२५.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३११

गोरु नारेर खेलमैदान

गाउँमा हुन लागेको फुटबल प्रतियोगिता सफल बनाउन स्थानीय पाँच दिन खटिए
आनन्द गौतम

(ताप्लेजुङ) — सिरिजंघा गाउँपालिका ६ खेबाङका अशोक तुम्याहाङ हल गोरु लिएर निस्किए । काँधमा हलो–जुवा बोकेर गोरु धपाउँदै उनी स्थानीय गणेश माविको खेलमैदानमा पुगे । उनी घरबाट खेतबारी होइन, खेलमैदान जोत्न हिँडेका थिए । मैदान विस्तार र व्यवस्थित बनाउन उनीसँगै हलगोरु नार्नेमा कुमार तुम्याहाङ पनि थिए । ६४ वर्षीय ज्ञानप्रसाद दाहाल हलगोरुको पछिपछि हिँड्थे । 

गोरु नारेर खेलमैदान

उनको जिम्मेवारी ढुंगामा हलो अड्किए झम्पल हानेर निकाल्ने थियो । उनको जोस देखेर युवा ‘काकाले उमेरमा गोठ बसेर घिउ खाएको बल निकाल्नुभयो’ भन्दै हौस्याउँथे । खेलमैदान बनाउने क्रम पाँच दिनसम्म चल्यो । मैदान बनाउन खेबाङमै घर भएका कांग्रेसका सिरिजंघा गाउँपालिका सभापति भीमप्रसाद दाहाल, नेकपाका वडाध्यक्ष पदमलाल पाण्डे लगायतका नेताहरू पनि सहभागी थिए । खेबाङ स्पोर्टिङ क्लबले पहलमा भएको यो काममा ६७ जनाको समूह दैनिक खटिएको थियो । फुटबल प्रतियोगिता गर्नका लागि खेलमैदान सम्याइएको हो । ‘पोहोर सडक खन्न गाउँ आएको एस्काभेटर लगाएर मैदान विस्तार गरेका थियौं,’ क्लब अध्यक्ष विनम माबोले भने, ‘एस्काभेटरले खाल्डाखुल्डी बनाइदिएको थियो । त्यसलाई यसपालि सम्याएर व्यवस्थित गर्‍यौं ।’ ठूला–साना ढुंगा निस्कने र कोदालाले माटो उघाएर अर्को ठाउँमा लैजान पनि सजिलो हुने भएकाले गोरु लगाएर जोतेको अध्यक्ष माबोले बताए । ‘खेतबारी जोतेजस्तो सजिलो त कहाँ हुन्थ्यो र !’ तुम्याहाङले अनुभव बताए, ‘मैदान जोत्न निकै साह्रो रहेछ ।’


गोरुलाई तान्न सजिलो होस् भनेर पहिला सतहमा कोरेपछि दोहोर्‍याएर जोत्दै ढुंगामाटो निकाल्नुपरेको उनले सुनाए ।


जोत्ने क्रममा दुइटा हलोसमेत भाँचिएका थिए । गाउँमा अहिले एक हलगोरु मान्छेको दैनिक ज्याला १५ सय रुपैयाँ छ । आफ्नै स्कुलको मैदान बनाउन कसैले पनि ज्याला नलिई श्रमदान गरेको माबोले बताए । खाजाको व्यवस्था भने क्लब र विद्यालयले मिलेर गरेको थियो । क्लबले असोज १५ देखि प्रतियोगिता आयोजना गर्दै छ जसमा १४ टिमको सहभागिता रहनेछ । प्रतिस्पर्धाका लागि धरान, झापाको बिर्तामोड, इलाम, पाँचथर, तेह्रथुम र ताप्लेजुङका टिम मैदानमा उत्रने क्लब अध्यक्ष माबोले जानकारी दिए ।


राम्रा खेलाडी आउन थालेपछि र दर्शकको चाप बढ्दै गएकाले खेललाई थप व्यवस्थित बनाउन मैदान विस्तार गरिएको उनले बताए । यो गाउँ सदरमुकाम फुङलिङबाट २२ कोष पूर्वमा छ । दर्शक धेरै हुने भएकाले खेल उद्घाटन तथा समापनमा जिल्लाका सांसद र नेताहरू पनि उपस्थित हुन चाहन्छन् । यो वर्ष संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईले समापन कार्यक्रममा आउने वचन दिएको माबोले बताए । गत वर्ष पनि उनी आएका थिए । प्रतियोगिताका विजेताले १ लाख १५ हजार ५ सय र उपविजेताले ५५ हजार ५ सय प्राप्त गर्नेछन् ।


उत्कृष्ट चार विधाका खेलाडी पनि पुरस्कृत हुनेछन् । दसैं केन्द्रित यस प्रतियोगिताको समापन महानवमीका दिन हुनेछ । खेलाडीलाई खाने र बस्ने व्यवस्था गाउँलेले गर्नेछन् । प्रतियोगितामा १५ लाख खर्च हुने अनुमान आयोजकको छ ।

प्रकाशित : आश्विन १५, २०७६ ०७:४०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?