पेसापालोको तयारीमा खेलाडी

पर्वत पोर्तेल

(काँकडभिट्टा) — पेसापालो (फिनिक्स बेसबल) करिब अढाइ वर्षअघि मात्रै नेपाल भित्रिएको हो । यसले छोटो समयमै अर्न्तराष्ट्रिय स्तरमा नेपाली पहिचान स्थापित गरेको छ । 

पेसापालोको तयारीमा खेलाडी

सरकारी उपेक्षाका बावजुद पनि पेसापालो विश्वकपको तयारी सुरु भएको हो । मंसिर १० देखि १४ सम्म भारतको पुनेमा हुने १० औं विश्वकपमा नेपाली टोलीले सहभागी जनाउँदै छ । विश्वकपमा भाग लिने खेलाडीलाई आइतबारदेखि झापाको मेचीनगर १ बाहुनडाँगीमा बन्द प्रशिक्षणमा राखिएको छ ।


मंसिर १ सम्म बन्द प्रशिक्षणमा राखिने नेपाल पेसापालो एसोसिएसनका अध्यक्ष पारसमणि दाहालले जनाए ।


पेसापालो विश्वकप खेल्ने तयारीमा रहेको नेपाली टोली । झापाको बाहुनडाँगीमा अभ्यासर गर्दै ।


नेपाली राष्ट्रिय टिमलाई प्रशिक्षण दिन फिनल्याण्डबाटै प्रशिक्षक मगाइएको छ । विश्वकपका लागि १३ खेलाडी छानिएका छन् । विधान पोखरेल, ईश्वर केसी, सुजन कार्की, राजेश मैनाली, सुदीप भुर्तेल, लाक्पा सिंह योल्मो, राजु श्रेष्ठ, संकल्प श्रेष्ठ, समिर श्रेष्ठ, अतित खनाल, मुकुन्द पौडेल, सुजल उप्रेती र सक्रिय थापा मगर छन् । अतित, मुकुन्द र सुजल मेचीनगरका हुन् ।


विश्वकपमा नेपालसहित १२ देशले भाग लिने जनाइएको छ । ‘पेसापालो नेपालमा छोटो समयमै विश्व स्तरमा पहिचान बनाउने खेल हो,’ अध्यक्ष दाहालले भने, ‘तर रिकारी उपेक्षाका कारण चाहेजस्तो सफलता पाउन सकिएको छैन ।’ उनका अनुसार २०७४ माघबाट यो खेल नेपालमा खेल्न थालिएको हो । राष्ट्रिय खेलकुद परिषद्बाट अझै मान्यता पाएको छैन । ‘नेपाल ओलम्पिक कमिटीले नोअब्जेक्सन लेटरसम्म दिएको छ’, उनले भने, ‘जिल्ला प्रशासन कार्यालय काठमाडौं दर्ता गरेर चलाइराखिएको छ ।’


सरकारी स्तरबाट भएको उपेक्षाका कारण विश्वकपको तयारीमा समेत समस्या पैदा भइरहेको दाहालले जनाए । उनका अनुसार पदाधिकारीबाटै रकम उठाएर विश्वकपको तयारी गरिँदैछ । विश्वकपको तयारीका लागि पदाधिकारीबाट करिब १५ लाख रुपैयाँ संकलन भएको छ ।


त्यही सानो बजेटवाट विश्वकप तयारी भइरहेको उनले बताए । ‘सरकारले सहयोग गरेको भए तयारी राम्रो गर्न सक्ने थियौं,’ उनले थपे, ‘थोरै बजेटका भरमा तयारी गर्नुपर्दा समस्या हुने भयो ।’


पेसापालो टिम अघिल्लो वर्ष बंगलादेशमा सम्पन्न एसियन प्रतियोगितामा उत्कृृष्ट प्रदर्शन गर्दै दोस्रो बनेको थियो । त्यति बेला पनि दु:खका साथ खेलाडीलाई खेल्न पठाइएको पेसापालोको एसियाली समितिका उपाध्यक्ष प्रशान्त दाहालले जनाए । उनले थपे, ‘तयारीमा थोरै लगानी गर्न सकेको भए त्यो बला राम्रै नतिजा आउने पक्का थियो ।’


फिनल्यान्डबाट आएका प्रशिक्षक मिकोले पेसापालो नेपालमा नौलो खेल भए पनि छोटो समयमै नेपाली टिमले हात पारेको सफलता लोभलाग्दो रहेको भन्दै उनले राम्रोसँग तयारी गर्न सके विश्वकपमा उत्कृष्ट प्रदर्शन गर्न सकिने सुनाए । ‘नेपालमा पेसापालो खेलको भविष्य उज्ज्वल देखिरहेको छु,’ मिकोले भने, ‘खेलाडीहरू उत्सुक छन्, मिहेनती छन् । यो सफलताको लक्षण हो ।’ उनले यो खेलवाट अर्न्तराष्ट्रियजगतमा नेपालको पहिचान चाँडै स्थापित हुने दाबी गरे ।


के हो पेसापालो ?

पेसापालोलाई फिनिक्स बेसबल पनि भनिन्छ । पेसा भनेको बेस र पालो भनेको बल हो । फिनल्यान्डको राष्ट्रिय खेल भए पनि यसको लोकप्रियता युरोपेली मुलुक जर्मनी, स्विडेन, स्विट्जरल्यान्ड, अस्ट्रेलिया र क्यानडाको उत्तरी ओन्टारियोमा बढी छ । पछिल्लो समय एसियाली मुलुकमा समेत यो खेल लोकप्रिय बन्दै गएको छ । यो खेलमा डिफेन्स (ब्याटिङ) मा ९ र अफेन्स (फिल्डिङ) मा १२ सहित २१ खेलाडी सहभागी हुन्छन् । न्युनतम ४ वटा इनिङ्स हुन्छ । तीन अम्पायर हुन्छन् । पेसापालोको आधारभूत खेल प्रक्रिया बेसबलसँग मिल्दोजुल्दो हुन्छ । विपक्षीले फ्याँकेको बल ब्याटले प्रहार गरेर दगुर्दा स्कोर बन्छ ।


प्रकाशित : आश्विन १, २०७६ १०:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

अध्यादेशबाट कानुन ल्याएर भएपनि सहकारीपीडितको रकम फिर्ता गर्ने गृहमन्त्री रवि लामिछानेको भनाईप्रति तपाईं के टिप्पणी छ ?