सिटीको ८ गोल

(एएफपी)

लन्डन — म्यानचेस्टर सिटीले इंग्लिस प्रिमियर लिगमा सानदार पुनरागमन गर्नेक्रममा शनिबार वाटफोर्डलाई ८–० ले पराजित गरेको छ । गत साता नर्विचसँग अप्रत्यासित रूपमा पराजित भएपछि सिटी अग्रताको दौडमा लिभरपुलभन्दा पछाडि परेको थियो । 

सिटीको ८ गोल

तर इतिहाद रंगशालामा सिटीलाई खेलमा फर्कन एक मिनेट पनि कुर्नुपरेन । कप्तान डेविड सिल्भाले ५२ सेकेन्डमै गोल गरी सिटीलाई अग्रता दिलाए । पहिलो १८ मिनेटभित्र सिटीले ५ गोल गरेको थियो । सर्जियो अगुइरोले सातौं मिनेटमा पेनाल्टीमा दोस्रो, रियाद महारेजले १२ र बर्नान्डो सिल्भाले १५ औं मिनेटमा चौथो गोल गरे । निकोलस ओटमन्टीले १८ औं मिनेटमा गोल गरे ।


बर्नान्डोले ४८ र ६० औं मिनेटमा थप दुई गोल गरी आफ्नो खेलजीवनकै पहिलो ह्याट्रिक पूरा गरे । केभिन डी ब्रुयनले ८५ औं मिनेटमा आठौं गोल गर्दै सिटीलाई प्रिमियर लिगमा आफ्नो ठूलो गोलअन्तरको जित दिलाए । म्यानचेस्टर युनाइटेडले सन् १९९५ मा इप्सविचलाई ९–० ले हराएको खेल प्रिमियर लिगमा फराकिलो अन्तरको जित हो ।


वाटफोर्डको इंग्लिस लिगकै यो सबैभन्दा ठूलो हार हो । सिटी १३ अंकसहित दोस्रो स्थानमा छ । शीर्षस्थानको लिभरपुलभन्दा २ अंकले पछाडि छ । लिभरपुलले आइतबार चेल्सीसँग स्टामफोर्ड ब्रिजमा खेल्नेछ । लेस्टर ११ र बर्नमाउथ १० अंक पुर्‍याउँदै क्रमश: तेस्रो र चौथो स्थानमा उक्लिएको छ । बर्नली र सेफिल्ड युनाइटेड सातौं र आठौं स्थानमा छन् ।


उपाधि दौडमा आउने आस गरिएको टोटेनहमलाई लेस्टर सिटीले २–१ ले पराजित गर्‍यो । ह्यारी केनको गोलमा टोटेनहमले २९ औं मिनेटमा अग्रता लिए पनि रिकार्डो पेरेइराले ६९ र जेम्स म्याडिसनले ८५ औं मिनेटमा गोल गर्दै घरेलु टोली लेस्टरलाई विजयी बनाए । म्याडिसनको यो पहिलो लिग गोल हो । बर्नलीले नर्विचलाई २–० ले पराजित गर्‍यो । एभरटन घरेलु मैदानमै सेफिल्डसँग ०–२ ले स्तब्ध भयो ।


बर्नमाउथले शुक्रबार राति आफ्नो दक्षिण तटीय प्रतिद्वन्द्वी साउथह्याम्पटनलाई ३–१ ले हराएको थियो । पहिलो हाफमा नथान एके र ह्यारी विल्सनले गोल गरेपछि सेन्ट मेरिजमा एडी होवेको टिमले पूर्णत: वर्चस्व राख्यो । जेम्स वार्डको पेनाल्टीमा साउथह्याम्पटनले गोल अन्तर घटाए पनि कलुम विल्सनले बर्नमाउथका लागि तेस्रो गोल थपे । लिगको नयाँ सिजनमा बर्नमाउथको यो तेस्रो जित हो । बर्नमाउथले साउथह्याम्पटनको मैदानमा जित पाएको १६ खेलको प्रयासयता पहिलो हो ।

प्रकाशित : आश्विन ५, २०७६ ०९:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?