क्यानको साधारणसभा असोज १० र ११ मा, गाँठो फुक्ने सम्भावना बढ्दै

विनोद पाण्डे

काठमाडौँ — नेपाल क्रिकेट संघ (क्यान) को साधारणसभा मार्फत असोज १० र ११ गते निर्वाचन हुने भएको छ । सोमबार अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) का प्रतिनिधिहरूसँग राष्ट्रिय खेलकुद परिषद्का सदस्य सचिव रमेशकुमार सिलवालसँगको बैठकपछि क्यानको निर्वाचनको नयाँ मिति आएको हो ।

नेपाली क्रिकेटमा सरकारी हस्तक्षेप भएको, निष्पक्ष निर्वाचन गर्न नसकेको भनी आईसीसीले २०७३ को वैशाख देखि क्यानलाई निलम्बन गर्दै आएको छ। नेपाली क्रिकेटलाई नयाँ ढंगले ब्युँत्याउनेक्रममा आईसीसीले सल्लाहकार समिति र स्वतन्त्र समितिबाट नयाँ विधानमार्फत क्यानको निर्वाचन प्रक्रिया अगाडि बढाएको थियो, जस अनुसार अर्को शनिबार क्यानको निर्वाचन हुने कार्यक्रम थियो।

आईसीसीले सल्लाहकार समिति र स्वतन्त्र समितिबाट नयाँ विधानमार्फत हुन लागेको क्यानको निर्वाचनमा परिषद्को सहमति नलिएको, राखेपको निर्वाचन समिति नराखेको र निर्वाचनका लागि २१ दिन सूचना प्रकाशित नगरेकोमा परिषद् सदस्य सचिव सिलवालले आपत्ति जनाएका थिए। स्वतन्त्र समितिको कानुनी सल्लाहकार मार्फत असोज ३ र ४ गते साधरण सभा हुने सुचना निकालिएपछि राखेपले त्यसमा विमति जनाएको थियो।

‘आईसीसी र राखेप दुवै पक्ष सहमति भएका छौं, घटस्थापनाको अघिल्लो दुई दिन अघि साधरणसभा हुनेछ। भोलि (मंगलबार) स्वतन्त्र समितिले सूचना जारी गर्नेछ। आईसीसी र परिषद्ले क्यानको निर्वाचन गर्नेछ,’ सिलवालले भने, ‘मेरो भूमिका भनेको निर्वाचनमा प्रतिस्पर्धी सबैलाई सर्वसम्मत गराउनु हुनेछ। त्यो नभए प्रजातान्त्रिक हिसाबमा जो आए पनि स्वीकार हुनेछ।’

सोमबार बिहान साढे दश बजेदेखि सोल्टी होटलमा सिलवालसहित आईसीसीका कार्यबहाक प्रमुख इमरान ख्वजा र प्रतिनिधि अमर शेखको बैठक बसेको थियो। ‘निर्वाचनमा केही समस्या देखिन्न। स्वतन्त्र समितिले जे गरेको छ राम्रो गरेको छ। निर्वाचनको विषय स्थानीय पाटो हो,’ ख्वाजाले भने, ‘तर स्वतन्त्र र निष्पक्ष हुनु पर्नेछ। क्यानको निर्वाचन प्रजातान्त्रिक हिसाबमा हुने विश्वास लिएको छु। परिषद स्थानीय अभिभावक संस्था भएकाले त्यसको जिम्मेवारी लिनेछ। हाम्रो सवै देशमा स्थानीय तहसँग सम्मानित सम्बन्ध रहेको छ।’

उनले अक्टोबर १२ र १३ मा बस्ने आईसीसीको बैठकले क्यानको गाँठो फुकाउने पनि आशा लिए। ‘अक्टोबरमा आईसीसीको बैठकमा क्यानको पछिल्लो अवस्था बारे राख्ने छु। क्यानको निलम्बन फुकुवा हुनसक्नेमा म आशावादी छु। तर केही शर्तहरु बाँकी रहन सक्छन्,’ उनले भने।

आईसीसीसँगको भेट अघि नै भाइरस ननिस्किएमा क्यानको विवाद यसै साता टुंगो लाग्ने सदस्य सचिव सिलवालका दाबी थियो।

प्रकाशित : भाद्र ३०, २०७६ १४:३४
प्रतिक्रिया
पठाउनुहोस्

काबुल आक्रमणमा मारिएका चन्द्रबहादुरको गरियो दाहसंस्कार

काशीराम डाँगी

रोल्पा — गत भदौ १७ गते अफगानिस्तानको काबुलमा मारिएका रोल्पाका चन्द्रबहादुर पुनमगरको शव गाउँमै ल्याएर पारिवारिक संस्कार अनुसार दाहसंस्कार गरिएको छ । काबुलबाट काठामाडौं हुँदै रोल्पाको लिवाङस्थित सानोलिवाङ गाउँमा ल्याइएको पुनको शव हर्न गाउँले भेला भएका थिए । आइतबार पुनको जन्म घरमै शुद्ध शान्ति समेत गरिएको हो ।  बाँकेको कोहलपुर–२, प्रेमनगरमा घर भएका ३५ वर्षीय चन्द्रबहादुर १३ वर्षअघि रोल्पाको लिबाङ–१, सल्लेबोटबाट बसाइँ सरेका थिए ।

बाँके कोहलपुर–२ का चन्द्रबहादुरको मृत्युको खबरपछि शोकविह्वल पत्नी, छोरा र बुबा । तस्बिर : मधु/कान्तिपुर

‘शव घरमा ल्याउन समय लाग्यो। घरबाहिर रहेका परिवारलाई पनि ल्याउनु पर्‍यो,' मृतक चन्द्रबहादुरका जेठान दिल पुनले भने, ‘उहाँ एक्लो छोरा हुनुहुन्थ्यो, परिवारलाई रुवाएर बित्नुभयो।’ अघिल्लो वर्ष काबुलस्थित एक सुरक्षा कम्पनीमा कार्यरत ३५ वर्षका चन्द्र आतंककारी आक्रमणको प्रतिकार गर्ने क्रममा मारिएका थिए। दुबई र काबुल आवतजावत गर्दै आएका उनी काबुलमा अन्तिम दुई वर्ष बस्ने गरी घरबाट फेरि गएका थिए।

त्यहाँस्थित क्यानेडेली सुरक्षा कम्पनी गार्दावर्ल्डमा कार्यरत उनी आतंककारी हमलाका बेला बिदामा बसेका भएपनि प्रतिकारमा लागेका थिए। ‘बिदामा बसेका बेला विस्फोटको आवाज सुनेर ज्वाईं अरुलाई जोगाउन जानु भएको रहेछ।’ चन्द्रको शव घरसम्म ल्याउन दुबईबाट आइपुगेका उनका जेठान दिल भन्छन्, ‘प्रतिकार गरेर नेपाली लगायत थुप्रैको ज्यान जोगाउनु भयो। आफू चाहिँ मर्नुभयो।’

सुरुमा दुबई र काबुल पुग्नुअघि नेपाली सेना, नेपाल प्रहरी, भारतीय सेना र बेलायती सेनामा आवद्ध हुन निकै प्रयास गरेका चन्द्रबहादुर मुलुकभित्र चाहे जस्तो काम नपाएपछि विदेश हानिएका थिए। चन्द्रले पछिल्लो पटक छोराछोरीको पढाईमा ध्यान दिन र परिवारलाई व्यवस्थित चासो दिएका दिए। बालखैमा आमा गुमाएका चन्द्रका घरमा ६८ वर्षका बुबा रबे, ३३ वर्षकी श्रीमती धनकुमारी, १७ वर्षका छोरा र ८ वर्षकी छोरी छन्। चद्रले आफू कमाई गर्न टाढा पुगेकाले सन्तान पढाउन र बुबाको ख्याल गर्न श्रीमतीसहित सबैलाई बाँकेको कोहलपुरमा डेरा लिई बसालेका थिए।

चन्द्रका जेठान दिलले शव घरसम्म ल्याउन सरकारले सहयोग गरेको बताए। चन्द्र कार्यरत कम्पनी र नेपाल सरकारबाट सहयोग र बीमाको रकम उपलब्ध गराइदिन उनले सरकारसँग आग्रह गरे।

लिवाङस्थित बाल कल्याण माध्यमिक विद्यालयमा अध्ययन गरेका मिलनसार र सहयोग स्वभावका चन्द्रबहादुरका ३ दिदी छन्। काबुलबाट काठमाडौंसम्म उनको शव नियमित विमानबाट ल्याइएको थियो भने काठमाडौंबाट नेपाल सरकार र उनी कार्यरत कम्पनीको सहयोगमा शव २४ भदौमा हेलिकप्टरबाट ल्याइपुर्‍याइएको थियो। आइतबार मगर संस्कार अनुसार उनको अन्तिम काजकिरिया गरिएको हो। उनको मृत्युले गाउँ शोकाकुल बनेको छ। स्थानीय विद्यालयका शिक्षक भूपबहादुर केसीले गाउँका अगुवा र ऊर्जाशील युवाको मृत्युको खबरबाट सबै दुःखी भएको बताए।

चन्द्रबहादुरसँगै काबुल आक्रमणमा चितवनका कृष्ण थापाको समेत मृत्यु भएको थियो। थापाको शव पनि उनको घर ल्याइसकिएको छ। ती दुवै एकै कम्पनीमा साथै कार्यरत थिए।

प्रकाशित : भाद्र ३०, २०७६ १४:२२
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्