४ को स्थितिबाट इनिङ उकास्न उनले महत्त्वपूर्ण जिम्मेबारी लिए ।

३२ वर्षीय एल्गरले आफ्नो प्रदर्शनको श्रेय इंग्लिस काउन्टी च्याम्पियनसिप क्लब सरेमा आफ्नो उत्कृष्ट लय र सफल कार्यकाललाई दिए । ‘मैले ५ महिना काउन्टी क्रिकेट खेलेँ । आफूलाई खेलाडीको रुपमा सुधार ल्याउनका लागि त्यसले धेरै महत्वपूर्ण प्रभाव बनायो,’ एल्गरले भने, ‘म के प्रस्ट पार्न चाहन्छु भने मेरो यो प्रदर्शन ठूलो मिहिनेतपछि निस्किएको हो, न कि भाग्यका कारण ।’

एल्गरले कप्तान फाफ डू प्लेसिससँग मिलेर पाँचौं विकेटका लागि १ सय १५ रनको शतकीय साझेदारी गरेपछि भारतीय बलरहरू दवावमा आएका थिए । गत वर्ष अस्ट्रेलिया भ्रमणयता टिमबाहिर रहेका आश्विनले पनि भारतीय टिममा पुनरागमन गरेका हुन् ।

उनले पनि नटिङघमसायरबाट काउन्टी क्रिकेट खेलेको परिणामस्वरुप नै पुनरागमन सम्भव भएको दावी गरे । ‘म पुनरागमनको लागि योग्य छु । भारतका लागि खेल्नु जहिले पनि विशेष हुन्छ । त्यसमा ५ विकेट लिन पाउँदा निकै खुसी छु । मैले नटिङघममा पनि ५ विकेटको आनन्द लिएको थिएँ । दुवै उपलब्धी मेरा लागि खास छन्,’ उनले भने ।

आश्विनका स्पिन जोडी
रविन्द्र जडेजाले अन्तिम शत्रमा एल्गरको विकेट लिएसँगै टेस्ट क्रिकेटमा २ सय विकेट पूरा गरे । दक्षिण अफ्रिकाले ३९–३ को स्थितिबाट नयाँ दिनको सुरुआत गरेको थियो । फास्ट बलर इसान्त शर्माले अघिल्लो दिनका अविजित ब्याट्सम्यान तेम्बा बाभुमालाई १८ रनको स्कोरमा आउट गरेका थिए ।

प्रकाशित : आश्विन १८, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?