साफ यू–१८ च्याम्पियनसिप : कोरियाको सिकाइ नेपालमा गोल

राजु घिसिङ

काठमाडौँ — इमाडोल, ललितपुरका मनीष डाँगी दक्षिण कोरियामा रेस्टुराँ व्यवसाय गरिरहेका बुवा मनोजलाई पछ्याउँदै चार वर्षअघि राजधानी सोल पुगेका थिए । उनको कोरिया यात्रालाई महाभूकम्प (१२ वैशाख, २०७२) ले एक महिना ढिला गरिदियो । कोरिया पुगेको केही पछि सिन्हङ फुटबल क्लबको एकेडेमीमा भर्ना भए । चार वर्षयता त्यही एकेडेमीमा फुटबल सिकिरहेका उनले दोस्रो हाफमा गोल गरेपछि नेपालले शुक्रबार साफ यू–१८ च्याम्पियनसिप २०१९ को पहिलो खेलमा माल्दिभ्सविरुद्ध १–१ को नतिजा निकाल्दै अंक बाँड्यो ।

साफ यू–१८ च्याम्पियनसिप : कोरियाको सिकाइ नेपालमा गोल

हल्चोक मैदानमा कप्तान हसन नजिमको पेनाल्टी गोलमा पाहुना टिमले १३ औं मिनेटमै अग्रता लिएको थियो । दोस्रो हाफमा नेपाली टिमले सुधारिएको प्रदर्शन गर्‍यो । त्यसक्रममा मनीषले ७५ औं मिनेटमा वृजेश चौधरीको पासमा हेडर गोल गरेपछि नेपाली टिम अनपेक्षित हारबाट जोगियो । यू–१८ साफको यो तेस्रो संस्करण हो । अघिल्ला दुवै संस्करणको उपाधि नेपालले जितेको थियो ।


‘पहिलो खेलमै गोल गरे । खुसी लागेको छ,’ बुधबार १८ औं जन्मदिन मनाएका मनीषले भने, ‘टिमका सबैले राम्रो मिहिनेत गरे । सबैले सहयोग गरेकाले मैले गोल गर्न सकें ।’ पहिलो हाफमा टिमजस्तै फितलो देखिएका उनले थपे, ‘दोस्रो हाफमा हामीले राम्रो गर्‍यौं । थुप्रै अवसर पनि पाएका थियौं तर भाग्यले साथ दिएन । हामी राम्रो खेल्दै च्याम्पियन बन्न चाहन्छौं ।’ व्यक्तिगत प्रदर्शबारे उनले भने, ‘मैले अभ्यासमा थुप्रै गोल गरेको थिएँ । राम्रो खेलेको थिएँ । तर पहिलो खेल (अन्तर्राष्ट्रिय फुटबलमा) भएकाले नर्भस भएँ । राम्रो खेल्दै आफ्नो प्रदर्शनमा सुधार गर्दै जानेछु ।’


‘बुवाको सपना’

माल्दिभ्सविरुद्ध गोल गरेपछि सहकर्मीसँगै दौड्दै खुसी मनाउने क्रममा बुवालाई स्मरण गरेको मनीषले बताए । ‘एकेडेमीमा ट्रेनिङ गरेको देखेर उहाँले एक दिन मैले नेपालको जर्सी लगाएर खेलेको सपना देख्नुभएको थियो,’ तीन वर्षअघि मृत्यु भएका बुवालाई सम्झँदै उनले भने, ‘उहाँकै सपना पूरा गर्न नेपाल आएको हो ।’ हाल उनको परिवारमा आमा रीता र दाइ छन् । बुवाको निधनपछि आमाले सातदोबाटोमा रेस्टुराँ व्यवसाय सुरु गरेकी छन् । मनीष भने सोलमा एकेडेमीमा रहेर फुटबलमै करिअर बनाउन मिहिनेत गरिरहेका छन् ।


उनी ६ महिनाअघि नागरिकता बनाउन स्वदेश फर्किएका थिए । नागरिकता बनाएर एक महिना यतै बस्ने योजना बनाएका उनले दुई महिना स्वदेशमै बिताए । कारण खोले, ‘उता (कोरिया) मा ट्रेनिङ गरिरहेको थिएँ । यता त्यत्तिकै बस्दा खेल्ने शरीर बिग्रिन्छ भन्ने लाग्यो ।’ उनी ९ कक्षासम्म जेम्स स्कुल धापाखेलमा पढेका थिए । त्यहाँ रमाइलोका लागि फुटबल खेल्ने उनको स्कुले टिमलाई सिकाउने काम गर्थे, उर्जन श्रेष्ठले । उनी छोटो स्वदेश बसाइमा नागरिकता बनाएपछि उर्जनकै सम्पर्कमा पुगे ।


त्यस बेला सहिद स्मारक ‘सी’ डिभिजन लिग सञ्चालन भइरहेको थियो । त्यसैले मनीषको कौशल देखेर उर्जनले उनको शारीरिक अवस्थालाई उस्तै राख्न मात्र होइन, खालीबारी युवा क्लबबाट सी डिभिजन लिग खेल्ने व्यवस्था नै मिलाइदिए । उनले पनि पाएको अवसर उपयोग गर्ने निर्णय गरे । लिग अन्तिम चरण अर्थात् सुपर लिगमा पुगेको थियो । उनले ३ खेल खेले र ५ गोल गरे । पहिलो खेलमा १ गोल, त्यसपछि २–२ गोल । खालीबारी च्याम्पियन नै भयो । तीन खेलमा मात्रै मैदानमा ओर्लिएर पनि मनीषले नेपाली फुटबलमा आफ्नो सम्भावना देखाए ।


सी डिभिजन लिग सकेपछि उनी कोरिया फर्किए । सिन्हङ एकेडेमीको यू–१८ टिममा रहेर प्रशिक्षणलाई फेरि निरन्तरता दिए । उनका अनुसार एकेडेमीमा सोमबारदेखि शुक्रबारसम्म ट्रेनिङ गराइन्छ । शनिबार ‘विकेन्ड (सप्ताहान्त) लिग खेल्नुपर्छ । आइतबार आराम दिइन्छ । ‘कोरियामा वर्षभरि नै खेल्नुपर्छ,’ उनले सुनाए, ‘हामीले एकेडेमीको यू–१८ टिमबाट जिल्लाको हाइस्कुल लिग खेलिरहेका छौं । यसमा आठ टिम छन् ।’


उनी साफ यू–१८ च्याम्पियनसिपका लागि नेपाली टिमको छनोटमा सहभागी हुन भदौ १६ मा काठमाडौं फर्किएका थिए । त्यस बेला टिमको छनोट ४६ जनाको प्रारम्भिक सूचीबाट ३० खेलाडीमा घटाइसकेको थियो । ‘मिहिनेत गर्छु, टिममा परे भने परिहाले नपरे पनि केही छैन भन्ने सोचेको थिएँ,’ उनले सुनाए । तर उनलाई २३ खेलाडीको साफ यू–१८ टिममा स्थान बनाउन गाह्रो भएन । ‘उनको स्किल राम्रो छ । उनी यो उमेर समूहमा कुशल खेलाडी हुन्,’ मनीषबारे नेपाली यू–१८ टिमका मुख्य प्रशिक्षक चेतनारायण श्रेष्ठले भने, ‘उनको आगमनले टिम बलियो भएको छ । पहिलो खेलमा उनी केही नर्भस देखिए । आउने खेलमा आत्मविश्वासी भएर राम्रो प्रदर्शन गर्ने विश्वास छ ।’


युरोपमा खेल्ने आस

उनी जेम्स स्कुलको विद्यार्थी छँदा होस्टेलमा बस्थे र रमाइलोका लागि फुटबल खेल्थे । ‘फुटबल मनपर्थ्यो,’ इंग्लिस प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका समर्थक मनीषले भने, ‘एकपटक प्रयास गरौं न त भनेर बुवा र दाइले एकेडेमीमा लानुभयो अनि मिहिनेत गर्दै गएपछि फुटबल खेलाडी बन्छु भन्ने लाग्यो ।’ उनले सोलमा फुटबलसँगै अध्ययन पनि अघि बढाइरहेका छन् । ‘प्राथमिकता फुटबल हो । त्यसपछि पढाइ,’ उनले भने । हाइस्कुलको दोस्रो वर्षमा अध्ययनरत उनीसँगै सिन्हङ एकेडेमीको यू–१८ टिममा ४० व्यावसायिक खेलाडी बन्ने सपना बुन्दै ट्रेनिङ गरिरहेका छन् । व्यावसायिक खेलाडीको सपना युरोपमा खेल्ने हुन्छ, जहाँको क्लब फुटबल लोकप्रिय छ र नामसँगै दाम पनि कमाउन सकिन्छ । उनको चाहना पनि फरक छैन । ‘कोरियामा राम्रो गर्ने र त्यसपछि युरोपमा खेल्ने लक्ष्य छ । त्यसका लागि सजिलो छैन, मैले थप मिहिनेत गर्नुपर्छ ।’


एकेडेमीमा अट्याकिङ मिडफिल्डर र स्ट्राइकरको भूमिकामा प्रशिक्षकको रोजाइअनुसार खेलिरहेको मनीषले बताए । उनलाई साफ यू–१८ मा माल्दिभ्सविरुद्ध वृजेशसँगै अग्रपंक्तिमा खेलाइएको थियो । ‘सँगै ट्रेनिङ गरेको धेरै भएको छैन । विस्तारै टिममा सहकार्य मिल्दै गएको छ,’ उनले भने, ‘उता र यता खेल्ने स्टाइल पनि फरक छ ।’ उनी दिमागी खेल खेल्न चाहन्छन् र ‘१८ यार्ड बक्स’ मा आफूलाई उत्कृष्ट साबित गर्न चाहन्छन् । १७० सेन्टिमिटर अग्ला उनी दुवै खुट्टा उत्तिकै चलाउँछन् । नेपालको जर्सी लगाएर खेल्दै बुवाको सपना पूरा गर्न पाएकामा दंग उनी एएफसी यू–१९ च्याम्पियनसिपको छनोट (६–१० नोभेम्बर) पछि फेरि सोलमा फर्केर एकेडेमीमै फुटबल कौशल सिक्न व्यस्त हुनेछन् ।


प्रकाशित : आश्विन ४, २०७६ १०:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?