पोचेटिनोको दाबी, 'समस्या सुल्झन्छ'

पोचेटिनोले आफ्नो लामो फुटबल करिअरमा दुई ठूला दु:ख बेहोरेका छन्
द गार्डियन

लन्डन — माउरिसियो पोचेटिनो अचेल खुसी छैनन् । उनी किन खुसी छैनन् भने नयाँ सिजनमा टोटेनहमले खेल्न सकिरहेको छैन । इंग्लिस लिग कपमा टोटेनहमले थप धक्का बेहोरेको छ । टिम पेनाल्टी शुटआउटमा लिग-टु टिम कोल्चेस्टरसँग पराजित रह्यो । उनले आफ्नो लामो फुटबल करिअरमा दुई ठूला दु:ख बेहोरेका छन् । त्यसममध्ये पहिलो छ, सन् २००२ को विश्वकप । त्यतिबेला उनी अर्जेन्टिनाका लागि सेन्ट्रल हाफबाट खेलिरहेका थिए । 

पोचेटिनोको दाबी, 'समस्या सुल्झन्छ'

त्यसबेला माइकल ओवेनले पोचेटिनोकै नाकमुनिबाट पेनाल्टीको अवसर जितेका थिए । त्यसलाई डेविड बेकह्यामले गोलमा परिणत गरे । अर्जेन्टिना इंग्ल्यान्डको हातबाट १-० ले पराजित रह्यो । त्यो अर्जेन्टिनाको समूहमा दोस्रो खेल थियो । पोचेटिनोले त्यतिबेला के दाबी गरेका थिए भने ओवेनले ‘डाइभ’ गरेका थिए पेनाल्टी जित्न । तर उनको यो दाबी कसैलाई चित्त बुझेको छैन । धेरैले यसलाई हाँसोमा उडाउने पनि गर्ने गरेका छन् ।


तर सबैलाई के थाहा छैन भने त्यो एक क्षणले पोचेटिनोलाई हदैसम्म दुखित बनाएको थियो । पूरा घटनाक्रमले उनलाई नराम्रोसँग प्रभावित पार्‍यो । ‘विश्वकप जित्ने मेरो ठूलो सपना थियो,’ पछि पोचेटिनोले भने, ‘हामी लिग चरणका तीन खेलपछि नै घरतिर लाग्यौं । ओवेनको पेनाल्टी अगाडि हामी ३-४ वर्षसम्म अपराजित थियौं । तर हामीले विश्वकपमा निकै खराब खेल्यौं र समूह चरणबाटै बाहिरियौं । त्यसपछि म एउटै कोठामा १० दिन रहें । पटक्कै बाहिर पनि निस्कन मन लागेन ।’


उनको जीवनको अर्को ठूलो दु:ख हो, युरोपेली च्याम्पियन्स लिग फाइनलमा टोटेनहम गत सिजन लिभरपुलको हातबाट पराजित रहनु । उनी व्यवस्थापकका रूपमा पहिलो उपाधि जित्ने उद्देश्यमा थिए । उनको टिमले फाइनलसम्म यात्रा अविश्वसनीय रूपमा तय गरेको थियो । टोटेनहम लगभग उपाधि जित्ने संघारमा थियो । तर, उपाधि भिडन्तमा टोटेनहमको प्रदर्शन अपेक्षाअनुसार रहेन । हारपछिको पीडा पोचेटिनोका लगि उत्तिकै असह्य रह्यो ।


‘च्याम्पियन्स लिग जित्नु सपनाभन्दा पनि धेरै ठूलो थियो । तर हामीले सकेनौं र म वास्तवमै निकै निरास रहें । उनी भन्छन्, ‘मैले त्यसबेला घर जान ट्रेन समाएँ । म निकै तनावमा रहें ।’ बार्सिलोनामा पोचेटिनोको आफ्नो घर छ । त्यो म्याड्रिडबाट बार्सिलोनाको यात्रा थियो । नयाँ सिजन टोटेनहमका लागि अझ एकपछि अर्को परीक्षा भएको छ । टोटेनहमले सुरुमै न्युकासलसँगको खेल गुमायो । त्यो पनि घरमै । त्यसयता आर्सनल, ओलम्पियाकोज र लेस्टरविरुद्धको खेलमा सुरुआती अग्रताको फाइदा उठाउन सकेन ।

यी खेलमा टोटेनहम दुईमा बराबरीमा रह्यो भने एकमा त पराजित भयो । कोल्चेस्टरको खेलअघि टोटेनहम ८ खेलमध्ये २ मा मात्र विजयी रहेको थियो । त्यो हारयता टोटेनहमले मान्यो, लिगका सुरुआती दिन लिगको अन्त्यतिरको दिनभन्दा पनि कठिन हुने गर्छ । कोल्चेस्टरविरुद्धको खेल गुमाएयता आयोजित पोस्टम्याच कन्फ्रेन्समा उनले ५० मिनेट बोले । यस्तो बिरलै हुने गर्छ । अझ उनले आफ्नो धारणा अझ प्रस्ट राख्न स्पेनी भाषाको पनि सहयोग लिए ।


उनको विश्वास छ, लिगमा

साउथह्याम्पटनको सामना गर्दा लगभग सबैखाले समस्या सकिसकेको हुनेछ । सिजनको सुरुमा केही खेलाडीलाई लिएर तनाव थियो । केही खेलाडी टिम छाड्ने मनसायमा थिए । यसले टिमको ध्यान खेलभन्दा पनि अरूतिर नै बढी मोडिएको थियो । तर पनि पोचेटिनो उत्साही रहेको देखाउन चाहन्छन् । उनी भन्छन्, ‘केही धेरै बिग्रेको पक्कै पन छैन । केही समयका लागि आएको समस्या हो, यो । हामी समाधान खोज्न सफल रहने छौं ।’


उनी के पनि मान्छन् भने टोटेनहममा जस्तो समस्या रहेको मानिएको छ, वास्तवमा त्यस्तो छैन पनि । उनी भन्छन्, टिममा त्यस्तो खराव वातावरण पनि छैन । कुनै पनि उपाधि जित्ने काम सजिलो छैन, त्यसैले यो टोटेनहमका लागि पनि पक्कै सजिलो छैन । उनको के पनि विश्वास छ भने टोटेनहमले चाँडै केही जित्ने छ । उनी दाबी गर्छन्, ‘टोटेनहमले उपाधि जित्ने छ भन्नेमा म विश्वस्त छु । म भन्छु, यो चाँडै हुनेछ पनि ।’

-

प्रकाशित : आश्विन ११, २०७६ ०८:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भ्रष्टाचारी ठहर कांग्रेस सांसद टेकबहादुर गुरूङको निलम्बन फुकुवा गर्ने सर्वोच्च अदालतको आदेश र आदेश कार्यान्वयनका लागि अदालत प्रशासनले देखाएको सक्रियताबारे के भन्नुहुन्छ ?