कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९९

चिनियाँ धावकहरू पोखरा आउने

दीपक परियार

पोखरा — चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणकै बेला पोखरामा चीन र नेपालका धावकबीच अन्तर्राष्ट्रिय दौड हुने भएको छ । असोज २९ मा पोखरा अन्तर्राष्ट्रिय क्रसकन्ट्री दौड हुने भएको हो । पोखरा उद्योग वाणिज्य संघ, पश्चिमाञ्चल होटल संघ र चीनको कुन्मिङ पर्वतारोहण तथा अन्वेषण संघको संयुक्त आयोजनामा प्रतियोगिता हुनेछ ।

चिनियाँ धावकहरू पोखरा आउने

क्रसकन्ट्री दौडमा चीनका करिब ४० व्यावसायिक धावक, चिनियाँ सञ्चारमाध्यममा कार्यरत पत्रकार तथा सरकारी निकायका प्रतिनिधिसहित ६० जनाको टोली पोखरा आउने छ । प्रतियोगिता संयोजक विश्वशंकर पालिखे दौडको चिनियाँ सञ्चारमाध्यममा प्रचारप्रसार गरी पोखराको साहसिक खेल पर्यटन प्रवर्द्धन गर्ने लक्ष्य लिएको बताउँछन् ।


‘पोखरालाई चीनको पर्यटकीय बजारमा परिचित गराउन र विश्वकै धेरै घुम्न जाने संस्कृति विकास हुँदै गरेको देशबाट पोखरामा पर्यटक भित्र्याउन हामीले यो ‘मेगा इभेन्ट’ आयोजना गर्न लागेका हौं,’ उनले भने, ‘हामी यो कार्यक्रममार्फत पोखरालाई साहसिक खेलकुद पर्यटनको केन्द्र बनाउन चाहन्छौं ।’


पोखरा महानगरसँग भगिनी सम्बन्ध रहेको कुनमिङ सहरबाट आउने टोलीको खर्च उनीहरूले नै बेहोर्छन् । उनीहरूको बसाइ र प्रतियोगिताको खर्च स्थानीय आयोजकले बेहोर्ने छ । दौडलाई ‘ब्रान्डिङ’ गर्न प्रतियोगिताको नाम ‘रन फर लभ’ राखिएको संयोजक पालिखेले बताए ।


प्रतियोगितामा सहभागीले ३ विधामा भाग लिने छन् । दौड, साइक्लिङ र बोटिङ हुनेछ । २२ किलोमिटर दौड, १९ किलोमिटर साइक्लिङ र १.२ किलोमिटर बोटिङ हुनेछ । ४२.२ किलोमिटरको दौडमा धावक मट्टिखान र पुम्दीभुम्दीको १ हजार ३ सय मिटरको उचाइसम्म पुग्नेछन् । तीन खेलाडीको एक टिम बन्नेछ । टिममा एक महिला खेलाडी अनिवार्य गरिएको छ । नेपालका ३ विभागीय टिमका खेलाडी, स्थानीय टिम र चीनका धावक गरी ३० टिमले प्रतियोगितामा सहभागिता जनाउने छन ।


पोखराको बाराहीघाटबाट सुरु हुने दौड, राष्ट्रबैंक चोक, ड्यासाइड, डेभिजफल, तिब्बती क्याम्प, फुस्रेखोला, कमेरा, राम्दी, मट्टिखान, स्याङजाको रामकोट, कुभिन्डे, उल्लेरी, खरिखानी, पैयूँ चौतारी, ओखलेडाँडा, कालावाङ, मोतीराज चोक, स्वाँरा, लुकुमस्वाँरा, तल्ला गाउँ, ढुंगेपानी, शान्तिस्तुपा, लिची बोट हुँदै बोटिङ गरेर बाराहीघाटसम्मको रुट तय गरिएको छ । यो रुट सम्पन्न गर्न करिब ५ घण्टा लाग्नसक्ने अनुमान गरिएको जिल्ला खेलकुद विकास समितिका प्रकाश बरालले बताए ।


बाराहीघाटबाट फुस्रेखोलासम्म खेलाडी दौडिने छन् । फुर्स्रेखोलामा राखिने साइकल लिएर उनीहरू निर्मलपोखरीतिर उकालो लाग्छन् । शान्तिस्तुपबाट फेवाताल झरेपछि बोटिङ गरेर पुन: बाराहीघाट पुग्नेछन् । विजेता बन्न टिमका ३ खेलाडी सँगसँगै आउनुपर्छ । प्रतियोगितामा नेपालीतर्फ पहिलो, दोस्रो र तेस्रो हुने टिमका खेलाडीलाई चीनको कुन्मिङ सहरमा नोभेम्बरमा हुने विश्व प्रसिद्ध ‘जिआओजी’ पर्वतीय दौडमा पठाइने भएको छ ।


पश्चिमाञ्चल होटल संघका अध्यक्ष विकल तुलाचन पर्यटकको बसाइ लम्ब्याउन खेल पर्यटन सहयोगी हुने बताउँछन् ।

प्रकाशित : आश्विन १७, २०७६ ०९:२०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?