कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १३४

'नेपाली ठिटो’ को निर्णायक गोल

राजु घिसिङ

काठमाडौँ — तीन खेलाडीले मैदान छाड्नुपरेको तनावपूर्ण फाइनलमा नेपाली मूलका खेलाडी रविबहादुर रानाको निर्णायक गोलसँगै भारतले आइतबार बंगलादेशलाई २-१ ले हराएर पहिलोपल्ट साफ यू-१८ च्याम्पियनसिपको उपाधि जितेको छ ।

'नेपाली ठिटो’ को निर्णायक गोल

हल्चोकमा भएको तेस्रो संस्करणको तनावपूर्ण फाइनल १-१ को अवस्थामा निर्धारित समयको अन्त्यतिर मोडिएको थियो । तीन मिनेटको इन्ज्युरी समय थपियो । रविले करिब ३० यार्डबाट प्रहार गरेको बलले ९१ औं मिनेटमा जाली चुम्न पुग्यो । भारतीय टिमले सशस्त्र प्रहरी बलको मुख्यालयभित्र रहेको मैदानमा रविको गोल खुसी भव्य रूपमा मनाए । त्यस खुसीयालीमा ‘बेन्च’ का दुई भारतीय खेलाडीले पहेँलो कार्ड नै पाए ।


अन्तत: रविको त्यही गोलले भारत पहिलोपल्ट साफ यू-१८ च्याम्पियन बन्यो । यससँगै भारतले उमेर समूहको दक्षिण एसियाली फुटबलमा सबै प्रतियोगिताको ट्रफी कब्जा गर्‍यो ।


पुर्ख्यौलीथले पोखरा बताउने रविले आफ्नो निर्णायक गोलबारे भने, ‘धेरै खुसी लागेको छ । टिममा सबै खुसी छन् । टिमको उत्साह राम्रो भएको छ ।’


उनले थपे, ‘उपाधि जित्नेमा विश्वस्त थियौं तर खेलको परिस्थति त्यस्तो भएन । पहिला हामीले गोल मार्‍यौं अनि बंगलादेशले पनि मार्‍यो । प्रशिक्षकले जसरी पनि जित्नुपर्छ भने र हामीले त्यसैका लागि खेल्यौं । अन्त्यमा गोल गर्‍यौं र जित्यौं पनि ।’


विक्रमप्रताप सिंहले उत्कृष्ट रूपमा डिफेन्स छक्याउँदै दोस्रो मिनेटमै गोल गरेर भारतलाई १-० ले अघि बढाए । खेल प्रतिस्पर्धात्मक चलिरहेको थियो । फाहिम मोर्सेदले विक्रमलाई ट््याकल गरेपछि दुवै टिमका खेलाडीहरू हातपातमा उत्रिए । यस घटनामा रेफ्री कविन व्यञ्जनकारले भारतका फरवार्ड गुरकिरात सिंहलाई रातो कार्ड देखाए । बंगलादेशका मिडफिल्डर मोहम्मद रिडोय पनि दोस्रो पहेँलो कार्ड बेहोर्दै बाहिरिए ।


रेफ्रीले १२ कार्ड देखाएको खेल थोरै दर्शकबीच पनि प्रतिस्पर्धात्मक रह्यो । बंगलादेशका कप्तान येसिन अराफातले ३९ औं मिनेटमा कर्नरको अवसरमा गोल गर्दै खेल १-१ मा पुर्‍याए । तर, बराबरीमा उनको खुसी टिमलाई महँगो पर्न गयो । खुसी मनाउने क्रममा जर्सी तानेर टाउको छोपेपछि उनलाई रेफ्रीले दोस्रो पहेँलो कार्ड देखाउँदै मैदानबाहिर पठाइदिए । तैपनि बंगलादेशले भारतलाई कडा टक्कर दियो । दुवै टिमले केही मौका गुमाए । र, रविको गोल नै निर्णायक बन्यो ।


इंग्लिस प्रिमियर लिग क्लब टोटेनहम हर्टस्परका पूर्व खेलाडी एन्ड्रयु पिटर टर्नरले सम्हालेको बंगलादेशी टिमबारे रविले भने, ‘बंगलादेशी टिम राम्रो छ । उसका विदेशी प्रशिक्षक ट्याक्टिस राम्रो छ । आफ्नो ट्याक्टिस बचाए । फाइनलमा जस्तो टिम भएपनि दबाब हुन्छ । त्यस्तै भयो तर हामीले जित्यौं ।’ उनको खेल हेर्न हल्चोक पुगेका ठूलो बुवाका छोरा अशोकले भने, ‘भाइले गोल गरे, हामी खुसीले उफ्रियौं ।’


भारतीय सेनाबाट हालै रिटायर्ड भएका धनबहादुरका कान्छो छोरा रविले नेपालमा जितेको यो दोस्रो उपाधि हो । यसअघि उनले सन् २०१७ मा सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको साफ यू-१५ च्याम्पियनसिपको उपाधि हात पारेका थिए । त्यसबेला उनको टिमले फाइनलमा नेपाललाई २-१ ले हराएको थियो । रविले समूह चरणमा ३ गोल गरेका थिए । साफ यू-१८ मा भने एकमात्र गोल गरे फाइनलमा । त्यसपछि फेरि नेपाल आएर उनको टिम एएफसी यू-१९ च्याम्पियनसिप २०१८ मा छनोट भएको थियो ।


‘नेपालमा खेल्न रमाइलो लाग्छ । खेल हेर्न मेरा दाइहरू पनि आउनुहुन्छ,’ हिन्दी लवजमा रविले सुनाए, ‘यू-१६ खेल्दा सातदोबाटोमा धेरै दर्शक थिए, यता (हल्चोक) मा थोरै रहेछ । जसको समर्थक भए पनि धेरै दर्शक भयो भने खेल्न मज्जा आउँछ ।’


सातदोबाटोमा तेस्रो स्थानका लागि भएको खेलमा माल्दिभ्सले भुटानलाई १-० ले हरायो । साफ यू-१८ को अघिल्ला दुवै संस्करणमा नेपाल च्याम्पियन भएको थियो । यसपालि समूह चरणबाटै बाहिरिएको नेपाली टिमबारे रविले भने, ‘नेपाल राम्रो टिम हो । भारतसँग सधैं राम्रो खेल्छ । तर, भुटानलाई सजिलो मानेजस्तो लाग्यो र त्यस्तो (हार) भयो । फुटबलमा कुनैपनि प्रतिद्वन्द्वीलाई सजिलो मान्नुहुँदैन ।’ उनले साफ यू-१६ को फाइनलमा खेलेको नेपाली टिमबारे भने, ‘त्यो टिम धेरै राम्रो थियो । हामीले उपाधि जिते पनि धेरै गाह्रो परेको थियो ।’


जम्मूमा जन्मिएका रविका तीन दाइ (रमेश, रन्जित, रणे) भारतीय सेनामा कार्यरत छन् । उनको परिवार जम्मूमै बस्छन् । उनी भने फुटबलमै करिअर बनाइरहेका छन् । जम्मूमै हुर्किएका उनी ६ वर्षयता टाटा फुटबल एकेडेमीमा प्रशिक्षण गरिरहेका छन् । तीन वर्षयता भारतको उमेर समूहको टिममा निरन्तर रहेका उनले भने, ‘अब एएफसी यू-१९ च्याम्पियनसिपको छनोट खेल्दैछौं ।’ प्रशिक्षकको चाहना अनुसार फुलब्याक र विंग्समा खेल्ने गरेका उनका सपना बार्सिलोनामा खेल्ने हो । त्यसका लागि कडा मिहिनेत गर्ने उनले वाचा गरे ।


भारतको राष्ट्रिय टिमबाट नेहरू कप २०१९ मा सिरियाविरुद्ध १-१ मा टुंगिएको खेलमा गोल गरेका डिफेन्डर नरेन्दरको साथ पाएको युवा टिमले तेस्रो साफको समूह चरणको भेटमा बंगलादेशविरुद्ध गोलहित खेलेको थियो । भारतको युवा टिममा फिफा यू-१७ विश्वकप खेलेका चार खेलाडी पनि छन् ।


उसको युवा टिमका अधिकांश खेलाडी आई लिग र आईएसएल क्लबमा आबद्ध भइसकेका छन् । नर्थ इस्ट युनाइटेडमा अनुबन्धित मिडफिल्डर निन्थोइगान्बा मिते यो साफ यू-१८ को मोस्ट भ्यालुयबल प्लेयर घोषित भए । रवि भने फुटबल खेलाडी उत्पादनका लागि चर्चित एकेडेमी टाटाबाटै यू-१९ लिग खेलिरहेका छन् । उनलाई नोभेम्बरमा एएफसी यू-१९ छनोटपछि आई लिग वा आईएसएल क्लब रोज्ने अवसर छ ।

प्रकाशित : आश्विन १३, २०७६ ०७:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?