३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

क्यान चुनाव : 'स्वाभाविक र अप्रत्याशित’

विनोद पाण्डे

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) को शनिबार सम्पन्न निर्वाचनमा चतुरबहादुर चन्दको प्यानलले ‘क्लिन स्विप’ नै गर्‍यो । सबै १७ पदमा अत्यधिक बहुमतसहित जित पायो । अब चन्द प्यानलले चार वर्ष नेपाली क्रिकेटको सर्वोच्च संस्था हाँक्नेछ । चन्दको टिमसँग पहिलो चुनौती क्यानको निलम्बन फुकुवा गर्नुहुनेछ ।

क्यान चुनाव : 'स्वाभाविक र अप्रत्याशित’

अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले क्यानलाई २०७३ वैशाखदेखि निलम्बनमा राखेको छ । चन्दकै नेतृत्वमा गरेको निर्वाचनलाई तत्कालीन अध्यक्ष टंक आङबुहाङले अस्वीकार गरेका थिए भने राष्ट्रिय खेलकुद परिषद्ले पनि स्वीकृति दिएको थिएन । त्यसपछि परिषद्ले समानान्तर संघ बनाउँदा क्यानलाई निलम्बन गर्ने बाध्यकारी स्थितिमा आईसीसी पुगेको थियो ।

सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचन गर्न नसकेको भनी आईसीसीले निलम्बन लगाएयता सल्लाहकार समिति, स्वतन्त्र समूह हुँदै शनिबार क्यानको विशेष साधारणसभा तथा कार्यसमिति निर्वाचनबाट निलम्बन फुकुवाको ढोका खुलेको विश्वास गरिएको छ । आईसीसीको अक्टोबर १३ मा बस्ने बैठकले क्यानको निलम्बन फुकुवा गर्नसक्छ ।

चन्दले प्रतिद्वन्द्वी विनयराज पाण्डेमाथि फराकिलो जित पाएका थिए । चन्दको ४४ मत तुलनामा पाण्डेले १५ मतमात्र पाए । चन्द प्यानलका उपाध्यक्ष राजुबावु श्रेष्ठले ४१ मत पाउँदा मिग्मा डन्डु शेर्पाले १७, सचिवमा अशोकनाथ प्याकुर्‍यालले ४३ मत पाउँदा प्रतिद्वन्द्वी विनोद मैनालीले १५, कोषाध्यक्षमा रोशनकुमार सिंहको ४५ मत तुलनामा उपेन्द्र भट्टराईले १२ मतमात्र पाएका थिए । सदस्यको चुनावमा पनि लगभग यस्तै भिन्नता रह्यो ।

जितको मुख्य आधार चन्द पछिल्लो चार वर्ष काम गर्न नपाई अल्झिएर बस्नुपरे पनि क्यानलाई यहाँसम्म ल्याउन भूमिका खेलेकाले धेरै विश्वास पाएको मान्छन् । उनी चुनावी नतिजालाई स्वाभाविक मान्छन् । ‘४० भन्दा बढी मत पाउने अपेक्षा गरेको थिएँ । ४२ भोट मेरो निश्चितजस्तै थियो । समूहमा मेरो सेट थियो । प्रजातान्त्रिक र गैरराजनीतिक मिश्रित टोली थियो । राजनीतिप्रति सद्भाव राख्ने पनि थिए,’ चन्दले भने, ‘सुदूरपश्चिममा २०६१ अघि अन्तर्राष्ट्रिय खेल्ने खेलाडीमा धीरेन्द्र चन्द र प्रेम चौधरीमात्र थिए । अहिले दर्जनभन्दा बढी खेलाडी निस्किइसकेका छन् । सुदूरपश्चिममा मैले ठूलो योगदान गरेको छु ।’ क्यानमा दुई कार्यकाल प्रथम उपाध्यक्ष भई प्रतिपक्षी जस्तै भएर बसेकाले पनि त्यो स्वभावले आफूलाई परिपक्व बनाएको चन्द बताउँछन् ।

‘जिल्लालाई अधिकतम अधिकार दिएर जिम्मेवार बनाउनुपर्छ भनेर आवाज उठाएँ । सरल रूपमा जिल्लासँग समन्वय गरेको हुनाले पनि सबैले मेरो भूमिका बुझेको हुनुपर्छ । देशदौडाहमा घुम्दा धेरै बुझें, उनीहरूले परिवर्तन खोजेको बुझें । मैले फेरि टिमप्रति विश्वास गरें,’ चन्दले जितको रहस्य सुनाए । अध्यक्षका प्रत्याशी पाण्डेले चुनावी नतिजालाई अप्रत्याशित रूपमा लिए । ‘मलाई निकै अप्रत्याशित लागेको छ । मेरो कुनै राजनीतिक पृष्ठभूमि थिएन, क्रिकेट बुझेकाहरूले मत देलान् भन्ने थियो,’ पाण्डेले कान्तिपुरसँग भने, ‘प्यानल त मेरो वशको कुरा होइन, अन्तिममा त्यस्तै स्थिति भएर प्यानल बनाएको थिएँ । २५ भोट त हाम्रोमा छ भन्ने थियो । बाँकीलाई प्रयास गरेको सफल भइएन ।’

उनले नयाँ कार्यसमितिलाई राम्रोसँग क्रिकेट अगाडि बढाउन, आईसीसीको मार्गनिर्देशन पछ्याउन, पहिला जस्तो आर्थिक गडबढ नगर्न सुझाउँदै शुभकामना दिए । जयकुमार नाथ शाहको नेतृत्वमा झन्डै चार दशक महासचिव रहेका पाण्डे २०६३ मा सरकारले बनाएको तदर्थ समितिका अध्यक्ष थिए । उनले पाँच वर्ष क्यानको नेतृत्व गरे ।

चन्दले आगामी यात्राबारे भने, ‘अबको यात्रा चुनौतीपूर्ण छ, सजिलो छैन । सामान्य रूपमा लिएको छैन । धेरै मिहिनेत गर्नुपर्छ । विनय दाइको पनि साथ लिन्छौं । सरकारले पनि काम गर्ने वातावरण बनाइदिन्छ होला । आईसीसीले पनि त्यहीअनुसार समन्वय गर्छ होला ।’

खेलाडीलाई पत्याइएन

निर्वाचन आफैंमा ठूलो खेल हो । क्यानको निर्वाचनमा लडेका मैदानभित्रका पूर्व परिचित खेलाडीहरू नराम्रोसँग पराजित हुन पुगे । नेपालका पूर्व कप्तान पवन अग्रवालले खुला सदस्यमा २० मतमात्र पाए । उनी सातौं स्थानमा रहे । पहिलो पाँच निर्वाचित हुँदा उनी सबैभन्दा कम मत ल्याई विजय भएका करण महतरा क्षेत्रीभन्दा १० मतले पछाडि रहे । राखेपले चन्दको नेतृत्वविरुद्ध बनाएको समानान्तर क्यानमा उनी महासचिव थिए ।

अर्का लोकप्रिय पूर्व खेलाडी प्रफुल वैद्यले कुनै प्यानलबाट नलडेर खुला सदस्यमा प्रतिस्पर्धा गर्दा १६ मतमात्र पाउन सके । नेपाल पहिलो अन्तर्राष्ट्रिय प्रतियोगिता खेल्न सन् १९९६ मलेसिया जाँदा वीरगन्जको बन्द प्रशिक्षणमा रहेका वैद्यले लुम्बिनी एयरवेज, यति एयरलाइन्सको व्यावसायिक क्रिकेट टोली बनाउन ठूलो भुमिका खेलेका थिए । अहिले उनी धनगढी प्रिमियर लिगको फ्रेन्चाइज टोली विराटनगर किंग्सका मालिक हुन् ।

राष्ट्रिय टोलीका प्रशिक्षक रहिसकेका जगत टमाटाको हालत पनि उस्तै रह्यो । स्वतन्त्र भएर खुला सदस्यतर्फ उठेका उनले १५ मतमात्र पाए । कैलालीका टमाटा अछामबाट प्रतिनिधि भएर आउन खोजेका थिए । तर स्वतन्त्र समितिको कानुनी टोलीले मापदण्ड नपुगेको भनी उनको सदस्यता खारेज गरेको थियो । त्यसपछि स्याङजाबाट प्रतिनिधि भएर उनी निर्वाचनमा लडेका थिए ।

धेरैको आश्चर्य कैलाश विष्टलाई लिएर थियो । पाण्डे प्यानलको बलियो मानिएको प्रदेश १ बाट उनी एक्लो भएर चन्दतर्फ थिए । प्रदेश १ को चुनावमा उनले अर्का पूर्व खेलाडी लाक्पा लामालाई ३७-२१ ले पराजित गरेका थिए । नेपाललाई २००१ मा पहिलो अन्तर्राष्ट्रिय उपाधि एसीसी यू-१९ कप दिलाउँदा लामा १५ विकेट लिँदै म्यान अफ द फाइनल र म्यान अफ द सिरिजमा चुनिएका थिए ।

चन्द प्यानलमा लागेर विष्टले सबैलाई आश्चर्यमा पारे । उनी परिषद्का पूर्व सदस्य-सचिव केशवकुमार विष्टका छोरा हुन् । विष्टले नै २०७२ मा चन्द नेतृत्वलाई अस्वीकार गर्दै वर्तमान सचिव रमेशकुमार सिलवालको नेतृत्वमा क्यानको तदर्थ समिति बनाएका थिए । ‘हाम्रो नेतृत्वलाई त्यतिखेर नस्वीकार्दा केशवकुमार विष्टजीलाई गल्ती महसुस भयो होला सायद,’ चन्दले भने ।


यो पनि पढ्नुहोस् : कोषाध्यक्ष सिंहको प्रभाव


प्रकाशित : आश्विन १३, २०७६ ०७:५८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?