१६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५२

रहेनन् डच खेलाडी रिक्सेन

(एएफपी)

लन्डन — नेदरल्यान्ड्स र रेन्जर्सका पूर्व डिफेन्डर फर्नान्डो रिक्सेनको ४३ वर्षको उमेरमा निधन भएको छ । मोटर न्युरोन रोगग्रसित उनको बुधबार निधन भएको स्कटिस प्रिमियरसिप क्लब रेन्जर्सले पुष्टि गरेको छ ।

रहेनन् डच खेलाडी रिक्सेन

सन् २००६ मा क्लब छाड्नुअघि रिक्सेनले ६ वर्ष रेन्जर्समा बिताएका थिए । उनले सन् २०१३ को अक्टोबरमा आफूलाई मोटर न्युरोन रोग लागेको सार्वजनिक गरेका थिए । ‘हाम्रा पूर्व खेलाडी फर्नान्डो रिक्सेन मोटर न्युरोन रोगसँगको लडाइँमा पराजित भएका छन् । उनको बुधबार बिहान निधन भएको छ । उनको निधनप्रति क्लब गहिरो दु:ख व्यक्त गर्दछ,’ रेन्जर्सको वेबसाइटमा उल्लेख छ, ‘सन् २००६ मा प्रशिक्षक डाइक एडभोक्याटसहित अन्य थुप्रै डच खेलाडीसँगै रेन्जर्समा अनुबन्ध भएका रिक्सेनले क्लबलाई ६ उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका थिए ।’


नेदरल्यान्ड्सका लागि १२ क्याप जितेका रिक्सेन एजेड अल्कमारबाट ४.७ मिलियन डलरमा रेन्जर्समा अनुबन्ध भएका थिए । उनले मोटर न्युरोन (मस्तिष्कबाट स्पाइनल कर्डसम्म फैलने नसा) मा लाग्ने रोग बारे जनचेतना फैलाउन तथा अन्य पीडितको सहयोगका लागि फर्नान्डो द रिक्सेन फाउन्डेसन स्थापना गरी सहयोग संकलन अभियान सुरु गरेका थिए ।


सन् २०१५ को जनवरीमा रिक्सेनको सहयोगका लागि स्कटल्यान्डको इब्रोक्समा आयोजित च्यारिटी खेलमा ४१ हजारभन्दा बढी समर्थक भेला भएर उनका लागि ३ लाख २० हजार पाउन्ड सहयोग संकलन गरेका थिए । रिक्सेनले रेन्जर्स छाडेर रुसको सेन्ट पिटर्सबर्गसँग स्थायी सम्झौता गरेका थिए । तर २००७ मा उनी नेदरल्यान्ड्सकै फर्चुना सिटार्डमा पुगे । सन् २००० देखि ६ वर्षसम्म रेन्जर्सका लागि रिक्सेनसँगै खेलेका अर्का डच खेलाडी पिटर लोभेन्करन्डले सामाजिक सन्जालमार्फत आफ्ना पूर्व टिममेटको निधनमा शोक व्यक्त गरेका छन् ।


‘हामी सँगै रेन्जर्समा अनुबन्ध भएपछि तिमीले मेरो हेरचाह गरेका थियौं । हामी अभ्यासका लागि सँगै जान्थ्यौं, किनभने मेरो कार थिएन । मैदानबाहिरका यी यादहरू वास्तवमै सानदार छन् । मैदानभित्र साँच्चैको एउटा योद्धा, एउटा नेता । तिमीलाई सधैं सम्झिरहने छु । आत्माको चीरशान्तिको कामना,’ ३९ वर्षीय पिटरले इन्स्टाग्राममा पोस्ट गरेका छन् । फर्चुना र सेन्ट पिटर्सबर्गले पनि उनको निधनमा शोक सन्देश जारी गरेका छन् ।

प्रकाशित : आश्विन २, २०७६ ०९:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बैंकमा लगानीयोग्य रकम थुप्रिएर साढे ६ खर्ब नाघेको छ। बैंकहरूले ब्याजदर घटाउँदासमेत कर्जा प्रवाह बढ्न नसक्नुको कारण के हो?