२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९२

क्रिकेटको चुनावी सरगर्मी

विनोद पाण्डे

काठमाडौँ — पछिल्लो चार वर्षमा विभिन्न आरोहअवरोह पार गरेको नेपाल क्रिकेट संघ (क्यान) ले यसै साता निकास पाउँदै छ । शुक्रबार र शनिबार साधारणसभासँगै निर्वाचन हुन लागेपछि नेपाली क्रिकेटको सर्वोच्च निकायमाथि साढे तीन वर्षयताको निलम्बन फुकुवाको प्रक्रिया अगाडि बढेको छ ।

क्रिकेटको चुनावी सरगर्मी

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भनी अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले २०७३ को वैशाखमा क्यानलाई निलम्बन गरेको थियो । नेपाली क्रिकेटलाई नयाँ ढंगले ब्युँत्याउनेक्रममा आईसीसीले सल्लाहकार समिति हुँदै स्वतन्त्र समितिबाट बनाएको नयाँ विधानमार्फत हुने क्यान नेतृत्व हत्याउन पूर्व अध्यक्षद्वय विनयराज पाण्डे र चतुरबहादुर चन्द चुनावी दौडमा छन् । तेस्रो वा चौथो पक्ष पनि नेतृत्वका लागि चुनावी दौडमा आउनसक्ने देखिएको छ ।


जो, जति चुनावी दौडमा आए पनि सबैको मुद्दा क्यानलाई आईसीसीबाट निलम्बन फुकुवा गराउने भन्नेमै छ । अक्टोबर १३ मा हुने आईसीसी बैठकले क्यान निलम्बनको मुद्दालाई फुकुवा गर्नसक्छ । त्यहीअगाडि हुन लागेको क्यान निर्वाचनले मुख्यत: ‘निलम्बन फुकुवा’ को एजेन्डा मूल रूपमा समातेको छ । निर्वाचनले मात्र क्यान निलम्बन फुकुवा भए पनि त्यसले अन्य काम कारबाही अगाडि बढाउन नसक्ने पाण्डे तर्क राख्छन् ।


‘धेरैले आईसीसीले लेखेको चिठी नै हेरेका छैनन् । के–के गर्नुपर्छ भनेर बुझ्न खोजेका छैनन् । क्यानको निलम्बन फुकुवा गराउन निश्चित मापदण्ड पूरा गर्नुपर्छ भनेको छ । एउटा मापदण्ड संघको चुनाव हो, त्यसबाहेक अन्य धेरै विषय वस्तुस्थिति माग्छन्,’ अध्यक्षका प्रत्याशी पाण्डेले भने, ‘४–५ वर्षका योजनाहरू माग्छन् । नेपाल कसरी अगाडि जान्छ । संरचना कस्तो हुन्छ, जिल्ला प्रदेशको खेल्ने संरचना कस्तो हुन्छ । म्यानपावर कस्ताखाले हुन्छन् । सुशासन कस्तो हुन्छ । कस्तो पद्धति अपनाउँछौं । अर्थ व्यवस्थापन कसरी गर्छौं, कोर टिम कस्तो हुन्छ जस्ता प्रश्न राख्नेछन् । त्यसमा पूर्ण सन्तुष्ट भएमा मात्र क्यानको प्रतिबन्ध फुकुवा गर्दै आईसीसीले आफ्ना सामान्य सदस्यलाई दिने सुविधाहरू विस्तारै दिँदै जानेछ ।’


अध्यक्षका अर्का प्रत्याशी चन्द निलम्बन फुकुवालाई नै प्राथमिकतामा राख्दै नेपाली क्रिकेटको कालो बादल हटाउन आफ्नो उम्मेदवारी रहेको बताउँछन् । ‘कसैले भने पनि नभने पनि, स्विकारे पनि नस्विकारे पनि, क्यानको निलम्बन हाम्रै पालामा भएको हो, जसका कारणले भयो त्यो अर्को विषय हो । त्यही निलम्बन फुकुवा गर्नु पहिलो एजेन्डा हो,’ चन्दले भने, ‘के कारण भयो भनेर इतिहासमा आउँदैन । भविष्यमा मान्छेले बुझ्दैनन्, कसको पालामा भयो भनेर मात्र बुझ्छन् । जसको पालामा लाग्यो उसैको पालामा हट्यो भन्ने वातावरण बनाउन मैले उम्मेदवारी दिने भएको छु ।’


चन्द २०७२ मा भएको निर्वाचनबाट अध्यक्षमा चुनिएका थिए । तत्कालीन अध्यक्ष टंक आङबुहाङसहितको एक टोलीले त्यो साधारणसभा बहिष्कार गरेको थियो भने राष्ट्रिय खेलकुद परिषद्ले त्यसलाई मान्यता दिएको थिएन । प्रहरीले हस्तक्षेप गरेको त्यही साधारणसभाबाट चन्द नेतृत्वमा आए पनि आईसीसीले केही समयपछि नै क्यानमाथि निलम्बन लगाउँदा आफूले काम गर्ने अवसर नै नपाएको उनको गुनासो छ ।


चन्द निर्वाचित भएको साधारणसभामा उनका निकट रहेका प्रथम उपाध्यक्ष विनोद मैनालीले यसपल्ट खेमा परिवर्तन गर्ने निश्चित छ । उनी चन्द समूहमा नरहने माहोल देखिएको छ । आफैं नेतृत्वमा आउने वा कुनै समूह बनाएर उठ्ने निश्चित भइनसकेको मैनाली बताउँछन् । त्यसका लागि साथीहरूसँग छलफल भइरहेकाले बुधबारसम्म टुंगो लाग्ने उनले सुनाए ।


‘अलिकति राम्रो टिम आओस् भन्ने चाहना हो । जुन किसिमको अप्ठ्यारो परिस्थिति, जहिल्यै आरोप प्रत्यारोपमा जहिले म मुछिँदै आएको छु । गल्ती गरेर नै परेजस्तो मलाई लाग्दैन । अख्तियारको केश वा पेस्की फर्छ्योटका कारण, सदस्यता निलम्बन होस्, सबैमा मलाई जोडिएको छ । साँच्चै भन्नुपर्ने हो भने कानुनले सहायता दिएर म यो स्थितिमा आइपुगेको हो । नत्र मेरो करियर बर्वाद हुने थियो, केही भइसकेको पनि हो,’ मैनालीले कान्तिपुरसँग भने, ‘त्यसैले खराब टिमसँग म लाग्दिनँ । यसको उन्नति प्रगति हुने टिम भेटें भने आफैं नेतृत्व लिएर जान पनि सक्छु या मिलाएर लैजान्छु । हाम्रो छलफल चलिरहेको छ, अग्रजहरूले के भन्छन् त्यसमा निर्णय गर्छु ।’


परिस्थितिजन्य अवस्था, आईसीसीबाट निलम्बन फुकुवा गर्नुपर्ने, सरकारसँग सहकार्यको विषय आइरहेकाले गर्दा आफू कतै बाधक भएर नबस्ने बताउँदै मैनालीले भने, ‘क्रिकेटबाट बाहिर रहनुपरे पनि केही छैन । क्रिकेटलाई चाहिने टिमसँग सहकार्य गर्न सकियोस्, जसले सरकारलाई लिएर जान सकोस् ।’


चन्द नेतृत्वले एउटा समूह बनाइसकेको छ । जसमा उपाध्यक्षमा राजुबावु श्रेष्ठ, सचिवमा अशोकनाथ प्याकुर्‍याल र कोषाध्यक्षमा रोशन सिंह उम्मेदवार बन्ने निश्चितजस्तै छ । पाण्डे समूहबाट उपेन्द्रप्रसाद भट्टराई उपाध्यक्ष र पवन अग्रवाल सचिवमा उम्मेदवार बन्ने सम्भावना छ । शनिबारको क्यान निर्वाचनबाट अध्यक्ष, उपाध्यक्ष, सचिव, कोषाध्यक्षसहित १३ सदस्य चुनिने छन् । १३ मध्ये एक महिला हुनुपर्ने विधानमा राखिएको छ ।


‘यही समूह हुन्छ भनेर भनेका छैनौं । पदाधिकारीमा धेरै पुराना साथी र सदस्यमा धेरै नयाँ साथी हाम्रो समूहमा हुनेछन्,’ चन्दले आफ्नो समूह र उम्मेदवारीबारे भने, ‘चार वर्ष त्यस्तो दु:खकष्ट गर्नुभयो, लड्नुभयो नेपाली क्रिकेटलाई सही दिशामा ल्याउन । सबै कुरा मान्नुभयो, काम गर्न नपाएपछि मध्यावधि निर्वाचन पनि स्वीकार्नुभयो । खारेज हुन लागेको संघको विधान नयाँ स्वरुपमा बनाएर अस्तित्व जोगाउनुभयो । काम नगरे पनि संघलाई साधारणसभा गरेर चलायमान बनाउनुभयो । जिल्लासँग समन्वय गर्नुभयो । जिल्लालाई मताधिकार दिलाउनुभयो भनेर साथीहरूले भनेकाले म अगाडि बढेको हुँ ।’


अहिले संक्रमणकालीन स्थिति रहेकाले समूह बनाएरभन्दा पनि मिलेर जानुपर्ने पाण्डे बताउँछन् । जयकुमार नाथ शाह झन्डै चार दशक क्यानको अध्यक्ष हुँदा पाण्डे महासचिव थिए । लोकतन्त्रपछिको सरकारले पाण्डेलाई अध्यक्षमा चुन्दै तदर्थ समिति बनाएको थियो । पाण्डे त्यसमा झन्डै ५ वर्ष अध्यक्ष रहे । युवराज लामा राखेप सदस्य–सचिव भएर आएपछि पाण्डेको नेतृत्वमा रहेको क्यानलाई पुनर्गंठन गरी आङबुहाङको अध्यक्षतामा क्यानको नयाँ तदर्थ समिति बनाइएको थियो । त्यसयता क्यान निलम्बन हुनुअघिसम्म पाण्डे नेपाली क्रिकेट बाहिर रहेका थिए ।


‘मिल्ने सम्भावना जहिल्यै पनि रहन्छ, जब यसको महसुस हुन्छ र मेरो तेरो गुट भन्ने हुँदैन । म ४० वर्ष संघमा रहें, त्योक्रममा जति पनि आए उनीहरूलाई जयकुमार नाथले यो मान्छेलाई राख भनेर, टिबी शाहले मेरो यो मान्छेलाई संघमा राख्नू भनेर कहिले पनि भनेनन्,’ पाण्डेले भने, ‘जति मान्छे राखें, मैले राखें । त्यसकारण मेरो भन्ने मान्छे कोही हुँदैन रहेछ । अन्तिममा सबैले आफ्नो स्वार्थ हेर्छन् । फाइदा भयो मेरो मान्छे हुन्छ, भएन भने विपक्षीमा जान्छ । यो भ्रममा कोही बस्नुहुँदैन । यो मेरो समर्थक र यो मेरो भोटर हो भनेर कोही बसेको छ भने त्यो कहिल्यै नठाने हुन्छ । जहिलेसम्म उसले भनेको मान्छे त्यहिलेसम्म मात्र उसको हुन्छ । त्यसैले आजको दिनमा मिलेर जानुको विकल्प छैन जस्तो लाग्छ । भोलिको दिनमा क्रिकेट स्थापित भइसकेपछि आ–आफ्नो समूह बनाएर जाँदा पनि हुन्छ ।’


पाण्डे अध्यक्ष हुँदा चन्द उपाध्यक्ष र मैनाली सदस्य थिए । अहिले चन्द र मैनालीको मिल्ने सम्भावना देखिएको छैन । ‘क्रिकेटमा काम गर्नुभएका अगुवाहरू भलै उहाँहरू प्रतिस्पर्धीको रूपमा हुनुहुन्छ होला या हुनुहुन्न, उहाँहरूको सकारात्मक सल्लाह लिएर अगाडि बढ्न हरदम तयार रहन म प्रतिवद्धता जनाउँछु,’ चन्द गुनासो गर्छन्, ‘निवाचन हुनुभन्दा पहिला प्रश्नचिन्ह उठाएर यसले सम्बन्ध बढाउन सक्दैन होला, समन्वय गर्न सक्दैन होला भन्ने कुरा पूर्वाग्रही भावले चुनावी माहोल बिगार्न खोजेको छ । म त्यसविरुद्ध छु । पहिलाको स्थिति हेरी अहिले निर्वाचित भएर आए काम गर्न गाह्रो नहुनसक्छ । त्यतिखेर परिषदले चुनाव हुनै नदिने भनेकाले तनावमा थियौं । अहिले सरकारले जो आए पनि हुन्छ भनेको छ, मलाई लाग्छ कुनै बाधाअड्चन हुन्छ जस्तो लाग्दैन । भलै, कस्को इच्छा के छ त्यसले फरक पार्दैन । जो संघमा आए पनि आईसीसीको साथ हुन्छ, कुनै अप्ठ्यारो हुन्छ जस्तो लाग्दैन । मलाई तनाव छैन ।’



‘उचाइमा पुर्‍याउँछु’

चतुरबहादुर चन्द, (अध्यक्षका प्रत्याशी)


मलाई चुनाव खासै लागेको छैन । जिल्ला र प्रदेशको सकिएपछि केन्द्रको निर्वाचन चाँडै हुन्छ भनेर सबै साथी राजधानी आयौं । निर्वाचन सरेकाले अझै माहोल तातेको छैन । चुनावमा जित्ने हार्ने भइरहन्छ, सुनिश्चित केही हुँदैन । तर साथीहरूले एक पटक अवसर दिन्छन् भन्ने आत्मविश्वासचाहिँ मलाई छ ।


विगत ४–५ वर्षमा नेपाली क्रिकेट धराशायी भइसकेको छ । ग्रासरुट क्रिकेट पतन नै भइसक्यो । उमेर समूह, महिला क्रिकेट र एकदिवसीय क्रिकेट पनि क्यानले गर्ने जस्तो हुनसकेको छैन । फ्रेन्चाइजी लिगले मात्र नेपाल क्रिकेट धान्दैन र थेग्न सक्दैन । राखेपले गरिरहेको पीएम कप, ५० ओभरको एउटा स्तरीय प्रतियोगिता हुनसक्छ । त्यस्ता प्रतियोगिताबाट नेपाली क्रिकेटलाई पुन पुरानै लयमा ल्याउनुपर्छ र नेपालले पाएको एकदिवसीय मान्यता तीन वर्षमा बढीभन्दा बढी सदुपयोग गर्नुपर्छ । खेलाडीको स्तर सुधार्नु, खेलाडी अन्य देशमा खेल्न पठाएर नेपाली टोलीलाई बलियो बनाउने हो । टेस्ट राष्ट्र बनाउने प्रयास, दुईदिवसीय क्रिकेट ब्युँत्याउने, क्रिकेटको पूर्वाधार विकास गरेर जानु हो । पछिल्लो ४–५ वर्षमा सरकारले क्रिकेट पूर्वाधारको राम्रो जिम्मा लिएको छ । वास्तवमा हुनुपर्ने पनि यही हो । स्थानीय सरकारले पनि क्रिकेटमा राम्रो लगानी गरेका छन् । उनीहरूलाई सँगै लिएर जानुपर्छ । त्यसको समन्वयकारी संस्थाको नेतृत्व गरेर म नेपाली क्रिकेटलाई उचाइमा पुर्‍याउन चाहान्छु । विश्वकपमा सहभागी हुनुमात्र नेपालको जित जस्तो हो त्यो मैले बुझेको छु । आमनेपालीको चाहना पनि त्यही हो । त्यो सम्म पुग्न सबै कसरत, तयारी, योजनाहरू लिएर अगाडि बढ्छु ।


चुनावमा गइसकेपछि साथीहरूका धेरै आकांक्षा पनि हुन्छन्, समूह बनाएर जानैपर्छ जस्तो लाग्छ । काम गर्नका लागि टिम पनि चाहिन्छ । जो पायो त्यही आएर भोलि काम गर्न गाह्रो हुन्छ । मैले जित्ने तर टिम काम नगर्ने आयो भने गाह्रो हुन्छ । जिम्मेवार साथीहरू आएनन् भने असफल भइन्छ, त्यो भन्दा ठूलो केही हुँदैन फेरि । समूहको घोषणा हामीले गरिसकेका छैनौं, अध्यक्षमा अगाडि बढ्नुस् भनेर पुराना टिमका साथी र केही नयाँ युवाहरूले भनेपछि म देश दौडाहमा निस्केको थिएँ ।


‘सही दिशामा अगाडि बढाउने चाहना’

विनयराज पाण्डे, (अध्यक्षका प्रत्याशी)


चुनाव मलाई त्यति लागेको छैन । प्रतिबन्धको स्थितिमा छौं हामी । आईसीसीले हामीलाई पहिला हेर्ने नजर र अहिले केही वर्षयता हेर्ने नजरमा धेरै फरक छ । यो एउटा साख बचाउन पनि क्यानलाई निलम्बन फुकुवा गराउन जरुरी छ । सबैलाई मिलाएर निकास दिन सकिन्छ कि भन्ने हो । सबै मिल्यो भने यिनीहरू एउटै भएछन् भन्ने सन्देश जान्छ । धेरैले एउटा के महसुस गरेका छैनन् भने फुकुवा हुनेबित्तिकै धनवर्षा हुन्छ, सबै सुविधा पाइन्छ, क्रिकेट पहिलाजस्तो थियो त्यस्तै हुन्छ भन्नेमा धेरैलाई देखें । यस्तो हुनेवाला छैन । केही वर्षयता आईसीसीले नेपाललाई धेरै नजिकबाट हेरेको छ । नेपालको के के कमी छ, कहाँ–कहाँ यिनीहरूको समस्या छ भनेर बुझेको हुनाले ४–५ महिना त बुझाउनै लाग्छ ।


म कहाँ हुन्छु, मेरो के हुन्छ भन्ने मात्र छ । संघमा आउन मात्र सबैको ध्यान छ । यी सबै भनेको दोस्रो प्राथमिकता हो । पहिलो प्राथमिकता भनेको क्रिकेट नै हो । यसको लक्ष्य कसरी प्राप्त गर्न सकिन्छ, क्रिकेटलाई एउटा ट्र्याकमा कसरी ल्याउन सकिन्छ । यसको गुमेको इज्जत कसरी ल्याउन सकिन्छ भन्नेमा केन्द्रित हुनुपर्नेमा त्यो नभएको देख्छु । मेरो प्रयास सबै मिलेर जाउँ भन्नेमा छ । केही गरेर त्यो हुन सकेन भने मैले एउटा पक्ष लिनुपर्ने हुन्छ । त्यसमा कुनले यसलाई सम्बोधन गर्नसक्छ भन्नेमा मैले छान्नुपर्ने हुन्छ । जयकुमार नाथ शाहले आफ्नो जीवनको एउटा निश्चित समयमा टेस्ट खेल्ने राष्ट्र बनेको हेर्ने मलाई ठूलो इच्छा छ भन्नुभएको थियो । मेरो पनि त्यही इच्छा छ । तर आजको दिनमा हामीले एउटा राम्रो संरचना बनाउन सक्यौं भने क्रिकेटसँग समर्पित राम्रो टिम बन्न सकेको खण्डमा अर्को चरणको टेस्ट राष्ट्र बन्ने सूची आउँछ त्यसमा नेपालको धेरै नै सम्भावना छ । मेरो उम्मेदवारी यसैका लागि हो ।


क्यान निलम्बन भएपछि आईसीसीले मलाई नै एउटा जिम्मेवारी दिई यसलाई निकासको बाटो लैजाऊ भन्यो र निष्कर्षमा पुर्‍याएँ । यसमा सबैको साथ रह्यो । त्यही भएको नाताले मैले एउटा प्लेटफर्म बनाइदिए क्रिकेटको राम्रो हिसाबमा आओस् भनेर । तर जिल्ला, प्रदेशको निर्वाचनमा जुन किसिमको चलखेल विभिन्न समूहका मान्छेले गरे, त्यसले मलाई अलिकति झस्कायो । के हामी सही दिशामा गइरहेको छौं ? मलाई यी सब हिसाबमा शंका भएकाले मैले उम्मेदवारी दिएको छु । एकपल्ट सबैलाई समेटेर लगि एउटा गन्तव्यमा पुर्‍याइदिउँ भन्ने हो । निलम्बन फुकुवामात्र होइन क्रिकेटलाई एक पटक सही दिशामा पुर्‍याउँ भन्ने पनि हो ।


मेरो उम्मेदवारी त्यसबेला मात्र सफल हुन्छ, जब सबैले महसुस गरेर यो हामी सबैको उद्देश्य क्रिकेटको विकास हो भनेमा । खेलाडीले मिहिनेत गरेर जुन नतिजा दिइरहेका छन् त्यसलाई अझ अगाडि लिएर गएर क्रिकेटलाई स्थापित खेल गराउने माहोल बन्यो भने मेरो नेतृत्वको केही अर्थ हुन्छ । होइन भने खाली समूह–समूह बनाएर, झगडा गरेर, को केमा बस्ने हो भने मलाई त्यसमा खासै इच्छा हुँदैन ।


प्रकाशित : आश्विन ८, २०७६ ०८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?