झरना सिल्डको त्यो कथा

सन्जु पौडेल

(रूपन्देही) — उनीहरू सबै एउटै विद्यालयमा पढ्थे । साँझ–बिहान सँगै फुटबल खेल्थे । साथीभाइ जुट्यो अनि खेल्यो । लामो अवधि यस्तै चल्यो । फुटबलमा लगाव बढ्दै गएपछि उनीहरूको एउटा समूह बन्यो । समूहले खेल्ने क्रममा चिनाउन ‘लोफर’ नाम राख्यो ।

झरना सिल्डको त्यो कथा

समूहमा स्व. टेकबहादुर बुढाथोकी, पदमबहादुर थापा, शोभाखर बगाले, लक्ष्मी बस्याल, पूरन केसी, सुशील घिमिरे, टंक सुवेदी, छत्रबहादुर दर्लामीलगायत संलग्न थिए ।


उनीहरू गाउँ र आसपास सञ्चालन हुने प्रतियोगितामा भाग लिन जान्थे । त्यति बेला विजेताले सिल्ड मात्र प्राप्त गर्थे । नारायणगढ, पाल्पालगायत ठाउँमा गएर खेल्थे । टाढासम्म जानुपर्दा उनीहरूसँग गाडी भाडा हुन्थेन । समस्या भएपछि समूहले नयाँ उपाय निकाल्यो । ०२७ सालमा प्रत्येक घरबाट १–१ पाथी चामल र १०–१० रुपैयाँ संकलन गरेर फुटबल खेल्न पाल्पा गएका थिए । बाटोमा बास बसेर जानुपर्थ्यो । झुम्सासम्म बसले छतमा राखेर पुर्‍याइदियो । झुम्साबाट हिँड्दाहिँड्दै रात पर्‍यो । उनीहरू बास बसे । आफैंले लिएर गएको चामल पकाएर खाए अनि आराम गरे । अर्को दिन साँझ पाल्पा पुगे । उक्त प्रतियोगितामा दोस्रो स्थान ओगट्न सफल भए । त्यहाँबाट फर्केर आउँदा बाटोमा रहेको खोलापारि झरना बगेको देखे । त्यसपछि लोफर नाम परिवर्तन गरी झरना राख्ने निधो गरेको संस्थापक सदस्य तथा खेलाडी पदमबहादुर थापाले बताए । ‘०२७ सालमा झरना स्पोर्टस क्लब स्थापना गर्‍यौं,’ उनले भने, ‘वरपरका साथी मिलेर कुन्जलापुरमा खेल सञ्चालन गर्ने गरी क्लब गठन भएको थियो ।’ त्यसयता क्लबले निरन्तर झरना कप प्रतियोगिता आयोजना गर्दै आएको छ ।


क्लबका संस्थापक अध्यक्ष स्व. टेकबहादुर बुढाथोकी थिए । उनको अगुवाइमा क्लबले खेलाडीलाई प्रोत्साहन गर्न प्रतियोगिता सुरु गरेको थियो । सुरुमा ५ सय रुपैयाँ संकलन गरेर सिल्ड खरिद गरिएको थियो । त्यसबेला क्लब गठन गर्ने, सामूहिक काम गर्ने सोचका साथ यसरी संस्था दर्ता भएको बिरलै पाइन्थ्यो । त्यस्तो समयमा पनि झरना स्पोर्ट्स क्लब स्थापना भएको थियो । साबिकको आनन्दवन गाविसको कुन्जालापुरस्थित क्लवले ०३९ सम्म स्थानीय र बाहिरका खेलाडी क्लबमा आबद्ध गराएको थियो । खेल आयोजना गर्न स्थानीयले सुरुदेखि व्यक्तिगत दान गर्दै आएका थिए । ०३९ बाट क्लबले रनिङ सिल्ड सञ्चालन गर्ने निर्णय गर्‍यो । त्यसका लागि प्रत्येक घरबाट अनिवार्य २ रुपैयाँ जम्मा गर्न थाले । प्रतियोगिताका बेला टिकटको १ रुपैयाँ र पार्किङको २ रुपैया लिने निर्णय गरिएको थियो । खेल आयोजना गर्ने निर्णय गरेपछि मैदान आवश्यक पर्‍यो । त्यसका लागि व्यक्तिगत जग्गा भएका व्यक्तिलाई अर्को स्थानमा भोगचलनमा रहेको जग्गा उपलब्ध गराएर उमा आधारभूत विद्यालय अगाडिको करिब तीन बिघामा मैदान निर्माण गरिएको झरना स्पोर्टस क्लबका कोषाध्यक्ष धनेन्द्र पौडेलले बताए । ‘सुरुमा भोगचलन आधार भएपछि नापी र गाविसले त्यहाँ लालपूर्जा वितरण गरे,’ उनले भने, ‘विस्तारै देउसी/भैलो र आमा समूहले संकलन गर्ने रकम क्लबका लागि प्रयोग गर्न थाल्यौं ।’


क्लबले खेल आयोजनाका साथै आफ्नै टिमलाई मुलुकभित्र र बाहिर सहभागिताका लागि पठाउने गरेको छ । जिल्लामा हुने खेलमा झरनाको बलियो सहभागिता हुने गरेको छ । क्लबले आयोजना गर्ने रनिङ सिल्ड लोकप्रिय छ । प्रत्येक वर्ष रनिङ सिल्ड आयोजनाका लागि विदेशमा रहेका स्थानीयले आवश्यक खेल सामग्री, पोसाक र नगद सहयोग गर्दै आएका छन् । विदेशबाट प्रायोजनसमेत गर्छन् । प्रतियोगिताका लागि हरेक घरबाट संकलन हुने रकम पनि वृद्धि गरिँदै लगियो । मुलुकमा द्वन्द्वका बेला क्लबका गतिविधिमा प्रभाव पर्‍यो । बन्द, हडतालका कारण जिल्लाबाट बाहिरबाट क्लब सहभागी हुन सकेनन् । त्यसपछि भने विस्तारै टिमहरू आउन थाले र पुन: प्रतियोगिता सुरु भयो । अहिले क्लबले स्थापनाको ५० औं वर्ष पार गरिसकेको छ । यस अवधिमा रनिङ सिल्डको ३२ संस्करण पूरा भइसकेको छ ।


प्रत्येक वर्ष फूलपातीदेखि झरना रनिङ सिल्ड नकआउट प्रतियोगिता हुन्छ । त्यसकालागि प्रत्येक घरबाट एक जना सदस्य झरना रनिङ सिल्ड आयोजनामा स्वयंसेवक भएर खटिन्छन् । एउटा घरले ५ सय रुपैयाँ अनिवार्य आर्थिक सहयोग गरिरहेको कोषाध्यक्ष पौडेलले बताए । त्यसबाहेक आफ्नो इच्छाले विदेशमा रहेका स्थानीय र साथीभाइले सहयोग गर्दै आएका छन् । ३२ औं संस्करणमा ३ लाख रुपैयाँ प्रथम पुरस्कार राखिएको थियो । दोस्रोले १ लाख ५० हजार पाएका थिए । खेल संचालन अवधिभर प्रतियोगितास्थलमा ८० स्वयंसेवक खटिने गरेको पौडेलले सुनाए । ‘हरेक घरबाट एक सदस्य खेलका लागि खटिनुपर्छ,’ उनले भने, ‘गाउँ मिलेको भएर एकताबद्ध ढंगले प्रतियोगिता गर्न सकिएको छ ।’ सुरक्षाका हिसाबले बढी स्वयंसेवक खटिने भएकाले दर्शकको भीड हुने गरेको उनले बताए ।


बिहीबारदेखि ३३ औं संस्करण

‘झरना रनिङ सिल्ड’ को ३३ औं संस्करण बिहीबार सुरु हुँदै छ । तिलोत्तमा–६ कुन्जलापुरमा प्रतिस्पर्धा चल्नेछ । झरना क्लब यस वर्षको जिल्ला लिग च्याम्पियन पनि हो । प्रदेश ५ का १६ टोलीबीच प्रतिस्पर्धा हुने प्रतियोगिता असोज १८ सम्म चल्ने आयोजकले जनायो । ‘विगतमा हामीले ३०/३५ टिम समावेश गरेर एक महिनासम्म प्रतियोगिता गर्थ्यौं ।


अहिले आर्थिक कारणले थोरै टिम तर स्तरीय फुटबल आयोजना गर्न लागेका हौं,’ क्लबका अध्यक्ष लोक पुनले भने । कुन्जलापुरस्थित उमा आधारभूत विद्यालयको मैदानमा हुने प्रतियोगितामा आयोजक झरनासहित योङ स्टार एफसी मडाहा, नवलपरासी–११, नवयुवा केटीएस, गोर्खा ब्वाइज, सुपौली युवा क्लब, जयबुद्ध सामाजिक युवा क्लब, सिम्रिक युवा क्लब, न्यु सिर्जना युवा क्लब, नेपालगन्ज–११, जनज्योति युवा क्लब, फर्साटिकार एफसी, जू एफसी, फूलबारी गाइज, लिस्नु युवा क्लब र गीता क्लबको सहभागिता रहनेछ । विजेताले ३ लाख १० हजार र उपविजेताले १ लाख ५५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् । सेमिफाइनलमा पुग्ने दुई टिमले समान २५ हजार पाउनेछन् । व्यक्तिगत विधाका उत्कृष्टलाई पनि पुरस्कार दिइने जनाइएको छ ।


प्रकाशित : आश्विन २, २०७६ ०९:२८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?