३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ६३१

प्रिन्सको पथ

अन्तर्राष्ट्रिय जुनियर ब्याडमिन्टनबाट सफलतासँगै चर्चा बटुलेका १६ वर्षे किशोर प्रिन्स दाहाल आफ्नो खेलमा अझै परिपक्व र निखार ल्याउने अभियानमा छन्
कुशल तिमल्सिना

काठमाडौँ — एक वर्षयता नेपाली ब्याडमिन्टनमा छाएको नाम हो प्रिन्स दाहाल । उनले एक वर्षको अन्तरालमा फरक उमेर समूहबाट ऐतिहासिक स्वर्ण जितेका छन् । दुई वर्षयता घरेलु ब्याडमिन्टनका जुनियर प्रतियोगितामा एकछत्र राज गरेका उनी धेरै बोल्दैनन् या बोल्न चाहँदैनन् ।

प्रिन्सको पथ

तर कोर्टमा उनको र्‍याकेटको गति विपरीत छ अर्थात उनी ‘एक्सन’ बाट जवाफ दिन्छन् । तीन महिनाअघि १६ औं जन्मदिन मनाएका प्रिन्सले नेपालकै सफल अन्तर्राष्ट्रिय ब्याडमिन्टन स्टार बन्नका लागि सबैजसो ढोका खोलेका छन् । यिनी नेपाली ब्याडमिन्टनमा राज गर्ने दिशामा अग्रसर छन् ।


गत वर्ष दुबई इन्टरनेसल ब्याडमिन्टन सिरिजको यू–१५ विधामा स्वर्ण जितेपछि प्रिन्सको चर्चा चुलिएको हो । पल्सर स्पोर्टस अवार्डको दुई विधा (युवा खेलाडी र पिपल्स च्वाइस) को मनोनयनमा परेपछि उनी अझै चिनिए । त्यसो त सात वर्षअघि पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टनमा सहभागिता जनाएपछि नै उनी समाचारको हेडलाइन बनिसकेका थिए ।


भर्खर आइतबार दुबई इन्टरनेसल ब्याडमिन्टन सिरिजमा यू–१९ विधामा जितेको स्वर्ण नेपालका लागि इतिहास हो । त्यसले प्रिन्सको करिअरमा ठूलो फड्को मार्नका लागि प्रारम्भिक निर्णायक क्षण पनि हो । किनभने यस प्रतियोगिताको जुनियर च्याम्पियन बनेपछि उनले विश्व ब्याडमिन्टन फेडेरेसन (बीडब्लूएफ) को वरीयतामा फड्को मार्ने निश्चित छ । ‘प्राप्त अंकका आधारमा उनी विश्व वरीयताको ५० औं स्थानको नजिक आउने छन्,’ प्रिन्सको अविभावकको रूपमा साथै रहेका मामा कमलेश निरौलाले भने, ‘अब उनी बीडब्लूएफको वरीयतामा आउनेछन् । उनी वरीयतालाई प्रभाव पार्ने अन्तर्राष्ट्रिय प्रतियोगिताको मुख्य ड्रमा समेटिने छन् ।’ मंगलबार नै सार्वजनिक भएको नयाँ वरीयतामा प्रिन्सले ४९ स्थान सुधार गरी ५४ औं स्थानमा उक्लेका छन् ।


यो भनेको अन्तर्राष्ट्रिय सिरिज, विश्व च्याम्पियनसिप र युथ ओलम्पिकमा सिधै छनोट हुनु हो । कम वरीयताका खेलाडीले छनोट प्रतियोगिता खेल्नुपर्छ ।


प्रिन्सका अनुसार यूएई जानुअघि उनले स्वर्णको अपेक्षा कम गरेका थिए । विश्व वरीयतामा प्रभाव पार्ने यस विधामा एक से एक खेलाडी थिए । प्रतियोगिताको दोस्रो वरीयता पाएकाले दबाब पनि उत्तिकै थियो । पहिलो चरणमा बाइ पाएका उनले दोस्रो र तेस्रो चरणमा स्थानीय खेलाडीलाई पराजित गरे । क्वाटरफाइनल भने निकै सकसले जिते । ‘भारतको तेस्रो वरीयताका रोहन गुरवानीसँग परेको थियो । पहिलो सेट २१–१९ ले जिते पनि दोस्रो सेटमा २४–२२ ले जित्न निकै गाह्रो भयो,’ ललितपुरको बीभीजी डाँफे स्कुलमा ९ कक्षामा अध्ययनरत प्रिन्सले भने, ‘क्वाटरफाइनल जितेपछि चाहिँ मलाई स्वर्ण जित्न सक्छु भन्ने आत्मविश्वास आयो ।’


सेमिफाइनलान यूएईका शीर्ष वरीयताका वसन्तकुमार राजेन्द्रनलाई सहज सेटमा हराए । फाइनलमा विश्व वरीयतामा नवौं स्थानमा रहेका भारतीय वरुण कपुरलाई पनि सोझो सेटमा पराजित गरी अर्को इतिहास बनाए । ‘फाइनल कठिन भयो । तर मैले माइन्ड गेम खेलें, उसलाई थकाएर जितेको हो,’ प्रिन्सले स्वर्ण जित्दाको क्षण सम्झिए । डबल्स र मिक्स्ड डबल्समा भने उनी सेमिफाइनलमा पराजित भए ।


प्रिन्सले बुझेका छन् कि वरीयता स्थायी हुँदैन । नियमित अन्तर्राष्ट्रिय सिरिजमा अनुकूल नतिजा हासिल गरी वरीयता सुधार गर्दै लानु उनका लागि सबैभन्दा ठूलो चुनौती हो । केही समयअघिसम्म ७९ औं वरीयतामा आइसकेका उनी झरेर १ सय ४७ औं स्थानमा पुगेका थिए । यू–१९ इन्डियन जुनियर ब्याडमिन्टन च्याम्पियनसिप र एसियन च्याम्पियनसिपको प्रदर्शनपछि उनी १०३ औं स्थानमा आएका हुन् । ‘प्रतियोगिताको स्तर बढ्दै गएपछि मैले आफ्नो स्तर पनि बढाउनुपर्छ,’ यू–१५ मा एसिया नम्बर वान भइसकेका प्रिन्सले भने, ‘स्तरीय प्रशिक्षण र एक्सपोजर भएमा राम्रो प्रदर्शन गर्न सक्छु ।’


यसै वर्ष थाइल्यान्डमा भएको योनेक्स रोजा बीटीवाई जुनियर इन्टरनेसनल सिरिजमा यू–१७ तर्फ उनले रजत जितेका थिए । २ सय ६४ खेलाडीमध्येबाट लगातार ७ खेल जितेका उनी थाइल्यान्डमा पराजित भएका हुन् । भारतको इन्डियन जुनियर च्याम्पियनसिप र चीनमा भएको एसियन च्याम्पियनसिपमा उनले सुरुमै कठिन प्रतिस्पर्धीको सामना गर्नुपरेको थियो । वरीयतामा माथि आएपछि सुरुआतमै कठिन प्रतिस्पर्धी पर्ने झन्झटबाट पनि मुक्ति मिल्नेछ ।

राष्ट्रिय टोलीको क्याम्पमा रहेको समयबाहेक प्रिन्ससँग आफ्नै प्रशिक्षक छैनन् । हरपल साथै रहने मामा कमलेश निरौला पनि ब्याडमिन्टन बुझेका मान्छे होइनन् । ‘भान्जा सानै छन्, दिदीभिनाजु काठमाडौं बस्नुहुन्न । त्यसैले उनको अभिभावकको रूपमा जिम्मेवारी लिएको छु । यु–ट्युबमा हेरेर उनको प्रशिक्षणमा सहयोग गर्दै आएको छु,’ उनले भने ।


प्रिन्सको यो करिअरमा सारथि बनेका छन् बुल्स क्लब र सिल्क समूह । बुल्स क्लबमा उनी फिटनेसलाई नियमित जान्छन् । जिम, पौडीसँगै फिटनेसका लागि लाहुरे ट्रेनिङ पनि गरिरहेका छन् । स्थानीय प्रतियोगितामा सिल्क ग्रुपको नामबाट खेल्ने उनलाई त्यस ग्रुपले १ वर्षसम्म थाइल्यान्डमा प्रशिक्षणका लागि प्रायोजन गरेको थियो । सायद त्यसैको परिणाम अहिलेको स्वर्ण हो ।


खेलको स्तर बढ्दै जाँदा व्यावसायिक प्रशिक्षक र पर्याप्त म्याच एक्स्पोजरको अपेक्षा प्रिन्सले गरेका छन् । उनको यो अपेक्षा नेपाल ब्याडमिन्टन संघसँग पनि हो । ‘माथिल्लो वरीयतामा कायम रहन मैले एकरुपको प्रदर्शन गर्नुपर्छ । नियमित अन्तर्राष्ट्रिय सिरिज खेल्न नियमित र स्तरीय प्रशिक्षण जरुरी छ,’ आफ्नो बलियो र कमजोर पक्षबारे प्रिन्सले भने, ‘फोरह्यान्ड, नेट र डिफेन्समा मैले धेरै सुधार गर्नुछ । स्म्यास (सशक्त प्रहार) मा राम्रो गर्न सक्छु ।’ ब्याडमिन्टनमा सफलता हासिल गर्न शारीरिक मात्र होइन मानसिक रूपमा पनि चतूर हुनुपर्छ ।’ उनी आफ्नो खेलमा परिपक्वता ल्याउने प्रयासमा छन् ।


प्रिन्सको लक्ष्य १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा स्वर्ण जित्ने हो । विश्व व्याडमिन्टनमै महाशक्तिको रूपमा स्थापित हुने चरणमा रहेको भारतजस्तो टिमलाई हराउनु सहज लक्ष्यचाहिँ होइन । त्यसअघि उनले नेपालमै हुने दुई अन्तर्राष्ट्रिय सिरिज खेल्नेछन् । अर्को सातादेखि सुरु हुने अन्नपूर्ण ब्याडमिन्टन अन्तर्राष्ट्रिय सिरिज र नोभेम्बरमा अन्तर्राष्ट्रिय च्यालेन्ज सिरिज हुँदै छ । त्यो उनका लागि वरीयता सुधार गर्ने अवसर हो ।


नेपाली ब्याडमिन्टनमा पछिल्लो आधा दशकदेखि रत्नजित तामाङले एकछत्र राज गरिरहेका छन् । दीपेश धामी उनलाई पछ्याइरहेका छन् । यी दुई स्टारका लागि सबैभन्दा ठूलो चुनौतीका रूपमा उदाइरहेका छन् प्रिन्स । वैशाखमा भएको आठौं राष्ट्रिय खेलकुदको टिम इभेन्टमा प्रिन्सले रत्नजितलाई पराजित गरेका थिए । एकलतर्फ सेमिफाइनलमै पराजित भए । यही स्तरमा प्रिन्सको करिअर उकालो लागेमा रत्नजितलाई पराजित गर्न धेरै समय कुर्नुपर्दैन । साग खेलकुदकै कारण उनले यसवर्षको विश्व च्याम्पियनसिप भने गुमाउने भएका छन् । अर्को वर्ष स्विट्जरल्यान्डमा हुने युथ ओलम्पिकका लागि अहिलेदेखि नै लक्ष्य कोरेका उनले एकरुपको प्रदर्शन कायम राख्नुपर्नेछ ।


दार्चुलामा जन्मिएका प्रिन्सले २०७० सालमा पुष्पलाल स्मृति राष्ट्रिय ब्याडमिन्टन च्याम्पियनसिपमा ९ वर्षको उमेरमै सहभागिता जनाएर सबैको ध्यान तानेका थिए । त्यसैले उनलाई साँगास्थित नेपाल प्रहरी स्कुलको बाटो खोलिदियो । ब्याडमिन्टनको करिअरमा पनि त्यो निर्णायक क्षण थियो । ‘प्रहरी स्कुलमा मैले ब्याडमिन्टनलाई राम्रोसँग बुझ्न सकेको हो । प्रशिक्षक पूर्ण थापा सरको सहयोगले म अहिले यहाँ छु,’ प्रिन्सले भने । सफलताको उचाई चढ्न थालेपछि तीनै विभागीय क्लबले अनुबन्धको प्रयास गरिरहेका छन् । तर अन्तर्राष्ट्रिय सहभागिताका लागि उनी स्वतन्त्र रहन चाहन्छन् । तर भविष्यमा विभागीय क्लबमा अनुबन्धित हुने अवस्था आयो भने उनको पहलो रोजाइ नेपाल पुलिस क्लब नै हुनेछ । भन्छन्, ‘किनभने म प्रहरी स्कुलको उत्पादन हुँ ।’


प्रकाशित : आश्विन १, २०७६ १०:२५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राजनीतिक दलमा आबद्ध शिक्षकहरूलाई पदबाट हटाउने शिक्षा मन्त्रालयको निर्णय कस्तो लाग्यो ?