कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

एकेडेमी क्रिकेट लिग यसै साता

काठमाडौँ — नेक्सस क्रिकेट एकेडेमीको आयोजनामा एकेडेमी क्रिकेट लिग यू–१९ ट्वान्टी–२० प्रतियोगिता बिहीबार सुरु हुने भएको छ । प्रतियोगिताका सबै खेल मुलपानी क्रिकेट मैदानमा हुनेछ ।

नकआउटका आधारमा हुने प्रतियोगितामा देशका १६ एकेडेमी टिमबीच प्रतिस्पर्धा हुने नेक्सस एकेडेमीका उपाध्यक्ष तथा प्रतियोगिता निर्देशक प्रवल गौतमले जानकारी दिए । ‘हामीले देशभर सञ्चालित क्रिकेट एकेडेमीलाई निमन्त्रणा पठाएका थियौं । १६ एकेडेमीले हाम्रो निमन्त्रणा स्वीकारे,’ सोमबार पत्रकार सम्मेलनमा उनले भने ।


सहभागीलाई चार समूहमा विभाजन गरिएको छ । सबै समूहका विजेताले सेमिफाइनलमा स्थान बनाउने छन् । प्रतियोगिताका उत्कृष्ट खेलाडी, उत्कृष्ट बलर, ब्याट्सम्यान र इमर्जिङ खेलाडीले भारतको नयाँदिल्लीस्थित क्रिकेट एकेडेमीमा ६ महिनासम्म प्रशिक्षण अवसर पाउनेछन् । अन्य ५ उत्कृष्ट खेलाडी छनोट गरी काठमाडौंको नेक्सस एकेडेमीमा निःशुल्क प्रशिक्षणको अवसर दिइनेछ ।


उत्कृष्ट ब्याट्सम्यान, बलर, फिल्डर र सर्वोत्कृष्ट खेलाडीले एभरेस्ट प्रिमियर लिग (ईपीएल) खेल्ने काठमाडौं किंग्स इलेभेनको खुला छनोटअन्तर्गत दोस्रो चरणमा स्थान बनाउने छन् । ईपीएलको नयाँ संस्करण फागुनमा हुनेछ ।


राष्ट्रिय खेलकुद परिषद् (राखेप) को तत्त्वावधानमा गर्न लागिएको १४ दिने प्रतियोगिता विजेताले १ लाख ५० हजार र उपविजेताले १ लाख रुपैयाँ पाउनेछन् । स्पर्धालाई करिब १५ लाख बजेट अनुमान गरिएको छ ।

प्रकाशित : भाद्र ३०, २०७६ २१:३४
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारी जग्गा र भवन राजनीतिक दल र तीनका भातृ संगठनले कब्जा गरेर बस्नुलाई के भन्नुहुन्छ ?