१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२४

क्यान निर्वाचन : विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच लडाइँ

विनोद पाण्डे

काठमाडौँ — झन्डै साढे तीन वर्ष अन्तर्राष्ट्रिय क्रिकेटमा निलम्बन रहेको नेपाल क्रिकेट संघ (क्यान) ले शनिबार नयाँ नेतृत्व पाउने भएको छ । 
विशेष साधारणसभा तथा कार्यसमिति निर्वाचनसँगै क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध हट्ने विश्वास लिइएको छ ।

क्यान निर्वाचन : विनयराज पाण्डे र चतुरबहादुर चन्दबीच लडाइँ

अध्यक्षका प्रत्याशी विनयराज पाण्डे र चतुरबहादुर चन्द आ-आफ्नो प्यानल बनाएर चुनावी मैदानमा उत्रिएका छन् । अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्ष र १३ सदस्य शनिबारको निर्वाचनबाट चुनिने छन् । १३ सदस्यमा एक महिला हुनुपर्ने क्यानको नयाँ विधानमा रहेको छ ।


नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०७३ को वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । नेपाली क्रिकेटलाई नयाँ ढंगले ब्युँत्याउनेक्रममा आईसीसीले सल्लाहकार समिति हुदै स्वतन्त्र समितिबाट आएको नयाँ विधानमार्फत क्यानको निर्वाचन गराउन लागेको हो ।


साधारणसभाको उद्घाटन गर्दै युवा तथा खेलकुद मन्त्री जगतबहादुर विश्वकर्माले साढे तीन वर्षसम्म नेपाली क्रिकेट निलम्बन हुनु निकै दुर्भाग्य भएको बताए । उनले हिजो कसका कारण निलम्बन भएको भन्दा पनि अब भोलिका दिनमा कसरी नेपाली क्रिकेट अगाडि बढाउने भन्नेमा केन्द्रित हुनुपर्नेमा सुझाए । राष्ट्रिय खेलकुद परिषद्का सदस्य-सचिव रमेशकुमार सिलवालले क्यानको निलम्बन फुकुवाका लागि निर्वाचन एउटा पाटो भए पनि अन्य धेरै पक्षमा ध्यान दिनुपर्ने हुनाले सबैले मिलेर सर्वसम्मत नेतृत्व ल्याउन आह्वान गरे ।


चन्द २०७२ मा भएको निर्वाचनबाट अध्यक्षमा चुनिएका थिए । तत्कालीन अध्यक्ष टंक आङबुहाङसहितको टोलीले त्यो साधारणसभालाई बहिष्कार गरेको थियो भने राष्ट्रिय खेलकुद परिषद्ले त्यसलाई मान्यता दिएको थिएन । प्रहरीले हस्तक्षेप गरेको त्यही साधारणसभाबाट चन्द अध्यक्षमा आए पनि आईसीसीले केही समयपछि नै क्यानलाई निलम्बन गरेको थियो । जयकुमार नाथ शाह अध्यक्ष हुँदा झन्डै चार दशक महासचिव रहेका पाण्डे २०६२ मा सरकारले बनाएको तदर्थ समितिका अध्यक्ष थिए । उनले ५ वर्ष क्यान सम्हालेका थिए ।


चन्दको प्यानलबाट उपाध्यक्षमा राजुबावु श्रेष्ठ, अशोकनाथ प्याकुर्‍याल महासचिव र रोशन सिंह कोषाध्यक्षमा उठ्दैछन् । त्यस्तै पाण्डे प्यानलबाट मिङमा डन्डु शेर्पा उपाध्यक्ष, विनोद मैनाली सचिव र उपेन्द्रप्रसाद भट्टराई कोषाध्यक्षमा उम्मेदवारी दिँदै छन् ।


चन्द समूहका सदस्य सूचीमा प्रशान्त मल्ल, दाउद अन्सारी, माधव कर्माचार्य, अमित पाण्डे, सञ्जय सिंह, दुर्गा पाठक, पदमबहादुर खड्का, ऋषिराम गौतम, कैलाश विष्ट, वीरेन्द्रबहादुर चन्द रहेका छन् भने आकांक्षीमा करण महतारा क्षेत्री देखिएका छन् । कैलाश राखेपका निवर्तमान सदस्यसचिव केशवकुमार विष्टका छोरा हुन् । त्यस्तै पाण्डे समूहबाट पवन अग्रवाल, लाक्पा लामा, कैलाश प्रधान सदस्यमा उठ्दै छन् । दुवै टोलीले अझै सदस्यमा उठ्ने सूचीको पूर्ण टुंगो लगाइसकेको छैन ।


प्रत्येक प्रदेशमा एक सदस्य

शुक्रबारको बन्दसत्रले प्रत्येक प्रदेशमा एक अनिवार्य सदस्य हुनुपर्ने मतदानबाट पारित गरेको छ । ‘प्रत्येक प्रदेशमा एक सदस्य हुनुपर्नेछ, तर त्यसका लागि ५९ जनाले नै मतदान गर्नुपर्ने नियम पारित भएको छ,’ स्वतन्त्र समितिका कानुनी सल्लाहकार राजेश्वर श्रेष्ठले कान्तिपुरसँग भने, ‘विधानमा स्पष्ट छैन, हरेक प्रदेशबाट एउटा ल्याउनुपर्छ भन्ने छ, सदस्य नै हुनुपर्ने भनेको छैन । अब हरेक प्रदेशमा एक सदस्य अनिवार्य हुनुपर्नेछ ।’


एकमात्र महिला प्रतिनिधि

क्यानका लागि प्रतिनिधि भएर आएकामा जयन्ती भट्ट एकमात्र महिला सदस्य हुन् । क्यानको विधानमा १३ मध्ये एक महिला सदस्य हुनुपर्ने भन्ने छ । शुक्रबारको बन्दसत्रले त्यसको पनि टुंगो लगाएको कानुनी सल्लाहकार श्रेष्ठले जनाए । उनले भने, ‘उहाँ (भट्ट) ले चुनाव नलडेको खण्डमा पद स्वत: खाली हुनेछ र केन्द्रीय कार्यसमितिमा १२ जनामात्र सदस्य हुनेछन् । उम्मेदवारी दिएको खण्डमा उहाँ स्वत: निर्वाचित हुनुहुनेछ ।’


आईसीसीद्वारा गठित स्वतन्त्र समितिको ५ सदस्य र राखेपका दुई पर्यवेक्षक र श्रेष्ठसहितको व्यवस्थापन समितिले शनिबार क्यान निर्वाचन गराउने छ । स्वतन्त्र समितिमा रहेका आईसीसीका तीन व्यक्ति मध्ये नितिशा कोठारी र इम्तियाज अली शुक्रबार साधारणसभाको उद्घाटन समारोह र बन्दसत्रमा रहेका थिए । अलीले नेपाली क्रिकेटको पछिल्लो अवस्थाबारे आईसीसी अवगत रहेको बताए ।

प्रकाशित : आश्विन ११, २०७६ ०८:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिभुवन विश्वविद्यालयमा बारम्बार परीक्षार्थीको उत्तरपुस्तिका हराउने गरेको छ। यसको समाधान कसरी हुन्छ?