३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

यू–१९ केसीको काँधमा

कान्तिपुर संवाददाता

काठमाडौँ — अखिल नेपाल फुटबल संघ (एन्फा) ले थ्रीस्टार क्लबका मेघराज केसीलाई एएफसी यू–१९ च्याम्पियनसिप छनोटमा नेपाली टिमको मुख्य प्रशिक्षकमा बुधबार नियुक्त गरेको छ ।

यू–१९ केसीको काँधमा

यसअघि प्राविधिक समितिको सोमबार सम्पन्न बैठकले भने छिरिङ लोब्साङ गुरुङलाई मुख्य प्रशिक्षक, अनन्तराज थापालाई सहायक प्रशिक्षक र उज्ज्वल मानन्धरलाई गोलकिपिङ कोचका लागि सिफारिस गर्ने निर्णय गरेको थियो । ‘प्राविधिक समितिले दुईटा नाम पठाएको थियो, त्यसमध्ये एउटामा निर्णय गरिएको हो,’ एन्फाका प्रवक्ता किरण राईले दाबी गरे । एन्फा कार्यसमिति वा आकस्मिक समितिको बैठकबिना गरिएको निर्णयबारे उनले भने, ‘प्रशिक्षकको नियुक्ति दैनिक प्रशासिनक काम हो । उपलब्ध पदाधिकारीको उपस्थितिमा सचिवालयले नियुक्ति गरेको हो ।’ नेपाली युवा टिमले साफ यू–१८ च्याम्पियनसिपको सुरुका दुवै संस्करणको उपाधि जितेको थियो ।


गत साता हल्चोकमा सम्पन्न तेस्रो संस्करणमा भने जितविहीन रहेको नेपाली टिम समूह चरणबाटै बाहिरिएपछि मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठसहित सुनोज श्रेष्ठ (सहायक प्रशिक्षक) र छन्नुराम चौधरी (गोलकिपिङ कोच) ले राजीनामा दिएका थिए । त्यसैले एएफसी यू–१९ च्याम्पियनसिप छनोटका लागि थ्रीस्टार क्लबका प्रशिक्षक मेघराज केसीलाई नियुक्ति गरिएको हो । सहायक प्रशिक्षक र गोलकिपिङ कोचको नियुक्ति चाँडै गर्ने पनि एन्फाले जनाएको छ ।


नेपालले यू–१९ छनोटको समूह ‘डी’ मा यूएईसँगै आयोजक इरान र किर्गिस्तानविरुद्ध नोभेम्बर ६–१० सम्म प्रतिस्पर्धा गर्नेछ । छनोटबाट ११ समूहका विजेतासँगै उपविजेतामध्ये उत्कृष्ट ४ वा ५ टिमले सन् २०२० अक्टोबरमा उज्वेकिस्तानमा हुने एएफसी यू–१९ च्याम्पियनसिप खेल्ने अवसर पाउनेछन् । ‘टिमको तयारी दसैंपछि हुनेछ,’ प्रशिक्षक केसीले भने, ‘एन्फाको लक्ष्यअनुसार नतिजा हात पार्ने कोसिस गर्नेछु ।’ उनले क्लबसँगको सहमतिमै यू–१९ टिमको जिम्मेवारी लिएको पनि बताए ।


राष्ट्रिय टिममा इंग्लिस प्रिमियर लिग क्लब टोटेनहमका पूर्वकप्तान ग्राहम रोबर्ट्सले सम्हालेको बेला साढे दुई वर्ष सहायक प्रशिक्षक रहेका केसीले यू–१९ टिममा राजुकाजी शाक्यको सहायक भएर पनि काम गरेका थिए । उनले सम्हालेको यू–१४ टिमले दुईपल्ट सुब्रतो मुखर्जी कप जितेको थियो ।

प्रकाशित : आश्विन १६, २०७६ ०९:२९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?