पुलिस च्याम्पियन

काठमाडौँ — घरेलु पुरुष भलिबलमा सर्वाधिक धनराशिको प्रथम प्रकाश दाहाल स्मृति युवा नेपाल कप राष्ट्रिय भलिबलको उपाधि नेपाल पुलिस क्लबले जितेको छ ।

नयाँ बसपार्कस्थित ढोरपाटन स्पोर्ट्स क्लबको कोर्टमा शनिबार सम्पन्न फाइनलमा त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा हराएको थियो । राष्ट्रिय खेलाडी बाहुल्य दुई टोलीबीचको फाइनल प्रतिस्पर्धात्मक हुन अपेक्षा गरिए पनि पुलिसले एकपक्षीय बनाएको थियो । तीन सेट पुलिसले २५–२२, २५–२२, २५–२२ ले जितेको थियो । सबै सेटमा आर्मीले सुरुआती अग्रता लिएर पनि जोगाउन सकेन । चोटका कारण मुख्य स्पाइकर मानबहादुर श्रेष्ठबिना खेलेको आर्मी कमजोर देखिएको थियो ।


पुलिसले ५ लाख र आर्मीले ३ लाख रुपैयाँ पुरस्कार पाए । तेस्रो भएको गण्डकी प्रदेशले १ लाख र चौथो भएको नेपाल एपीएफ क्लबले ५० हजार रुपैयाँ पाए । व्यक्तिगत विधामा पुलिस खेलाडीले वर्चस्व जमाउँदा आर्मीका धनबहादुर भट्ट क्षेत्री सर्वोत्कृष्ट खेलाडी चुनिए । उनले एक थान टीभीएस मोटरसाइकल हात पारे ।


पुलिसका कुलबहादुर थापा बेस्ट स्पाइकर, कप्तान इमबहादुर राना सेटर, द्वारिका थापा सर्भर, भीम गाहामगर लिबेरो र सरोज श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए । गण्डकीका याम क्षेत्री उत्कृष्ट ब्लकर भए । व्यक्तिगत विधाका विजेताले जनही १० हजार रुपैयाँ पाए । प्रतियोगिता प्रगतिशील युवा नेपाल गोरखा–काठमाडौंले आयोजना गरेको हो । वर्षाका कारण फाइनल सरेको थियो ।

प्रकाशित : आश्विन ५, २०७६ ०९:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?