इंग्ल्यान्डको टिममा ‘नेपाली छोरी’

राजु घिसिङ, नवीन पोखरेल

काठमाडौँ/लन्डन — बेलायती सेनामा गोर्खा पल्टनका रिटायर्ड अमृत आलेकी यी १७ वर्षीया छोरी अस्मिता आले इंग्ल्यान्डको कुनै पनि तहको राष्ट्रिय टिममा छनोट हुने पहिलो नेपाली मूलकी खेलाडी हुन् । तनहुँ, दमौलीका अमृत परिवारसहित सन् १९९४ बाट इंग्ल्यान्डमै बसोबास गर्छन् । उतै जन्मिएकी अस्मिता इंग्ल्यान्डको यू–१९ टिममा छनोट भएकी हुन् ।

इंग्ल्यान्डको टिममा ‘नेपाली छोरी’

अस्मिता आलेलाई इंग्ल्यान्ड यू–१९ टिममा बोलाइयो ।

घरेलु डिफेन्डर यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिप छनोटको पहिलो चरणमा साइप्रस, बेलारुस र सर्बियाविरुद्ध यो महिना सहभागी हुनेछिन् ।

बधाई असी !


इंग्ल्यान्डको क्लब एस्टन भिल्ला महिला टिमको फेसबुक पेजमा मंगलबार अपलोड गरिएको अस्मिता आलेको फोटोसँगैका यी तीन लाइनले बेलायतमा रहेका नेपाली समुदायमा मात्रै होइन, समग्र नेपाली फुटबलमै ठूलो महत्त्व राखेको छ ।


तीन वर्षयता इंग्ल्यान्डको अन्य उमेर समूहको राष्ट्रिय टिमबाट नियमित खेलिरहेकी यी डिफेन्डर अहिले बेलारुस पुगेकी छन्, जहाँ उनको टिमले यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिप छनोटको पहिलो चरणमा प्रतिस्पर्धा गरिरहेको छ । इंग्ल्यान्डले बुधबार साइप्रसलाई ८–० ले पराजित गरेको खेलमा उनी ‘बेन्च’ मै थिइन् । आउँदो बुधबारसम्म हुने छनोटमा इंग्ल्यान्डले सर्बिया र आयोजक बेलारुसविरुद्ध खेल्दै छ र त्यसमा उनले मैदानमा उत्रिन पाउने आशा गरिएको छ ।


‘छोरीको सफलताले खुसी लागेको छ, गर्व अनुभव गरेको छु,’ अमृतले भने, ‘छोरी यू–९ (नौ वर्षमुनि) देखि एस्टन भिल्लाको एकेडेमीमा भर्ना भएकी थिई । त्यसअघि दुई वर्ष केटाहरूसँगै स्थानीय बल्किङ्टन एफसी (बाराकुडस) मा खेली, त्यहाँ ऊ एक्ली केटी थिई ।’ उनका अनुसार इंग्ल्यान्डको टिममा अस्मिता लेफ्ट र राइट दुवै क्षेत्रमा डिफेन्समा आवश्यकताअनुसार खेल्ने गर्छिन् । क्लबमा सेन्टर–ब्याक, सेन्टरमिडफिल्ड र विंग्समा पनि खेल्ने गरेकी छन् । अर्थात् अलराउन्डर हुन् उनी ।


‘ए’ लेवल दोस्रो वर्षमा अध्ययनरत अस्मिताले १६ वर्ष उमेरमै एस्टन भिल्ला फुटबल क्लबको महिला सिनियर टिममा डेब्यु गरेकी थिइन् । एस्टन भिल्लाले वुमेन्स च्याम्पियनसिप खेल्छ । इंग्ल्यान्डको महिला फुटबल लिगको दोस्रो डिभिजन मानिएको च्याम्पियनसिपमा ११ क्लब छन् । गएको सिजन (२०१८–१९) मा म्यानचेस्टर युनाइटेड र टोटेनहम हर्टस्परको महिला टिम विजेता र उपविजेता हुँदै पहिलो डिभिजनको वुमेन्स सुपरलिगमा बढुवा हुँदा एस्टन भिल्ला छैटौं भएको थियो ।


दुवै खुट्टा उत्तिकै चलाउने अस्मिताले क्लबमा नियमित रूपमा पहिलो रोजाइमा खेलिरहेकी छन् । च्याम्पियनसिपको नयाँ सिजन १८ अगस्टमा सुरु भइसकेको छ । सुरुका चारै खेल जितेको एस्टन भिल्ला १२ अंकसहित दोस्रोमा छ । उति नै अंक भए पनि गोल अन्तरमा उछिनेको डरहाम शीर्षस्थानमा छ । एस्टन भिल्लाको पुरुष टिमले इंग्लिस प्रिमियर लिग खेलिरहेको छ, जसलाई विश्व फुटबलकै आकर्षक मानिन्छ । उक्त क्लबले महिला टिमको लाइसेन्स सन् १९९६ मा लिएको हो । महिला टिमले घरेलु खेल चार हजार दर्शक क्षमताको ‘द ल्याम्ब ग्राउन्ड’ मा खेल्दै आएको छ ।


अमृतका अनुसार छोरी अस्मिता पछिल्लोपल्ट तीन वर्षअघि नेपाल आएकी थिइन् । ‘छोरीलाई नेपाली टिमसँग खेल्न मन छ तर समय मिलेको छैन । हामी चाँडै नेपाल आउँदै छौं,’ उनले भने । झन्डै दुई दशक गोर्खाली पल्टनमा काम गरेपछि रिटायर्ड भएका अमृतले छोरीलाई आफ्नै खर्चमा एस्टन भिल्लाको एकेडेमीमा तालिम दिलाएको बताए । त्यही तालिममा ट्रेनिङमा निरन्तर राम्रो गरेपछि अस्मिता इंग्ल्यान्डको यू–१५ हुँदै अहिले यू–१९ टिममा परेकी हुन् ।


हाल भइरहेको छनोटबाट १२ समूहका विजेता, उपविजेतासँगै तेस्रो स्थानमा रहनेमध्ये उत्कृष्ट चार टिम गरी २८ देश अन्तिम चरणको छनोटमा प्रवेश गर्नेछन् । त्यसबाट उत्कृष्ट सात टिमले जर्जियामा जुलाई २०२० मा हुने यूईएफए वुमेन्स यू–१९ च्याम्पियनसिपमा प्रतिस्पर्धा गर्नेछन् ।

प्रकाशित : आश्विन १७, २०७६ ०९:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?