कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नेपाल जिम्बावेसँग ५ विकेटले पराजित

कुशल तिमल्सिना

काठमाडौँ — नेपाली क्रिकेट टोली सिंगापुरमा जारी त्रिकोणात्मक ट्वान्टी–२० शृंखला अन्तर्गत पहिलो खेलमा टेष्ट मान्यताप्राप्त टोली जिम्बावेसँग ५ विकेटले पराजित भएको छ । शुक्रबार साँझ सिंगापुरको इन्डियन एसोसियसन क्रिकेट मैदानमा नेपालले दिएको १ सय ३३ रनको लक्ष्य सिंगापुरले ५ विकेट गुमाएर ११ बल अगावै भेट्टायो ।

नेपाल जिम्बावेसँग ५ विकेटले पराजित

टस जितेर ब्याटिङ रोजेको नेपालको सुरुआत राम्रो हुन सकेन । मध्यक्रममा उपकप्तान दीपेन्द्र सिंह ऐरी र सोमपाल कामीले केहि आक्रामक शट खेलेपछि नेपालले निर्धारित ओभरमा ६ विकेट गुमाएर १ सय ३२ रनको सामान्य योगफल खडा गरेको थियो ।


सिनियर टोलीबाट डेब्यू गरेका इशान पान्डेले कप्तान पारस खड्कासँगै ओपनिङ गरेका थिए । उनले ८ बलमा एक चौकासहित ४ रनमात्र बनाउन सके । तेस्रो नम्बरमा आएका आरिफ शेख पनि ८ रनमै आउट हुँदा नेपाल ६.४ ओभरमा ३२–२ को स्थितिमा थियो । अर्को ओभरमा कप्तान पारस पनि १८ रनको स्कोरमा आउट भए । उनले २२ बल खेलेर ३ चौका प्रहार गरे ।


पाँचौं नम्बरमा ब्याटिङमा आएर अर्का युवा खेलाडी कुशल मल्लले पनि सिनियर टोलीबाट डेब्यू गरे । उननले ६ बलमा २ रनमात्र जोड्न सके । १०.१ ओभरमा नेपालले ५५ रन बनाउँदा ४ विकेट गुमाइसकेको थियो ।


पाँचौं विकेटका लागि दीपेन्द्र र सन्दीप जोराले ३४ रनको साझेदारी गरे । १५.२ ओभरमा नेभिल माद्जिवाको बलमा क्याच आउट हुनुअघि सन्दीपले १५ बलमा २ चौकाको सहयोगमा १७ रनको योगदान गरे । अर्को ओभरमा दीपेन्द्र पनि व्यक्तिगत ४० रनको स्कोरमा आउट हुँदा नेपालले ९५ रन जोडेको थियो । नेपालको तर्फबाट सर्बाधिक रन बटुलेका दीपेन्द्रले ३३ बलमा ५ चौका प्रहार गरे ।


सातौं विकेटका लागि वकेटकिपर ब्याट्सम्यान विनोद भण्डारी र सोमपाल कामीले ३७ रनको अविजित साझेदारी गरे । १४ बल खेलेका सोमपालले अविजित २५ रन बनाउने क्रममा ३ छक्का प्रहार गरे । विनोद १२ बलमा १ चौकासहित ११ रनमा अविजित रहे ।


बलिङमा जिम्बावेका सीन विलियम्सले २ विकेट लिए । विलिङटन मासाकाद्जा, तेन्दाइ चतारा, मादजिभा र रायन बर्लले १/१ विकेट बाँडे ।


सन्दीप लामिछानेले घातक बलिङ गरेपछि १ सय ३३ रनको लक्ष्य पछ्याएको जिम्बावेको पनि सुरुआत राम्रो रहेन । उसका शीर्ष क्रमका तीन ब्याट्सम्यानले खाता खोल्नै सकेनन् । दोस्रो ओभरमै सन्दीपले ओपनर रिक्स चाकाब्भालाई आरिफको हातबाट क्याचआउट गराए । चौथो ओभरमा उनले २ विकेट लिए । पहिलो बलमा उनले टिनोतेम्बा मोतोम्बोड्जीलाई इशान पान्डेमार्फत क्याच आउट गराए । सोही ओभरको पाँचौं बलमा कप्तान सीन विलियम्स पनि खाता खोल्नै नपाइ कट एन्ड बोल्ड भए ।


ओपनर बरिन चारीले कुशल मल्लको बलमा उपकप्तान दीपेन्द्रको हातबाट रनआउटको शिकार हुनुअघि १८ बलमा ४ चौकासहित १९ रन बनाएका थिए । ४.१ ओभरमा जिम्बावेले ४ विकेट गुमाएर ३७ रन जोडेको थियो । दशौं ओभरको अन्तिम बलमा कप्तान पारसले टिमीसेन मारुमालाई १२ रनको स्कोरमा बोल्ड गरे । उनले २१ बल खेलेर ६ छक्का प्रहार गरे ।


पाँचौं विकेटका लागि रायन बर्ल र रिचमोन्ड मुतुम्बामीले ६९ रनको अविजित साझेदारी गरेपछि जिम्बावेको सहज जित हात पार्‍यो । बर्लले ३६ बलमा ४१ तथा मुतुम्बामीले २८ बलमा ४० रनको विष्फोटक इनिङ्स खेले ।


बलिङमा सन्दीपले ४ ओभरमा १५ रन खर्चेर ३ विकेट लिए । कप्तान पारसले १ विकेट झारे ।


प्रकाशित : आश्विन १०, २०७६ २१:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?