२९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ३००

एकैपथमा नेपाल र जिम्बावे

विनोद पाण्डे

काठमाडौँ — नेपाल र जिम्बावेको क्रिकेटमा धेरै समानता छ अहिले । दुवै देशको क्रिकेट टोलीलाई प्रतिबन्ध र निलम्बनले पिरोलेको छ । यही पृष्ठभूमिमा यी दुई टोली सिंगापुरमा शुक्रबार सुरु हुने त्रिकोणात्मक ट्वान्टी–२० शृंखलाको पहिलो खेलमा भिड्दैछन् । प्रतियोगितामा सहभागी अर्को टोली आयोजक सिंगापुर हो ।

एकैपथमा नेपाल र जिम्बावे

नेपाल क्रिकेट संघ (क्यान) को शनिबार साधारणसभामार्फत नयाँ नेतृत्व आउँदै छ । यसले साढे तीन वर्षअघि क्यानमाथि अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले लगाएको प्रतिबन्ध फुकुवाक्रममा पुगेको छ । नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप र निष्पक्ष निर्वाचन गर्न नसकेको भनी आईसीसीले २०७३ को वैशाखमा क्यानलाई निलम्बन गरेको थियो ।


विश्व क्रिकेटको सर्वोच्च निकायबाट निलम्बन हुने जिम्बावे पछिल्लो राष्ट्र हो । जिम्बावेको क्रिकेटमाथि सरकारी हस्तक्षेप भएको भनी टेस्ट राष्ट्रलाई निलम्बन गरेको तीन महिना पुगेको छैन । जिम्बावेको क्रिकेट बोर्ड अस्तित्वमा रहँदारहँदै त्यहाँको सरकारले छुट्टै एउटा खेलकुद कमिटी बनाएपछि आईसीसीले निलम्बन गरेको थियो ।


क्यानले यस्तो अनुभव २०७२ को मंसिरमै भोगिसकेको थियो । २०७२ मा भएको क्यानको साधारणसभालाई तत्कालीन अध्यक्ष टंक आङबुहाङसहितको टोलीले बहिष्कार गरेको थियो भने राष्ट्रिय खेलकुद परिषद्ले त्यसलाई मान्यता दिएको थिएन । प्रहरीले हस्तक्षेप गरेको त्यही साधारणसभाबाट क्यानको नयाँ नेतृत्व आयो । तर ६ महिना पनि नबित्दै आईसीसीले क्यानलाई निलम्बन गरेको थियो ।


क्यानलाई निलम्बन गरे पनि नेपाली क्रिकेट टोलीलाई भने अन्तर्राष्ट्रिय प्रतियोगिताहरू खेल्न दिइरहेको छ । निलम्बनको डेढ वर्षअघि नै आईसीसीले नेपाललाई दिँदै आएको अनुदान रोक्का गरेको थियो, जुन अहिलेसम्म कायमै छ । आईसीसीकै पूर्ण रेखदेखमा नेपाली क्रिकेटले अन्तर्राष्ट्रिय प्रतियोगितामा सहभागिता जनाइरहेको छ । आईसीसीले निलम्बन गरेपछि जिम्बावेलाई पनि दिँदै आएको अनुदान रोकेको छ ।


निलम्बनपछि जिम्बावेलाई आईसीसीले आयोजना गरेको प्रतियोगितामा खेल्न दिइएको छैन । जिम्बावेको महिला क्रिकेट टोलीले निलम्बनका कारण अगस्टमा आईसीसी ट्वान्टी–२० विश्व छनोट खेल्न पाएन । जिम्बावेको पुरुष टोलीले दुई सातापछि यूएईमा हुने विश्व ट्वान्टी–२० छनोट पनि निलम्बनकै कारण खेल्ने छैन । नेपाल पनि विश्व ट्वान्टी–२० मा सहभागी हुने छैन, निलम्बनका कारण नभई छनोट नभएकाले ।


सिंगापुरमै दुई महिनाअघि भएको विश्व ट्वान्टी–२० छनोटको एसिया क्षेत्रमा नेपाल चुकेको थियो । सिंगापुर विजेता बन्दै अक्टोबरमा यूएईमा हुने विश्व ट्वान्टी–२० छनोटमा खेल्नेक्रममा छ । त्यसैको तयारीस्वरुप सिंगापुरले अहिले यो प्रतियोगिता आयोजना गर्दै छ । कतारपछि नेपाल छनोटमा तेस्रो स्थान रहेको थियो । सिंगापुरसँग अन्तिम एवं निर्णायक खेलमा पराजित हुनुअघि नेपाललाई कतारले पनि पराजित गरेको थियो ।


जिम्बावेलाई द्विपक्षीय शृंखला र आमन्त्रण प्रतियोगिता खेल्न आईसीसीले अनुमति दिएको छ । सोही कारण जिम्बावेले त्रिकोणात्मक ट्वान्टी–२० शृंखला खेलिरहेको छ । जिम्बावे निलम्बन हुँदैनथ्यो र नेपालले एसिया छनोटमा आशा गरिएअनुरुपकै नतिजा निकाल्थ्यो भने दुवै टोली अहिले विश्व ट्वान्टी–२० छनोटको प्रमुख तयारीमा हुन्थे । विश्व ट्वान्टी–२० छनोटमा पुग्न नसकेपछि नेपाली टोलीमा धेरै परिवर्तन गरिएको छ । उपकप्तान ज्ञानेन्द्र मल्ल पारिवारिक कारण देखाई सिंगापुर र त्यसलगत्तै ओमानमा हुने पाँच राष्ट्रसम्मिलित ट्वान्टी–२० शृंखलामा खेलिरहेका छैनन् । सिंगापुरपछि ओमानमा नेपाल, हङकङसहित आयरल्यान्ड र नेदरल्यान्ड्सले अक्टोबर ५ देखि १० सम्म प्रतिस्पर्धा गर्ने प्रतियोगितामा अनुभवी ब्याट्सम्यान शरद भेषावकर र स्पिनर वसन्त रेग्मीलाई टोलीमा राखिएको छैन ।


युवा खेलाडीलाई मौका दिनेक्रममा कुशल मल्ल र इशान्त पाण्डेले पहिलोपल्ट राष्ट्रिय टोलीमा स्थान पाएका छन् । सन्दीप जोरा, आरिफ शेख र सुशन भारीले नेपाली टोलीमा पुनरागमन गरेका छन् । आरिफ र जोरालाई विश्व ट्वान्टी–२० छनोटको एसिया क्षेत्रमा नेपाली टोलीमा राखिएको थिएन । एक हिसाबले नेपाली टोलीमा ५ नयाँ खेलाडी छन् । नेपालले ट्वान्टी–२० मा पहिलोपल्ट जिम्बावेसँग खेल्न लागेको हो । गत वर्ष अप्रिलमा जिम्बावेमा भएको विश्वकप छनोटमा नेपालले जिम्बावेसँग खेलेको थियो । टेस्ट राष्ट्रसँग त्यो नेपालको एकदिवसीयमा पहिलो खेल थियो । सिकन्दर राजाले ६६ बलमा १ सय २३ र ब्रेन्डन टेलरले १ सय १ रन बनाएपछि जिम्बावेले नेपाललाई १ सय १६ रनले पराजित गरेको थियो । जिम्बावेले ३ सय ८० रन बनाएको जवाफ दिनेक्रममा शरदले ५२ रन बनाए पनि नेपालले ८ विकेट गुमाई २ सय ६४ रनमात्र बनाउन सकेको थियो ।


बंगलादेशमा त्रिकोणात्मक शृंखला खेलेर जिम्बावेको टोली सिंगापुर पुगेको हो । अफगानिस्तानसम्मिलित प्रतियोगितामा जिम्बावे पुछारमा थियो । जिम्बावेले अन्तिम खेलमा अफगानिस्तानलाई ७ विकेटले पराजित गरेको थियो । कप्तान ह्यामिल्टन मासकाद्जाले ४२ बलमा बनाएको ७१ रनमा जिम्बावेले ट्वान्टी–२० अन्तर्राष्ट्रियमा पहिलोपल्ट अफगानिस्तानलाई पराजित गरेको थियो ।


मासाकाद्जाको त्यो अन्तिम खेल थियो । उनले अफगानिस्तानसँगको सोही खेलबाट अन्तर्राष्ट्रिय क्रिकेट टुंग्याइसकेका छन् । राजा पनि जिम्बावेको टोलीमा छैनन् । विश्वकप छनोटमा नेपालविरुद्ध अर्धशतक बनाएका ओपनर सोलोमन मिरले पनि संन्यास लिइसकेका छन् । नेपालजस्तै जिम्बावे पनि नौलो देखिएको छ ।


सिंगापुरमा डबल राउन्ड रोबिनमा हुने खेलमा एक टोलीले अर्को दुईपल्ट प्रतिस्पर्धा गर्नेछ र त्यसैबाट विजेता छान्ने छ । नेपालले जिम्बावे र सिंगापुरसँग २–२ पटक खेल्नेछ । नेपाल र जिम्बावे दुवै क्रिकेट टोलीको उद्देश्य निलम्बनको धङ्धङीबाट उन्मुक्ति पाई मैदानमा केन्द्रित हुनु छ । सिंगापुरको प्रतियोगिता चलिरहँदा क्यानको निर्वाचन सम्पन्न भइसक्नेछ र नेपाली क्रिकेट निलम्बन फुकुवातिर अग्रसर हुने विश्वास लिइएको छ ।


प्रकाशित : आश्विन १०, २०७६ ०९:४५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?