३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५८

साफ यू–१८ च्याम्पियनसिप : भुटानको दमदार प्रदर्शन, नेपाल ०–३ भुटान

राजु घिसिङ

काठमाडौँ — नेपाली युवा टिमका मुख्य प्रशिक्षक चेत नारायण श्रेष्ठ साफ यू–१८ च्याम्पियनसिपअघिको पत्रकार सम्मेलनमा सेमिफाइनललाई लिएर सोचमग्न थिए । लाग्थ्यो, नेपाली टिम अन्तिम चारमा पुगिहाल्छ । तर अघिल्ला दुवै संस्करणमा च्याम्पियन भएको नेपाली टिमको उपाधिमा ह्याट्रिक गर्ने अभियान हल्चोकस्थित एपीएफ मैदानमा त्यस्तो दमदार रहेन ।

साफ यू–१८ च्याम्पियनसिप : भुटानको दमदार प्रदर्शन, नेपाल ०–३ भुटान

दोस्रो खेलमा आइतबार भुटानसँग ३–० ले हारेपछि नेपाललाई सेमिफाइनल पुग्न पनि भाग्यको भर आवश्यक परेको छ ।


‘भुटान धेरै राम्रो भएछ,’ हल्चोक मैदानमा ‘थन्डर ड्र्यागन’ सँग स्तब्ध भएपछि नेपाली टिमका मुख्य प्रशिक्षक श्रेष्ठले भने, ‘हरेक खेलाडीलाई निगरानी गर्ने (म्यान टु म्यान), टेक्निकल र शारीरिक रूपमा धेरै बलियो भएछ । उसको स्कोरिङ पनि राम्रो थियो भने पाएको बेला हान्न त्यत्तिकै सक्षम । भुटान हामीले सोचेभन्दा धेरै बलियो भएछ ।’


नेपालले कसलाई पराजित गर्नसक्छ ? उनले जवाफ दिए, ‘दक्षिण एसियामा भुटान पहिला सबैभन्दा कमजोर थियो । अब हामी कसलाई हराउन सक्छौं भन्नै सक्दैनौं ।’


साफ यू–१८ च्याम्पियनसिप सन् २०१५ मा सातदोबाटोमा यू–१९ प्रतियोगिताको रूपमा सुरु भएको थियो । त्यति बेला उद्घाटन खेलमै विमल घर्तीमगरको ह्याट्रिक सहयोगमा नेपालले भुटानमाथि ३–१ को जित रचेको थियो । उपाधि होडमा भारतलाई टाइब्रेकरमा हराएर नेपाली टिम पहिलो संस्करणको च्याम्पियन नै बन्यो । थिम्पुमा २०१७ मा भएको दोस्रो संस्करणमा पनि नेपालले ट्रफी चुम्यो । तर पहिलो खेलमै भुटानसँग १–० ले हारेको थियो । त्यसपछि माल्दिभ्सलाई २–०, बंगलादेशलाई २–१ र भारतलाई २–० ले पराजित गर्दै प्रशिक्षक छिरिङ लोप्साङ गुरुङको टिमले उपाधि रक्षा गरेको हो ।


‘नेपाली टिमको स्तर खस्किएको हो त ? ‘हाम्रो खस्किएको भन्दा पनि अरुको बढी सुधार भएको हो,’ प्रशिक्षक श्रेष्ठले जवाफ दिए, ‘पहिलाको नतिजाअनुसार अपेक्षा गरिएको हो तर धेरै फरक भएको रहेछ ।’ दोस्रो संस्करणमा भुटानविरुद्ध हारेको नतिजालाई ‘खास मतलब’ नगरेका उनले यसपालिको असफलताबारे भने, ‘सिकाएअनुसार टिमले खेल्न सकेन ।’ विश्व फुटबलमा प्रशिक्षकको निर्देशनअनुसार टिमले मैदानमा खेल्ने गर्छ । तर उनी असफलताको जिम्मेवारी लिन सहमत भएनन् ।


‘थिम्पुमा हामीले गोलमात्रै गर्न नसकेको हो । खेल पुरै हाम्रो नियन्त्रणमा थियो,’ हल्चोकमा हारेको खेल प्यारापिटबाट हेरेका पूर्व प्रशिक्षक गुरुङले भने, ‘आज भुटान धेरै माथि देखियो । उसका खेलाडी आत्मविश्वासी देखिए र कम्तीमा चार पास सहजै खेलिरहे ।’ उनले थपे, ‘हाम्रा खेलाडी कन्फिडेन्स देखिएनन् । इन्डुरेन्स र स्ट्रेन्थ पुगेन । पूरा टिमकै प्रदर्शन भएन । बल पायो कि लामो पास दिइहाल्ने । सुरुबाट रक्षात्मक खेलेजस्तो देखियो । १५–२० मिनेटसम्म सफल नभएप्छि रणनीति परिवर्तन गर्नुपर्छ तर गरिएन ।’


नेपालको यही टिमले दक्षिण एसियाबाहिर पनि खेल्दै छ, जहाँ साफको तुलनामा माथिल्लो स्तरको टिमविरुद्ध खेल्नुपर्नेछ । नोभेम्बरमा तेहरानमा हुने एएफसी यू–१९ च्याम्पियनसिपको छनोटमा नेपालले आयोजक इरानसँगै किर्गिस्तान र यूएईको सामना गर्नेछ । त्यसलाई लिएर प्रशिक्षक श्रेष्ठले भने, ‘अनुभव र खेलले टिममा प्रगति हुन्छ । स्कोरिङको समस्यामा जतिसक्दो सुधार गर्नेछौं ।’


फापेन वर्षा

आइतबार पानी परिरहँदा हल्चोकमा खेल सुरु भएको थियो । पछि झरी परिरह्यो । थिम्पुमा अन्त्यतिर सिमसिम पानी परेको थियो । र, त्यसै बेला नेपाली डिफेन्डर चिप्लिँदा भएको फाउलमा पाएको पेनाल्टीमा गोल गर्दै भुटानले नेपाली टिमविरुद्ध ऐतिहासिक जित हात पारेको थियो ।


भुटानले कुनै पनि स्तरको फुटबलमा नेपाललाई पराजित गरेको त्यो नै पहिलो अवसर थियो । भुटानी युवा टिमले साफ यू–१८ को तेस्रो संस्करणमा थिम्पुकै सफलतालाई थप उचाइ दियो । त्यो पनि नेपालकै भूमिमा ३–० को सानदार जितसहित ।


भुटानविरुद्ध वर्षात् पनि फापेन नेपाललाई । ‘पानीमा झन् राम्रो हुनुपर्ने तर खेल्नै सकेनौं,’ प्रशिक्षक चेतनारायण श्रेष्ठले भने, ‘सुरुमै पाएका अवसरमा चुक्दा गाह्रो भयो ।’ उनको टिमले आधा घण्टाभित्रै दुई राम्रा अवसर पाएको थियो । तर मनीष थापा र वृजेश चौधरीको प्रहार निकै फितलो रह्यो । पाहुना टिमले बल अघि बढाउँदा हरेकपल्ट पोस्टमै धावा बोलिरहेको थियो ।


यसी दोर्जीले ३७ औं मिनेटमा भुटानलाई अग्रता दिलाए । उनको फिनिसिङ लोभलाग्दो रह्यो । डिफेन्डर विशाल बस्नेतले दोर्जी खान्डोलाई फाउल हानेपछि पाएको पेनाल्टीमा सब्स्टिच्युट केजाङ जिग्मेले सहजै गोल गरे र भुटानले ८६ औं मिनेटमा २–० को अग्रता लियो । कर्मा सोनामले ९० औं मिनेटमा करिब २५ यार्डबाट गरेको खेलको तेस्रो गोल पनि उत्कृष्ट थियो ।


नेपालले दोस्रो हाफमा मनीष, वृजेश, नितिन थापाको स्थानमा क्रमशः दर्शन गुरुङ, सचु गुरुङ र रोशन रानामगरलाई मैदान प्रवेश गराएर पनि प्रदर्शन सुधार्न सकेन । भुटानको अर्को एक सुन्दर अवसरमा लोडे वाङचुकले बल बाहिर प्रहार गरे ।


कोरियाको फुटबलमा एकेडेमीमा हुर्किरहेका मनीष डाँगीले दोस्रो हाफमा गोल गर्दै पहिलो खेलमा माल्दिभ्सविरुद्ध १–१ को बराबरीमा नेपालको हार टारेका थिए । पहिलो हाफमा फिक्का देखिएको नेपाली टिमले दोस्रो हाफमा आक्रामक रुप लिएको थियो । भुटानविरुद्ध त्यस्तो पनि देखिएन । माल्दिभ्ससँग खेलेको टिमको पहिलो रोजाइमा प्रशिक्षक श्रेष्ठले भुटानविरुद्ध दुई खेलाडी परिवर्तन गरेका थिए । डिफेन्डर रोशन दोङको स्थानमा एन्जल महर्जन र रोशन रानामगरलाई मनीष थापाले प्रतिस्थापन गरे । तर दुवैले मैदानमा प्रभाव जमाउन सकेनन् ।


भुटानले थिम्पु संस्करणमा नेपालसँगै माल्दिभ्सलाई पनि १–० ले पराजित गरेको थियो । तेस्रो संस्करणमा आइतबार हात पारेको जित भुटानको तेस्रो सफलता हो । उसले साफ यू–१८ मा गोल गरेको र जित हात पारेको पनि नेपाल र माल्दिभ्सविरुद्ध मात्रै हो । अर्कोतर्फ, यस प्रतियोगितामा नेपाललाई पराजित गर्ने एक्लो टिम हो भुटान । यो उमेर समूहको दक्षिण एसियाली प्रतियोगितामा नेपालले १० खेलमा दोस्रो हार बेहोरेको हो ।


जितसँगै भुटान तीन देश रहेको समूह ‘ए’ मा एक खेल बाँकी छंदै सेमिफाइनल पुग्यो । अब टोलीका लािग मंगलबार माल्दिभ्सविरुद्ध हुने खेल समूह विजेताको लागि औपचारिक प्रतिस्पर्धा हुनेछ । त्यही खेलले अन्तिम चारमा पुग्ने नेपालको गणितीय सम्भावनामा भाग्यको फैसला गर्नेछ । भुटान बलियो भएको उल्लेख गर्दै प्रशिक्षक श्रेष्ठले भने, ‘सेमिफाइनल पुग्ने आशा छ तर भुटानको ४–० को जित (माल्दिभ्सविरुद्ध) सम्भव छैन कि जस्तो लाग्छ ।’


‘नसोचिएको नतिजा’

भुटानी युवा टिमका प्रशिक्षक उगेन दोर्जीले नेपालविरुद्ध ठूलो अन्तरको जितलाई नसोचिएको नतिजाको रूपमा लिएका छन् ।

‘जित हात पार्नेमा आशावादी थियौं तर ३–० को होइन,’ प्रशिक्षक दोर्जीले भने, ‘१–० वा २–१ ले खेल जित्छौं भन्ने लागेको थियो ।’ उनले थपे, ‘नेपालको माल्दिभ्सविरुद्धको खेल हेरेपछि ४–४–२ को संरचनामा पछाडिबाटै बल मिलाएर अघि लग्ने रणनीति बिगार्ने योजना बनाएका थियौं ।

त्यसमा सफल भयौं । हाम्रा खेलाडीले ४–३–३ को शैलीमा सुरुदेखि अन्त्यसम्मै मिहिनेत गरेर खेले । शतप्रतिशत दिएर खेले । मैदानको परिस्थतिले पनि हामीलाई साथ दियो ।’ सेमिफाइनल यात्रा पक्का गरिसके पनि माल्दिभ्सविरुद्ध ‘शतप्रतिशत दिएर’ खेल्ने पनि उनले सुनाए ।


प्रकाशित : आश्विन ६, २०७६ ०९:३७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?