कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

साफ यू–१८ फुटबल : माल्दिभ्ससँग बराबरीमा रोकियो नेपाल

नेपाल १–१ माल्दिभ्स

काठमाडौँ — नेपाली टिमलाई सधैं ९० मिनेट एकरुपले खेल्न नसकेको आरोप लाग्ने गर्छ । भइरहेको छ पनि त्यस्तै । त्यो रोग उमेर समूहको टिममा पनि छ । लगातार दुईपल्टको डिफेन्डिङ च्याम्पियन नेपाली युवा टिमले साफ यू–१८ च्याम्पियनसिपको पहिलो खेलमा माल्दिभ्सविरुद्ध त्यस्तै परम्परा दोहोर्‍यायो ।

साफ यू–१८ फुटबल : माल्दिभ्ससँग बराबरीमा रोकियो नेपाल

घरेलु टिमको लािग पहिलो हाफ सम्झनलायक भएन । डिफेन्डर रोशन दोङले पाहुना टिमका कप्तान हसन नजिमलाई अनावश्यक फाउल गरेपछि माल्दिभ्सले पेनाल्टी पायो र नजिमले त्यसलाई सहज गोलमा परिणत गर्दै आफ्नो टिमलाई हल्चोक मैदानमा १–० ले अघि बढाए । १३ औं मिनेटमा भएको त्यस गोल लगत्तै नेपालका कप्तान जय गुरुङको हेडरलाई हसन अलिफले क्लियर गरे । ‘सिक्स यार्ड बक्स’ मा बृजेश चौधरीको दुई प्रहारमा किपर र डिफेन्स बाधक बनेपछि नेपालले २० औं मिनेटमा बराबरी गर्ने अवसर गुमायो । बाँकी पहिलो हाफको समय निरस रह्यो ।


दोस्रो हाफमा भने नेपाली टिमले लय समात्यो । बलमाथि नियन्त्रण राख्यो । निरन्तर आक्रमण गर्‍यो । केही प्रहारमा पाहुना टिमका खेलाडीको शरीर र खुट्टाले बललाई जाली चुम्न दिएन । दुईपल्ट बल बारमा लागेर फर्कियो । गोलकिपर अलिफले पनि राम्रै बचाउ गरे । माल्दिभ्सको पुरै टिम रक्षापंक्तिमै व्यस्त देखिए । त्यसै क्रममा मनीष डाँगीले बृजेशको पासमा हेडद्वारा ७५ औं मिनेटमा गोल गरेर साफ यू–१८ मा ह्याट्रिक गर्ने दाउमा रहेको नेपाललाई पहिलो खेलमा अंक दिलाए ।


‘नेपाल धेरै राम्रो टिम हो भन्ने थाह थियो,’ माल्दिभ्सका प्रशिक्षक मोहम्मद सेजलीले भने, ‘हाम्रो लक्ष्य अंक नगुमाउने थियो र कठिन भएर पनि यसमा सफल भयौं । हामी धेरै भाग्यमानी पनि रह्यौं, कडा मिहिनेतले नै भाग्यमानी बनाउँछ ।’ उनले प्रतियोगिताको लागि मैदानको अवस्था राम्रो नभएको पनि बताए ।


‘आक्रामक रणनीति लिएका थियौं,’ नेपाली टिमका प्रशिक्षक चेतनारायण श्रेष्ठले भने, ‘पहिलो हाफमा योजनाअनुसार खेल्न सकेन । त्यसको मुख्य कारण पेनाल्टी गोल पनि हो ।’ दोस्रो हाफमा गोल गर्नका लागि खेलाडीलाई आक्रामक खेल्न निर्देशन दिएको उल्लेख गर्दै उनले भने, ‘खेल मिल्दै जाँदा गोल भयो । तर् १ अंकमात्रै आयो । माल्दिभ्स भाग्यमानी रह्यो ।’ नेपालले सेमिफाइनल प्रवेशका लागि निर्णायक मानिएको समूहको दोस्रो खेलमा आइतबार भुटानविरुद्ध प्रतिस्पर्धा गर्नेछ ।


शनिबारको खेल

बंगलादेशविरुद्ध श्रीलंका

१५ः०० बजे

हल्चोक मैदान

प्रकाशित : आश्विन ३, २०७६ १७:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?