२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

पारसको कीर्तिमानी शतक, ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालको सानदार जित

कान्तिपुर संवाददाता

काठमाडौँ — कप्तान पारस खड्काले कीर्तिमानी शतक प्रहार गरेपछि नेपालले शनिबार त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा सिंगापुरविरुद्ध ९ विकेटको सानदार जित पाएको छ । नेपाल शुक्रबार जिम्बावेसँग ५ विकेटले हार बेहोरेको थियो ।

पारसको कीर्तिमानी शतक, ट्वान्टी–२० शृंखलाको दोस्रो खेलमा नेपालको सानदार जित

इन्डियन एसोसिएसन मैदानमा घरेलु टोली सिंगापुरले दिएको १ सय ५२ रनको लक्ष्य १६ ओभरमै भेट्टाउने क्रममा पारसले ५२ बल खेल्दै अविजित १०६ रन जोडे । उनले ७ चौका र ९ छक्का प्रहार गरे । पारसले १५ औं ओभरको अन्तिम बलमा सिंगापुरका कप्तान तिमोथी डेविडको बलमा छक्का प्रहार गरी ४९ बलमा शतक पूरा गरेका हुन् ।


ट्वान्टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा शतक प्रहार गर्ने पारस पहिलो नेपाली ब्याट्सम्यान बनेका छन् । यसअघि असार २८ मा मलेसियासँगको मैत्रीपूर्ण शृंखलामा पारसले सर्वाधिक ८६ रनको इनिङ्स खेलेका थिए । ट्वान्टी–२० क्रिकेटमा भने यसअघि यो कीर्तिमान महबुव आलमको नाममा थियो । उनले सन् २०११ को एसीसी ट्वान्टी–२० कपमा साउदी अरेबियाविरुद्ध ८८ रनको इनिङ्स खेलेका थिए ।


कप्तान पारस र ओपनर आरिफ शेखबीच दोस्रो विकेटमा १ सय ४५ रनको अविजित साझेदारी भयो । यो पनि ट्वान्टी–२० क्रिकेटमा नेपाली ब्याट्सम्यानको कीर्तिमानी साझेदारी थियो । ओपनर इशान पाण्डे १.३ ओभरमा आउट भएपछि आएका पारस र आरिफबीच १४.३ ओभरमा १ सय ४५ रनको साझेदारी सम्भव भएको हो । कप्तानलाई राम्रो साथ दिएका आरिफले ३८ बलमा ५ चौकाको सहयोगमा ३९ रन जोडे ।


यसअघि टस जितेर ब्याटिङ गरेको सिंगापुरले ३ विकेट गुमाई १ सय ५१ रन बनाएको थियो । कप्तान तिमोथीले अविजित ६४ रन जोडे । उनले ४४ बलमा ३ चौका र ४ छक्का प्रहार गरे । ट्वान्टी–२० अन्तर्राष्ट्रियमा सिनियर टिमबाट डेब्यु गरेका बलर सुशन श्रेष्ठको बलमा बोल्ड हुनुअघि सिंगापुरका ओपनर सुरेन्द्रन चन्द्रमोहनले ३५ रन बनाए । जनक प्रकाशले पनि अविजित २५ रन बनाए । नेपालका करण केसीले २ विकेट लिए । शृंखलाअन्तर्गत नेपालले मंगलबार जिम्बावेसँग खेल्नेछ ।

प्रकाशित : आश्विन ११, २०७६ २०:४३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?