द सनविरुद्ध स्टोक्स आक्रामक

द गार्डियन

(लन्डन) — इंग्लिस क्रिकेटर बेन स्टोक्सले द सनको पहिलो पृष्ठमा प्रकासित आफ्नो परिवारबारेको समाचारलाई घृणित भएको संज्ञा दिएका छन् । उनको अनुसार यो अन्यन्त अनैतिक पनि छ । स्टोक्सको परिवारले ३१ वर्षअगाडि बेहोरेको एउटा दुखान्त घटना द सनले प्रकासित गरेको थियो ।

द सनविरुद्ध स्टोक्स आक्रामक

स्टोक्सले ट्विटरमा लेखेका छन्, ‘द सनले आफ्नो परिवारबारे पुराना घटना छापेर पुरानो घाउ उप्काउने काम गरेको छ ।’ विशेषत: यो समाचारले स्टोक्सका आमालाई आघात पुग्नेछ ।


उनको दाबी छ, द सनले छापेको समाचार पूर्णत: सत्य पनि छैन । ‘द सनले त्यो समाचार छापेको छ, जसले हाम्रो परिवारलाई असाध्यै पीडा दिएको थियो । यो निकै व्यक्तिगत घटनामा आधारित छ । सनले जुन प्रकारको पत्रकारिता गर्न खोजेको छ, त्यससलाई स्विकार्न सकिन्न । यो समाचार हृदयविहीन भएर लेखिएको छ । समाचारले फेरि हाम्रो परिवारलाई कति चोट पुर्‍याएको छ, त्यो म भन्न सक्दिनँ,’ स्टोक्सको भनाइ छ ।


स्टोक्सले समाचारलाई पत्रकारिताको सबैभन्दा तल्लो स्तरको रहेको बताए । उनले भने, ‘द सनले खाली समाचार बेच्न मात्र चाहन्छ । समाचार बिकाउन त्यसमा मेरो नाम जोडिएको हो । हाम्रो परिवार वास्तवमै निकै दु:खी छ ।’ त्यो समाचारले न्युजिल्यान्डमा ३१ वर्षअगाडि भएको त्यो घटनालाई फेरि प्रस्तुत गरेको छ । त्यसमा उनकी आमाका पूर्व पतिले उनीहरूका दुई सन्तानलाई मारेका थिए । त्यसपछि ती पूर्व पतिले आत्महत्या पनि गरेका थिए ।


द सनले भने आफ्नो समाचारको प्रस्तुटि ठीक भएको दाबी गर्दै स्टोक्स र उनको परिवारले बेहोरेको दु:खप्रति सहानुभूति रहेको पनि जनाएको छ । पत्रिकाले पुरानो घटनालाई फेरि प्रस्तुत गर्ने प्रयासमात्र गरेको प्रस्ट्याएको छ । पहिलो पृष्ठमै खुबै महत्त्व दिएर छापिएको समाचारको शीर्षक छ, ‘हिरो बेन’ । इंग्ल्यान्ड एन्ड वेल्स क्रिकेट बोर्ड र स्टोक्सका केही खेलाडी पनि द सनको विरोधमा उत्रेका छन् र समाचारको विरोध गरेका छन् ।


उनीहरूले द सनले यति बेला स्टोक्सको परिवारसँग जोडिएको त्यो घटना उप्काएर व्यापार गर्न मात्र खोजेको जनाएको छ । स्टोक्सको विरोधपछि उक्त पत्रिकाको विरोधमा सामाजिक सन्जालमा ट्रेन्ड चलेको छ । ह्यासट्याग ‘डन्ट बाइ द सन’ इंग्ल्यान्डमा ट्रेन्ड बनेको छ । सन् १९८९ मा पनि हिल्सबोरो दुर्घटनाको गलत समाचार छापेको आरोपमा द सन पत्रिका नकिनौं भनेर अभियान नै चलेको थियो । अझै पनि लिभरपुलमा सन पत्रिका बहिष्कारको क्रम जारी छ ।


द सनले छापेको समाचारअनुसार स्टोक्सकी आमा डेवका पूर्व पति रिचर्ड डनबाट जन्मेका दुई सन्तान मारिएका थिए । उनलाई मार्ने अरू कोही नभएर डन आफैं थिए । पछि डनले पनि आत्महत्या गरे । यो घटना स्टोक्स जन्मनु अगाडि सन् १९८८ मा भएको थियो । डेवको स्टोक्सका बुवा जेरार्ड स्टोक्सको सम्बन्धलाई लिएर विवाद भएपछि डनले आफ्ना दुई सन्तान मारेर आफैं मरेका थिए । पछि स्टोक्स न्युजिल्यान्ड छाडेर इंग्ल्यान्ड आएका थिए ।

प्रकाशित : आश्विन २, २०७६ ०९:३०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

छ वर्षअघि अन्त्य भइसकेको यातायात क्षेत्रको सिन्डिकेट ब्युँताउने चलखेल सुरू भएको छ । तपाईंको के राय छ ?