१७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६३

कहाँ चुक्दैछन् जिदान ?

बीबीसी

गुइलम बालाग — गत साता आफ्नैबारे टीभी सिरियल सार्वजनिक कार्यक्रममा सर्जियो रोमासले पत्रकारसँगै ख्याल–ख्यालमा भने, ‘रियल म्याड्रिडमा भन्दा एमेजनमै अब मैले धेरै सिजन बिताउने छु ।’ स्पेनी सेन्टर ब्याकको बेर्नाबेउमा दुई सिजन बाँकी छ । रियलले यस अनुबन्ध लम्ब्याउन खोजिरहेको छैन ।

कहाँ चुक्दैछन् जिदान ?

पछिल्लो १४ वर्षयता रोमास लगातार रियलमा छन् । उनको यसबीच उपस्थिति पनि तगडा छ । पछिल्लो ६ च्याम्पियन्स लिग संस्करणमध्ये चारमा रियल विजयी छ ।


व्यवस्थापकका रूपमा जिदान गत सिजनको अन्त्यतिर फेरि टिममा फर्के । त्यसयता टिमको जित प्रतिशत छ, ५० त । यस सिजनको सुरुआतदेखि यो आँकडामा सुधारको कुनै संकेत छैन । रियलको प्रदर्शनमा एकरूपता छैन । युरोपेली च्याम्पियन्स लिगमा पेरिस सेन्ट जर्मेन (पीएसजी) विरुद्धको खेल गुमाएयता रियलले दुई ठूला खेल खेल्नु छ । लिगमा शीर्षस्थानको एट्लेटिको म्याड्रिडविरुद्ध तथा च्याम्पियन्स लिगमा ला लिगा प्रतिद्वन्द्वी सेभियाविरुद्ध ।


रियलका लागि यस्तो अवस्था केही नयाँ होइन । मैदानभित्र र बाहिर धेरै उतारचढाव भइरहन्छ । तर एउटा तथ्य के निश्चित छ भने युरोपेली क्लब फुटबलको सबैभन्दा सफल टिमले प्रतियोगिताको पहिलो खेलमै नमज्जाको हार बेहोर्छ भने टिममा केही कमजोरी छ । हुन सक्छ, जिदान आफैंले पनि कुनै पनि बेला आफ्नो पद गुमाउन सक्ने छ । सायद जिदानले यस्तो स्थिति आउने छ भनेर केही समय अगाडि नै भविष्यवाणी पनि गरिसकेका थिए ।


सन् २०१७–१८ को च्याम्पियन्स लिग जितेलगत्तै जिदानले प्रशिक्षक पदबाट राजीनामा दिए । उनले त्यति बेला भनेका थिए, टिममा व्यापक परिवर्तन गर्नुपर्नेछ । यस्तै परिवर्तन गर्न क्लब व्यवस्थापनले उनलाई सहयोग पनि गरिरहेको छैन । पछिल्लो मार्चमा उनी फेरि क्लबमा फर्के अध्यक्ष फ्लोरेन्टिनो पेरेजको अनुरोधमा । यसअघि उनै पेरेजले टोटेनहमबाट माउरिसियो पोचेटिनो र चेल्सीका पूर्व व्यवस्थापक एन्टोनियो कोन्टेलाई ल्याउने प्रयास गरेका थिए ।


जिदानले नयाँ नियुक्ति पाउँदा उनलाई भनिएको थियो, क्लबमा परिवर्तन ल्याउने अधिकार र रकम दुवै उनलाई दिइनेछ । यस्तो आवश्यकता स्वाभाविक पनि थियो, किनभने ला लिगामा पनि रियल विजेता बार्सिलोनाभन्दा १७ अंकले पछाडि थियो । तर स्थिति अहिलेसम्म सुध्रिएको छैन । उनी आएयता लिगका १५ खेलमध्ये रियल ७ मा मात्र विजयी छ । यो जितको ४६.७ प्रतिशत सफलता मात्र हो । उनी अगाडिका प्रशिक्षक सान्टियागो सोलारीको जित प्रतिशत बरू राम्रो थियो, ६८.८ प्रतिशत ।


यसपल्ट प्रदर्शन खराब हुनुपछाडि मार्को एसेन्सियो र इडेन हाजार्डको चोट पनि प्रमुख कारण बनेको छ । यो सिजन नयाँ खेलाडीका रूपमा भित्रिएका हाजार्डले केही देखाउन सकेका छैनन् । फेरि जिदानले पनि रणनीतिक रूपमा टिममा कुनै परिवर्तन गर्न सकेका छैनन् । जिदानलाई कहिले पनि फुटबलका आइन्सटिन प्रशिक्षक भनिएको छैन । उनको सबैभन्दा बलियो विशेषता भनेकै खेलाडीसँग कायम राख्न सक्ने सुमधुर सम्बन्ध हो । अहिले यो पक्ष पनि जिदानको कमजोर हुँदै छ । हल्ला चल्न थालेको छ, फेरि आउँदै छन् उनै जोसे मोउरिन्हो ।


प्रकाशित : आश्विन ३, २०७६ ०९:२४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?