कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७७

‘सोचेभन्दा राम्रो’

राजु घिसिङ

काठमाडौँ — नेपाली टिमकी फरवार्ड सावित्रा भण्डारीले नाडेज्दा कपको यात्रा सोचेभन्दा राम्रो भएको बताएकी छन् । चार देश सहभागी प्रतियोगितामा नेपाली टिम उपविजेता भयो र व्यक्तिगत उपलब्धिको रूपमा उनले सर्वाधिक ३५ गोल गरेकी पूर्व कप्तान अनु लामाको कीर्तिमान बराबरी गरिन् ।

‘सोचेभन्दा राम्रो’

‘समग्रमा सोचेभन्दा रम्रो भयो,’ किर्गिस्तानको काराकोलमा भएको प्रतियोगिताबारे सावित्राले भनिन्, ‘अनु दिदीको रेकर्ड तोड्ने लक्ष्य थियो । यही प्रतियोगितामा बराबरी गरें । त्यति धेरै गोल (७) सोचेकी थिइनँ । तीन–चार गोलसम्म गर्नसक्ने सोचेको थिएँ तर ७ गोल हानें । मेरा लागि राम्रो पक्ष रह्यो । अब आउने प्रतियोगितामा मेरो रेकर्डलाई कसरी अगाडि बढाउने भन्ने अवसर पाएकी छु ।’


सावित्राको चार गोल सहयोगमा पहिलो खेलमा नेपालले आयोजक किर्गिस्तानलाई ८–२ ले हराएको थियो । दोस्रोमा उज्वेकिस्तानविरुद्ध २–० ले चुक्यो । निर्णायक खेलमा सावित्राकै गोलमा ताजकिस्तानलाई १–० ले हराएर नेपाल नाडेज्दा कपको फाइनलमा पुगेको थियो । उपाधि होडमा सावित्राको दुई गोल आठौंपल्टको फाइनल यात्रामा पनि नेपाललाई उपाधि दिलाउन पर्याप्त भएन । ३–० को अग्रता लिएको उज्वेकिस्तानले ३–२ ले फाइनलको नतिजा कब्जा गरिदियो ।


‘हाम्रो टिमको प्रदर्शनलाई सन्तोषजनक मान्नुपर्छ,’ स्वदेश फर्केर १३ औं दक्षिण एसियाली खेलकुद (साग) को ट्रेनिङ सुरु गरेकी २३ वर्षीया सावित्राले भनिन्, ‘टेक्निकल, ट्याक्टिकल, शारीरिकलगायत हरेक पक्षमा उज्वेकिस्तान धेरै राम्रो थियो । हामीले फिफा वरीयतामा ४४औं स्थानमा रहेको टिमविरुद्ध फाइटिङ स्पिरिट र जितको मानसिकतालाई मैदानमा साबित गरेका छौं । नतिजा हाम्रो पक्षमा नआउनु आफ्नै ठाउँमा छ ।’ उनी उज्वेकस्तानकी डिडोरा नोजिमोभासँगै नाडेज्दा कपमा सर्वाधिक गोलकर्ता बनेकी थिइन् ।


नियमित कप्तान निरु थापा दोस्रो खेलमा उज्वेकविरुद्ध घाइते भएपछि मैदानमा उत्रिएनन् । त्यसपछि उनको स्थान सरु लिम्बुले लिएकी थिइन् । अग्रपंक्तिमा आफ्नो सहकर्मी परिवर्तनबारे सावित्राले भनिन्, ‘अगाडि जो खेले पनि उत्तिकै सहयोग पाएँ । ट्रेनिङमा सबै (निरु, सरु, अनिता केसी, रेखा पौडेल) मसँगै अगाडि खेल्ने गर्थे । त्यसैले निरु दिदीको स्थानमा सरु आउँदा मलाई कुनै फरक परेन । मैले उनीहरूको र उनीहरूले मेरो मुभ र खेल बुझेका थियौं । निरु दिदी नहुँदा पनि सरुले राम्रो समन्वय गरिन् ।’


नेपाली टिमले १३ औं सागमा स्वर्णपदक जित्ने लक्ष्य बनाएको छ र त्यसैको तयारीमा नाडेज्दा कम खेल्न मध्यएसिया पुगेको थियो । ‘हामी २–३ गोलले हारे पनि फुटबलप्रेमीहरू खुसी छन् जस्तो लाग्छ किनभने हामीले ज्वेकिस्तानजस्तो बलियो टिमविरुद्ध खेल्दा १३ औं सागको लागि आफ्नो कमी–कमजोरी पत्ता लगाउने अवसर पाएका छौं । त्यसलाई सच्याएर अघि बढ्नुपर्छ ।’ कमजोरी के देखियो ? ‘गोलकिपर र डिफेन्सको समन्वय कमजोर रह्यो । डिफेन्स र मिडफिल्डमा पनि ठूलै ग्याप देखियो । लामो दूरीबाट बल हान्न पनि सकेनौं । यी दुईलाई सुधार गर्नुपर्ने देख्छु,’ उनले सुनाइन् ।


नेपाली महिला टिमले नाडेज्दा कपसहित नौ वर्षयता आठपल्ट फाइनल खेल्यो र सबैमा उपाधि विपक्षीलाई सुम्पियो । त्यसमध्ये ६ पल्ट उपाधि होडमा भारतविरुद्ध हारेको थियो । भारत बलियो कि नाडेज्दा कपको उज्वेकिस्तान ? ‘उज्वेकिस्तान अलि बलियो टिम हो,’ छिमेकी प्रतिद्वन्द्वीविरुद्ध तीनपल्ट फाइनल खेलेकी सावित्राले भनिन्, ‘भारतले विंग्सबाट बल अगाडि बढाउँथ्यो । उज्वेकिस्तानले फरवार्ड निकै छरिता र उसका डिफेन्सले नै बल कुदाउने रहेछ । उसको मिडफिल्डको काम डिफेन्सले नै गरेको देखियो ।’ वरीयतामा नेपालभन्दा ५७ स्थान माथिको टिम हो उज्वेकिस्तान ।


पामचोक लमजुङकी सावित्रा रेफ्री शुक्र लामाको सहयोगमा सशस्त्र प्रहरी बलको एपीएफ क्लबमा पाँच वर्षअघि पुगेकी थिइन् । त्यति बेला जमुना गुरुङ र अनु लामा नेपाली महिला फुटबलको गोलमेसिन कहलिएका थिए । दुवै एपीएफमा थिए । उनी हल्चोक पुग्दा जमुनाको घुँडामा शल्यक्रिया गरिएको थियो भने अनु ‘मिसन’ मा विदेशमा थिइन् । त्यही मौकामा उदाएकी हुन् सावित्रा । तेस्रो साफ महिला च्याम्पियनसिप (सन् २०१४) मा भुटानविरुद्ध मैदानमा प्रवेश गरेको दोस्रो मिनेटमै गोल गर्दै अन्तर्राष्ट्रिय फुटबलमा डेब्यु गरेकी उनले त्यसको पाँच वर्षभित्रै ३५ गोल गरेकी छन्, जुन अनुको कीर्तिमानको बराबरी हो ।


‘मैले अनु र जमुना दिदीको नाममात्रै सुनेकी थिएँ । अनु दिदीसँग धेरै खेल्ने अवसर पाएँ । क्लबमा मेरो प्रिय खेलाडी उहाँ नै हुनुहुन्थ्यो । उहाँले धेरै सकारात्मक सल्लाह दिनुभयो,’ सावित्राले भनिन् । अबको लक्ष्यबारे उनी बोलिन्, ‘अनु दिदीलाई भेटिसकें (गोलको कीर्तिमान) । मलाई अरुले पछ्याउँछन् वा पछ्याउँदैनन् पछिको कुरा हो । ४०–४५ गोल पुर्‍याउने लक्ष्य छ । मैले त्यति गोल गरें भने अरुले तोड्न आउँछन् जस्तो लाग्दैन ।’


अनुले सावित्राले दुई वर्षभित्रै ५० गोल गर्ने विश्वास व्यक्त गरेकी छन् । यसबारे सावित्रा भन्छिन्, ‘टिमका साथीहरूले यस्तै सहयोग गरिरहे र म्याच एक्सपोजर पाएँ भने सम्भवत उहाँले भनेजस्तै हुनसक्छ ।’ उनका लागि मंसिरमा नेपालले आयोजना गर्ने १३ औं साग आफ्नो गोलसंख्या बढाउने राम्रो अवसर हुनेछ । उनी भन्छिन् ‘दक्षिण एसियामा सबै टिम बलियो भइरहेका छन् । त्यसैले सबै खेलमा गोल गर्न सजिलो हुँदैन ।’


प्रकाशित : आश्विन २, २०७६ ०९:२६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

स्वयंसेवी संस्था स्काउटको स्वामित्वमा रहेको सार्वजनिक जग्गा कब्जा गरी वर्षौंदेखि भाडामा लगाउने कांग्रेसका सांसद दीपक खड्कालाई अब के गर्नुपर्छ ?